शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कृष्ण जन्माष्टमीकै दिन पुष्प र श्रद्धाको ‘कृष्ण लीला’

​अटिजमको कथाले अडियन्स तान्ने विश्वास
बिहीबार, ०२ भदौ २०७९, १७ : ५९
बिहीबार, ०२ भदौ २०७९

चलचित्र ‘कृष्ण लीला’ शुक्रबार अर्थात् भदौ ३ गतेबाट प्रदर्शनमा आउँदैछ । अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्रीको अभिनय रहेको चलचित्र प्रेमकथालाई  प्राथमिकतामा राखिएको छ । साथै दाइजो प्रथा र अटिजम अर्थात् सुस्त मनस्थितिको समस्यामा रहेका वास्तविक पात्रहरूको कथा पनि चलचित्रले बोकेको छ । 

चलचित्रका प्रमुख पात्र पुष्प खड्का आफैले अटिजमको समस्या भोगिरहेको पात्रको भूमिका निर्वाह गरेका छन् । ‘अटिजम एउटा स‌ंवेदनशील विषय हो र यसको समस्यामा रहेका आम बिरामीहरूलाई समाजले हेर्ने दृष्टिकोण, उनीहरूलाई गरिने व्यवहार र उनीहरूको मनोविज्ञानसम्म पुग्ने प्रयास गरेका छौँ’, रातोपाटीसँग अभिनेता पुष्पले भने, ‘यो चलचित्र हेरेर दर्शकले पनि अटिजमको समस्यामा रहेकाहरू प्रतिको व्यवहारमा परिवर्तन आउने विश्वास लिएका छौँ ।’

आफूले गरेको अभिनय र प्राप्त उपलब्धिसँग नै आफ्नो प्रतिस्पर्धा रहेको बताउने पुष्पलाई उनकै अघिल्लो चलचित्र मंगलम्को साख जोगाउनुपर्ने चुनौती छ । तथापि, उनी हालसम्म जे जति सिनेमामा काम गरे, सबैमा फरकपन दिन सकेकोमा खुसी रहेको बताउँछन् । भन्छन्, ‘धेरैले कृष्ण लीला र मंगलमको क्यारेक्टरसँग जोड्ने गर्नु भएको छ, तर मंगलमको प्यारालाइसिस क्यारेक्टर र अटिजमको क्यारेक्टर पक्कै मिल्दैन । अर्काेतर्फ हिजोको उपलब्धिसँग नै मेरो प्रतिस्पर्धा रहेकाले त्यो चुनौती सामना गर्न म तयारै छु । चलचित्रको नयाँ पात्र र चरित्रले दर्शकको मन छुने अनि सफल पनि हुने आशा छ ।’

यता अभिनेत्री श्रद्धा क्षेत्रीको भने यो डेब्यु चलचित्र हो । उनले चलचित्रबाट ठूलो अपेक्षा राखेकी छन् । अभिनय सँगसँगै व्यावसायिक सफलताको प्रतीक्षामा पनि छिन् श्रद्धा । ‘एउटा सामान्य परिवारकी गाउँले केटीको भूमिकामा देखिएकी छु, दर्शकले मेरो अभिनयलाई कसरी हेर्नुहुन्छ भन्ने चासो, चिन्ता र डर छ’, अभिनेत्री क्षेत्रीले भनिन्, ‘जे होस्, चलचित्रका दुइटा गीत सिनेमा रिलिज अगावै धेरै मन पराइदिनुभयो । यसले थोरै भए पनि आत्मविश्वास बढेको छ । तथापि बाँकी रिजल्ट त चलचित्र प्रदर्शन पछि नै थाहा होला नि !’

लक्ष्मण सुवेदीको लेखन तथा दीपक ओलीको निर्देशन रहेको ‘कृष्ण लीला’मा पुष्प र श्रद्धासँगै बुद्धि तामाङ, रवीन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी लगायतको अभिनय छ । 

चलचित्रमा पुष्प र श्रद्धा कृष्ण र लीला अर्थात् प्रेमी प्रेमिकाको रूपमा देखिएका छन् । यता, रियल लाइफमा पनि पुष्प र श्रद्धाको प्रेम प्रसंगको चर्चा चुलिँदो छ । तर, उनीहरू भने चलचित्रमा सँगै काम गर्दैमा राम्रो साथी बन्दैमा प्रेमको चर्चा हुन आवश्यक ठान्दैनन् । दुवैजना हाँस्दै भन्छन्, ‘अरु त थाहा भएन चलचित्रका पात्र, कृष्ण र लीलाको कथा, उनीहरूको प्रेम साँच्चै मीठो छ र यस बारेमा चासो दिने सञ्चारकर्मी र अडियन्स सबैमा धन्यवाद ।’

प्रस्तुत छ, पुष्प खड्का र श्रद्धा क्षेत्रीसँगको चलचित्र ‘कृष्ण–लीला’ उनीहरूसँग जोडिएका पात्र र अनुभव अनि प्रेम चर्चालगायत विषयमा रातोपाटीको नियमित कार्यक्रम टक विथ द टपका लागि गरिएको भिडियो संवाद ः

भिडियो अन्तर्वार्ता

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनोज न्यौपाने
मनोज न्यौपाने
लेखकबाट थप