शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

महन्थ ठाकुरलाई दीपेन्द्र झाले टक्कर दिने

सोमबार, ०६ भदौ २०७९, १३ : ३९
सोमबार, ०६ भदौ २०७९

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी–३ बाट निर्वाचित हुँदा महन्थ ठाकुरले २६ हजार ८४५ मत ल्याएर विजय भएका थिए । सो निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्षले जसपा (तत्कालीन संघीय समाजवादी फोरम) र नेपाली काँग्रेसको मात्र नभएर माओवादी केन्द्र र नेकपा एमालेको समेत साथ पाएका थिए ।

गठबन्धनको हिसाबले उपेन्द्र यादव नेतृत्वको तत्कालीन फोरम र काँग्रेसले त्यहाँ उम्मेदवारी नै दिएको थिएन । एमाले र माओवादी केन्द्रको गठबन्धनले कमजोर उम्मेदवार उठाएको थियो । एमाले र माओवादी केन्द्रको उम्मेदवार विजयकुमार चौधरीले आठ हजार ६७६ मत मात्र ल्याएर दोस्रो भएका थिए । ठाकुर खसेको मत मध्ये ५९.६९ प्रतिशत मत ल्याउन सफल भए ।

महोत्तरी–३ का माओवादी केन्द्रका एक नेताले भने, ‘महन्थजीलाई जिताउनकै लागि एमाले–माओवादी गठबन्धनले कमजोर उम्मेदवार उठाएको थियो । त्यसले गर्दा उहाँले ५० प्रतिशतभन्दा बढी मत ल्याएर विजय हुनुभएको थियो ।’

ठाकुरले यसपटक पनि सोही क्षेत्रबाट निर्वाचन लड्ने तयारी गरेका छन् । उनले आफ्नो क्षेत्रमा गएर नेता तथा कार्यकर्तालाई यही क्षेत्रबाट चुनाव लड्ने भनिसकेका छन् । 

लोसपाका युवा नेता अजय झाले पनि पार्टी अध्यक्ष ठाकुर महोत्तरी–३ बाटै चुनाव लड्ने बताए । उनले भने, ‘अध्यक्षज्यू आएर हामी नेता तथा कार्यकर्तालाई तयारी गर्न भनिसक्नु भएको छ, उहाँको चुनावी तयारी चलिरहेको छ ।’ 

अध्यक्ष ठाकुर गठबन्धन बनाउन अझै प्रयासरत छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धनमा नै ल्याउने आश्वासन दिएका कारण उनी आश गरेर बसेका छन् । तर अहिलेसम्म गठबन्धनमा लोसपालाई लिने कि नलिने निश्चित भएको छैन । 

गठबन्धनमा ल्याउनका लागि जसपाका अध्यक्ष उपेन्द्र यादव सकारात्मक नरहेको स्रोतले जनाएको छ । अध्यक्ष यादवले बरु जसपा–लोसपाबीच गठबन्धन बनाउन चाहेका छन् । उनले त्यसका लागि पटक–पटक प्रस्ताव गरिसकेका छन् तर लोसपाले यसमा कुनै प्रतिक्रिया दिएको छैन । लोसपा पाँच दलीय गठबन्धनमै सहभागी भएर चुनावमा जाने सोचमा छ । 

तर गठबन्धनबाट महोत्तरी–३ का लागि जसपाले दाबी गरेको छ । जसपाले मधेस सरकारका मुख्य न्यायाधिवक्ता रहेका दीपेन्द्र झालाई सो क्षेत्रबाट उठाउने तयार गरिरहेको छ । यसअघि झा प्रदेशसभामा उठ्ने तयारी गरिरहेका थिए तर स्रोतका अनुसार पार्टीले महोत्तरी–३ बाट प्रतिनिधिसभाका चुनाव लड्ने गरी तयारी गर्न दीपेन्द्र झालाई भनिसकेको छ । 

२०७४ सालको चुनावमा लोसपाका अध्यक्ष ठाकुरका लागि सबै कुरा अनुकूल थियो । त्यतिबेला सबै प्रमुख दलले उनले साथ दिएका थिए । त्यसमा पनि सो क्षेत्रका पालिकामा अध्यक्ष ठाकुरले नेतृत्व गरेको तत्कालीन राजपाको पकड थियो । 

महोत्तरी–३ मा पाँचवटा पालिका छन् । ती पाँचवटै पालिका तत्कालीन राजपाले जितेको थियो । तर यसपटकको स्थानीय चुनावमा लोसपाले एउटा पालिका मात्र जित्न सकेको छ । तीनवटा पालिकामा जसपा र एउटामा काँग्रेसले जितेको छ । 

स्थानीय तहमा जसपाले सबभन्दा धेरै पालिका जितेको कारण गठबन्धनबाट सो क्षेत्रमा उसले दाबी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप