चोरी तस्करी बढेपछि रुपन्देहीको फरेनिया बजार बन्द
भारतसँग जोडिएका रुपन्देहीका दक्षिणी सीमा क्षेत्रमा चोरी निकासी बढेपछि रुपन्देही प्रशासनले फरेनिया नाकामा लाग्ने हाटबाजर बन्द गराएको छ । बजार गर्न जाने नेपाली तथा भारतीयले अवैध रुपमा मालसामान चोरी निकासी गर्ने गरेको पाएपछि प्रशासनले उक्त हाटबजार बन्द गराएको हो ।
भारतसँग जोडिएका रुपन्देहीका सीमा क्षेत्रमा अवैध रुपमा चोरी तस्करी बढेको समाचार सार्वजनिक भएपछि बिहीबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बसेको राजस्व चुहावट नियन्त्रण समितिको बैठकले दसैँ, तिहार, छठ पर्वसम्म बजार लगाउन रोक्ने निर्णय गरेको हो । यो समितिको अध्यक्ष प्रमुख जिल्ला अधिकारी छन् ।
केहीदिन अघि भैरहवाका उद्योगी व्यवसायीहरुको क्रियाशील संस्था सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही र उद्योग व्यापार संगठन रुपन्देहीले पत्रकार सम्मेलन गरेर भैरहवा तथा यस आसपास सीमावर्ती क्षेत्रमा लाग्ने बजार तथा त्यस क्षेत्रबाट हुँदै आएको चोरी निकासीबाट आफूहरुको व्यापार प्रभावित भएको गुनासो गरेका थिए । गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयमा बसेको राजस्व चुहावट नियन्त्रण समितिको बैठकले यो समस्यालाई समाधान गर्ने प्रयास गरेको हो ।
यसैगरी समितिले मालसामान चोरी निकासी हुने शंकास्पद स्थान पहिचान गरी भन्सार कार्यालयको गस्ती परिचालनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । आन्तरिक राजस्व कार्यालयले बजार अनुगमनलाई चुस्त तथा तीव्र बनाउने, सुरक्षा निकायहरुले भारतीय सीमा नाकामा हुन सक्ने चोरी पैठारीको उच्च जोखिम भएका स्थानहरुमा प्रभावकारी रुपमा नियमित एवं आकस्मिक गस्ती परिचालन गर्ने निर्णय गरिएको समितिका सदस्यसचिव ज्ञानेन्द्रराज ढकालले जानकारी दिए ।
साथै राजस्व अनुसन्धान कार्यालयमार्फत सुराकी समेत परिचालन गरी अनुसन्धान कार्यलाई थप विस्तार गरी मालवस्तुहरु चोरी निकासी हुनबाट रोक्ने निर्णय समितिले गरेको उनले बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण