मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

प्रदेश सांसद श्रेष्ठसहित ७ जनाले छाडे विवेकशील साझा

आइतबार, १२ भदौ २०७९, २० : ००
आइतबार, १२ भदौ २०७९

बागमती प्रदेशसभा सदस्य विराजभक्त श्रेष्ठ सहित विवेकशील साझा पार्टीका ७ जना केन्द्रीय सदस्यले संयुक्त रूपमा राजीनामा दिएका छन् । पद्धति, पारदर्शिता, जवाफदेहिता र लोकतान्त्रिक अभ्यासको मूल्य मान्यता र मर्म विपरीत रहेको एवं सुसंस्कृत सहभागितामूलक राजनीति र समतामूलक समृद्धिलाई संस्थागत गर्ने कुनै प्रयास नदेखिएको आभास सहित हामीले पार्टीको केन्द्रीय समिति सदस्य नरहने गरी राजीनामा दिने निर्णय गरेका हुन् । 

पद्धति, पारदर्शिता, इमानदारी, उत्कृष्टता जस्ता मूल्य र मान्यताका साथ सुसंस्कृत राजनीति र समतामूलक समृद्धिलाई संस्थागत गर्न मूलधारे राजनीतिक दलहरूलाई चुनौती दिँदै विवेकशील साझा पार्टीको स्थापना भएको भए पनि पार्टी भित्र सो कायम नभएको भन्दै उनीहरूले पार्टीबाट संयुक्त रूपमा विज्ञप्ति जारी गरी राजीनामा दिएका हुन् ।  राजीनामा दिनेहरूमा प्रदेश सांसद श्रेष्ठसहित केन्द्रीय सदस्य जमुना शर्मा, राज्य लक्ष्मी श्रेष्ठ, रोशनी अधिकारी, सस्मित पोखरेल, श्रीकृष्ण श्रेष्ठ र सुदन मानन्धर रहेका छन् । 

उनीहरूले विवेकशील साझा पार्टी सुसंस्कृत सहभागितामूलक राजनीति र समतामूलक समृद्धिलाई संस्थागत गर्ने प्रयासमा चुकेको विज्ञप्तिमा भनिएको छ । २०७४ सालको सङ्घीय र प्रादेशिक निर्वाचनमा प्राप्त जनमतको सम्मान गरेर आम नागरिकहरूको समस्याहरूलाई सम्बोधन गर्दै सङ्गठन विस्तार गर्नुभन्दा पनि आन्तरिक कलहमा फस्दै, सम्भावनामा भन्दा बढी अरूको आलोचनामा अल्झिनु पर्ने बाध्यात्मक परिस्थिति सृजना भएको विज्ञप्तिमा भनिएको छ । 

पटक पटक पत्रहरू पठाएर, औपचारिक र अनौपचारिक बैठकहरूमा इमानदारीपूर्वक सार्वभौम सदस्यहरूलाई प्रतिनिधित्व गर्दै उठाएका विषयहरू पनि पार्टी नेतृत्वले कहिल्यै पनि सम्बोधन गर्न नसकेको र पार्टीले न्यूनतम लोकतान्त्रिक अभ्यासको पालना गरेको आभाससम्म पनि हुन सकेका उनीहरूको भनाई छ । उनीहरूले पार्टी स्थापना भएको लगभग पाँच वर्षसम्म पनि नयाँ सङ्गठन त बनाउन नसक्नु र भएका सङ्गठनहरू पनि भङ्ग गर्ने काम पार्टी नेतृत्वबाटै भएको आरोप लगाएका छन् । 

स्थापना कालदेखि नै अनवरत रूपमा सुसंस्कृत राजनीति स्थापना गर्न लागेका धेरै सदस्यहरू, नेताहरू र केही प्रदेश संयोजकहरूले प्रदेश समिति सहित पार्टी परित्याग गर्दै गएका कारण परिणामतः पार्टीले गत स्थानीय निर्वाचनमा लज्जास्पद हार व्यहोर्न पुगेको विज्ञप्तिमा उल्लेख छ ।  

पार्टीको महाधिवेशनको विषय नेतृत्वको प्राथमिकतामा कहिल्यै पर्न नसकेको उनीहरूको भनाई छ । नेतृत्वकर्ताले पार्टी  संगठनभित्र फरक मतहरू, सुझावहरू, धारणाहरू प्रस्तुत गरिँदा अभद्र व्यवहारहरूको सामना गर्न पर्ने अवस्था आउनु पार्टी र लोकतन्त्रकै लागि अहितकारी कदम भएको उनीहरूको भनाई छ ।  

तत्कालीन अध्यक्षलाई राजसंस्था र विवेकशील साझा पार्टीलाई रा.प्र.पा.मा विलय गर्ने विषयमा स्पष्ट पारिदिन अनुरोध गर्दा सो विषयलाई पूर्ण निषेध गर्दै, न्यूनतम आन्तरिक लोकतान्त्रिक अभ्यासलाई निमोठेर आफ्नो पूर्व निर्धारित निर्णय सुनाउनु र स्थानीय चुनाव पछि राजसंस्थाको पक्षमा  खुल्नुले सार्वभौम सदस्यहरूलाई राजनीतिक बेइमानी गरेको हो पुष्टि भएको विज्ञप्तिमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप