बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

मोतीपुर औद्योगिक क्षेत्रको समस्या पहिचान गर्न गठित कार्यदलले सुरु गर्‍यो काम

सोमबार, १३ भदौ २०७९, २० : ५८
सोमबार, १३ भदौ २०७९

रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको समस्या पहिचान र जग्गाको क्षेत्रफल यकिनका लागि गठन भएको कार्यदलले काम थालेको छ । जिल्ला समन्वय समिति, रुपन्देहीका प्रमुख उमाकान्त चपाईको अध्यक्षतामा बुटवल उपमहानगरपालिकाको कार्यालयमा सोमबार बसेको बैठकले मोतीपुर औद्योगिक क्षेत्रको नाममा रहेको जग्गा र सो क्षेत्रको वस्तुस्थितिको यथार्थ अवस्था पहिचान गर्नका लागि ड्रोनबाट नापजाँच गर्ने निर्णय गरेको हो । 

औद्योगिक क्षेत्रको डीपीआर तयार भएपनि सो क्षेत्रमा कुन ठाउँदेखि कुन ठाउँसम्म कति जग्गा औद्योगिक क्षेत्रको नाममा रहेको हो भन्ने यकिन नभएकाले ड्रोनबाट नापजाँच गर्ने र त्यसैअनुसार प्रतिवेदन तयार गर्ने निर्णय गरेको कार्यदलका सदस्य सचिव बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए । औद्योगिक क्षेत्रका ८१३ बिगाहा जग्गालाई दुईपटक नापजाँच गरी आवश्यक रकम निकासाका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई सिफारिश गर्ने निर्णय गरेको उनले बताए । 

बैठकले प्रभावित क्षेत्रका वडा अध्यक्षहरुले आ–आफ्ना वडाभित्रका सो औद्योगिक क्षेत्रको जग्गाभित्र बसोबास गरेका व्यक्तिहरुको हकभोग गरेको जग्गाको विवरण सहितको नामावली ५ दिनभित्र कार्यदललाई उपलब्ध गराउन आग्रह गर्ने निर्णय गरेको छ । यस्तै, बैठकले मोतीपुर औद्योगिक क्षेत्रको ड्रोन प्रविधिबाट तत्काल नाप नक्सांकन प्रक्रिया अघि बढाउन मोतीपुर औद्योगिक क्षेत्रका कार्यालय प्रमुखलाई जिम्मेवारी दिने निर्णय गरेको सदस्य सचिव पन्थीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप