बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

तीजकै दिन युएईबाट गुल्मेली चेलीको उद्धार

मङ्गलबार, १४ भदौ २०७९, १५ : ०३
मङ्गलबार, १४ भदौ २०७९

युएईमा बन्धक बनाइएकी गुल्मीकी एक युवतीलाई जिल्ला प्रशासन कार्यालय गुल्मीको सहयोगमा मंगलबार (तीजकै  दिन) उद्धार गरेर नेपाल फर्काइएको छ । गुल्मीको इस्मा गाउँपालिका–२ की २० वर्षीय सपना नेपाली (नाम परिवर्तन) लाई मानव तस्करहरूले बन्धक बनाएका थिए ।

ओमनको मस्कट हुँदै मंगलबार बिहान साढे ८ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेकी उनलाई मंगलबार नै गुल्मी पठाइएको छ । सात वर्षकै उमेरमा अर्काको घरमा काम गर्न गुल्मीको रिडीमा बसेकी उनी एसईईको परीक्षापछि विदेश गएकी थिइन् ।

विदेशको बेदना सुनाउँदै उनले भनिन्, ‘हामी १४÷१५ जना दिदीबहिनीहरु एउटै कोठामा बन्धक थियौं, बाहिर हिँड्न दिँदैनथे ।’ आफूहरुलाई त्यहाँबाट इराक पठाउने तयारी भइरहेको अवस्थामा आफन्तलाई खबर गरेपछि उद्धार गरिएको उनले बताइन् । आफूसँगै रहेका अन्यको भने उद्धार हुन बाँकी रहेको उनले बताइन् ।

गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौड्यालले गुल्मेली चेलीको उद्धार गर्न सफल भएकोमा खुसी ब्यक्त गरे । ‘विदेशमा छोरी बन्धक भएको उजुरी लिएर उनकी आमा प्रशासनमा आउनु भएको थियो, हामीले उनको उद्धारका लागि गृह मन्त्रालय, वैदेशिक रोजगार विभागदेखि विभिन्न निकायमा समन्वय ग¥यौं,’ प्रजिअ पौड्यालले भने, ‘अन्ततः सबैको प्रयासले उनको उद्धार भयो ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप