बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

दुई महिनादेखि ठप्प सहिद मार्ग, सडक बने पनि दुर्गमलाई सधैँ दुःख

आइतबार, ०२ असोज २०७९, १२ : ५७
आइतबार, ०२ असोज २०७९

लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुम पूर्व प्राकृतिक सुन्दरताले जति सुन्दर छ, त्यो सुन्दरताभित्र लुकेको पीडा पनि उत्तिकै छ । मुख्य रुपमा सडकको अवस्थाले त्यहाँका बासिन्दाको जनजीवन कष्टकर बन्ने गरेको छ । तराईसँग जोड्ने सडक दुुई महिनादेखि ठप्प छ ।

सहिद मार्गले लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङसँग पहाडी जिल्ला रोल्पा र प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम पूर्वलाई जोड्छ । दाङको घोराहीदेखि रोल्पाको होलेरी, घर्तीगाउँ, तिला, थवाङ हुँदै रुकुम पूर्वका महत– खवाङबगर–तकसेरालाई सहिद मार्गले जोडेको छ । तर दुुई महिनादेखि रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर १ र वडा नम्बर ६ महत र पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १० तकसेरा जोडिन सकेको छैन । भारी वर्षाका कारण ठाउँठाउँमा गएको पहिरोका कारण सहिद मार्ग ठप्प छ । 

पहिरोका कारण अवरुद्ध सडकको मर्मत सम्भार नहुँदा स्थानीयवासी सास्ती खेपिरहेका छन् । पहिरोका कारण दुुई महिनादेखि सडक अवरुद्ध हुँदा स्थानीयवासी औषधि उपचारमात्रै होइन, खाद्यान्न अभावको समस्याले समेत प्रताडित हुनु परिरहेको माडी गाउँपालिका वडा नं. ५, रोल्पाका टोपबहादुर बुढाको भनाइ छ ।

रुकुम पूर्वको भूमे, पुथा उत्तरगंगाको तकसेरा, काँक्री, खबाङबगर, लुकुमवासीहरु औषधिउपचार, खाद्यान्न, सञ्चार सेवाबाट महिनौंदेखि बञ्चित हुनु परिरहेको उनले बताए । रुकुम पूर्वको यो पीडा अहिलेको मात्रै होइन । वर्षा सुरु हुनासाथ बर्सेनि यही नियति रुकुम पूर्वका बासिन्दाले झेल्नुपर्दछ । व्यवस्थित सडक पूर्वाधार निर्माण अभावका कारण हिउँदमा मात्रै हिमाली जिल्लाका दुर्गम यी गाउँबासीले सडक यातायातको सुविधा पाउँछन् ।

भुमे गाउँपालिका–१०, तकसेराका मनबीर रोकाले भने, ‘हिउँदमास सडक बन्छ, बर्खा लागेपछि पहिरोले लान्छ । फेरि हिउँदमास कहिले आउला भन्दै कुरेर बस्नुपर्छ ।’उनले सडकका कारण औषधिउपचार, खाद्यान्न किनमेलका लागि रोल्पा र दाङ झर्न मात्रै नभई गाउँको पीडा बोकेर सदरमुकामसम्म पुग्न पनि बर्खामा समस्या परेको बताए ।

भोक जसोतसो टारे पनि रोग टार्न मुस्किल

पहिरोका कारण दुुई महिनादेखि सडक अवरुद्ध हुँदा रुकुम पूर्वका तकसेरा, कार्की, लुुकुुम, महत, खबाङबगरमा यातायात सेवा सञ्चालन हुन सकेको छैन । यातायात सेवा अवरुद्ध हुँदा ती गाउँमा न औषधि ढुवानी हुन सकेको छ, न खाद्यान्न । गाउँलेहरु जेनतेन भोक त टारेका छन् तर रोग टार्न निकै मुस्किल परेको छ । रोकाले भने, ‘भोक त जेनतेन टारेकै छौं । रोगले सबैलाई ग्रसित पारेको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप