बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षा मन्त्रालयले सार्वजनिक गर्‍यो १५ वर्षे ‘शिक्षाको सोचपत्र’

ऊर्जाशील देशभक्त सक्षम जनशक्ति नागरिकको विकास गर्ने लक्ष्य : मन्त्री पौडेल
मङ्गलबार, ०४ असोज २०७९, २० : ००
मङ्गलबार, ०४ असोज २०७९

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १५ वर्षे योजना अघि सारेको छ । ‘शिक्षाको सोचपत्र २०७९’ ले आगामी वर्षभित्रमा शिक्षा क्षेत्रमा के कस्ता कार्ययोजना अघि बढाउने, कस्तो खालको सुधार गर्ने लगायत विषय तय गरेको छ । आज पत्रकार सम्मेलन गर्दै मन्त्रालयले उक्त सोचपत्र सार्वजनिक गरेको हो । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक गरेको उक्त सोचपत्र अनुसार ५ वर्षभित्र गर्नुपर्ने काम, १० वर्षभित्र गर्नुपर्ने काम र १५ वर्षभित्र गर्नुपर्ने कामका विषयमा तय गरिएका छन् । 

नेपालको संविधान, अनिवार्य शिक्षा सम्बन्धी ऐन तथा नियमावली, पन्ध्रौँ योजनाले परिलक्षित गरेको शिक्षासम्बन्धी समष्टिगत उद्देश्य, राष्ट्रिय शिक्षा नीति एवम् शिक्षासम्बन्धी दिगो विकासको लक्ष्य समेतलाई दृष्टिगत गरेर शिक्षामा आमूल परिवर्तन र समसामयिक सुधार गर्न सोचपत्र तयार पारिएको मन्त्रालयले जनाएको छ ।

यो सोचपत्र कार्यान्वयनमा गएपछि शैक्षिक संस्था निश्चित मापदण्ड आधारित भएर मात्र स्थापना र सञ्चालन हुने अपेक्षा गरिएको छ । सबै शैक्षिक संस्थामा आदर्श शैक्षिक वातावरणको विकास भएको हुने अपेक्षा गरिएको छ । 

मन्त्री पौडेलले यो सोचपत्रबाट शैक्षिक संस्थामा न्यूनतम आधारभूत पूर्वाधार भएको हुने अपेक्षा रहेको बताए । राष्ट्र र राष्ट्रियताप्रति समर्पित सकारात्मक सोचयुक्त, शिक्षित, सभ्य र ऊर्जाशील देशभक्त सक्षम जनशक्ति नागरिकको विकास गर्ने बृहत्तर सोचका लागि यो सोचपत्र तयार गरिएको मन्त्री पौडेलले बताए । 

अबको १५ वर्षभित्रमा कम्तीमा ४० प्रतिशत पाठ्यक्रम प्रविधिको माध्यमबाट कार्यान्वयन गर्ने मन्त्रालयको सोच छ । त्यस्तै सान्दर्भिक र उपयोगी गुणस्तरीय शैक्षिक सामाग्रीको उपलब्धता, विकास र उपयोगा जोड दिइनेछ । 

अबको ५ वर्षभित्रमा एक विद्यालय एक बाल विकास केन्द्र स्थापना गर्ने लक्ष्य लिएको छ । त्यस्तै ५ वर्षभित्रमा न्यूनतम भौतिक पूर्वाधार, योग्य शिक्षक, पौष्टिक खाजा र आधारभूत स्वास्थ्य सेवाको व्यवस्था गर्ने रहेको छ । त्यस्तै १० वर्षभित्रमा मनोरञ्जनात्मक सामाग्रीको पर्याप्तता, विद्यालय हाताभित्र छुट्टै संरचना, प्रत्येक केन्द्रमा बाल स्याहार कर्मचारी र बालमैत्री वातावरणको सुनिश्चितता हुने अपेक्षा मन्त्रालयले लिएको छ । 

यो सोचपत्र अनुसार बाल विकास केन्द्रको हकमा १५ वर्षभित्रमा समुदायको स्वतःस्फूर्त संलग्नता, बाल उद्यान, बालबालिका रमाउने अभिभावक सन्तुष्ट हुने स्थलका रूपमा विकास हुने अपेक्षा लिइएको छ । 

विद्यालय शिक्षाको हकमा प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व विकास गर्ने, राष्ट्र र राष्ट्रियताप्रति निष्ठावान् बनाउने, संघीय लोकतान्त्रिक गणतन्त्रका मूल्य मान्यताप्रति प्रतिबद्ध, स्वाभिमानी, सामाजिक तथा सांस्कृतिक विविधतालाई सम्मान गर्ने, चरित्रवान्, नैतिकवान् एवम् जिम्मेवार नागरिक तयार पार्ने राष्ट्रिय उद्देश्य रहेको छ । 

विद्यालय क्षेत्रमा अबको ५ वर्षभित्रमा सबै शिक्षण संस्थामा न्यूनतम मापदण्ड पुरा गर्ने, निःशुल्क तथा अनिवार्य शिक्षा कार्यान्वयन गर्ने, पाठ्यक्रम कार्यान्वयनमा स्वायत्तता, समावेशी शैक्षिक वातावरण र सार्वजनिक विद्यालयको सुदृढीकरण गर्ने रहेको छ । 

त्यस्तै १० वर्षभित्रमा आदर्श शैक्षिक वातावरणको निर्माण, सार्वजनिक शिक्षामा आकर्षण र विश्वास, शान्ति क्षेत्रको रूपमा विकास र शैक्षिक गुणस्तरमा सुनिश्चितता रहने अपेक्षा लिइएको छ । 

१५ वर्षभित्रमा सबै विद्यालय समान स्तर, विद्यालयमा अन्तर्राष्ट्रिय गुणस्तर आउने अपेक्षा लिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप