बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सम्भव छ त खसीबिनाको दसैँ ?

मङ्गलबार, १८ असोज २०७९, १४ : ०५
मङ्गलबार, १८ असोज २०७९

दसैँ र खसी । मानौँ यी दुई शब्द पर्यायवाची हुन् । खसीको विकल्प बोका, च्याङ्ग्रा, भेडा, कुखुरा । नेपाली समाजमा एउटा यस्तो जबरजस्त धारणा बसिसकेको (या बसाइएको ?) छ कि खसीबिना दसैँ चल्दैन । 

मानौँ दसैँको प्रसाद नै खसीको मासु, बोका या राँगाको रगत । मासुबिनाको दसैँ, के दसैँ ? मानौँ बलि नदिई या मारकाट नगरी या रगत नचढाई दसैँको अनुष्ठान नै पूरा हुन्न । के यो धार्मिक विधिविधान नै हो त ? 

मलाई लाग्छ– दसैँमा मासु खानैपर्छ भन्ने केही छैन । मासुविनाको या खसीविनाको दसैँ पनि त मनाउन सकिन्छ । आजकल त झन् मासुमात्र कहाँ हो र, मदिराजस्ता पेयपदार्थ समेत यस्ता चाडबाडको अंग बन्न थालेका छन् । यसलाई संस्कृति मान्ने कि विकृति ? 

तर कतिपय अहिंसावादी पण्डा–पुरोहितहरुले नै पशुबलिको सट्टा कुभिण्डो बलि दिएर या यस्तै फलफूल चढाएर (आफूले पनि फलफूल मात्र खाएर) अनुष्ठान पूरा गर्ने गरेका छन् । हो, बलिप्रथा न पौराणिक÷वैदिक ग्रन्थहरुमा व्यवस्था भएको पाइन्छ, न यो आजको सभ्यताको परिचायक बन्न सक्छ । हाम्रो सचेत पुस्ताले बलिप्रथा र मांशविनाको दसैँ संस्कृति बसाल्न चिन्तन गर्नुपर्ने बेला आएको छ ।

दसैँ मूलतः हिन्दू धर्मसँग जोडिए तापनि बलिप्रथा हिन्दू धर्मको अंग रहेको कुनै पनि शास्त्रहरुले पुष्टि गर्दैनन् । वेद–पुराणहरुमा पशुबलि या हिंसालाई प्रोत्साहन गर्ने कुनै पनि आधार रहेको भेटिन्न । बरु यो बलिप्रथा समय क्रममा तान्त्रिक विधि–विधानमार्फत् समाजमा स्थापित भएको र पुस्तैनी चालचलनको रुपमा जरो गाडेर बसेको भन्नेतर्फ धेरै विद्वानहरुको मतैक्य छ । 

हिन्दू धर्ममा देवीदेवतालाई रिझाउन विशेष अनुष्ठानका विधि दिइएका छन् । मूलतः यान्त्रिक, तान्त्रिक र याज्ञिक अनुष्ठानमार्फत् देवीदेउतालाई रिझाएर मनोकामना पूरा गर्न सकिने मान्यता छ । पशुबलि दिनु यही तान्त्रिक पद्धतिअन्तर्गत पर्ने बताइन्छ । 

तर यस्तो तान्त्रिक पद्धतिको पूजा गर्ने अधिकार ब्राह्मण तथा क्षत्रीय जस्तालाई तथकथित ‘उच्च जाति’लाई नरहेको समेत बताइन्छ । तामसिक गुणयुक्त मानिसहरुले मासु र मदिराजन्य पदार्थको प्रयोग अधिक गर्ने हुनाले उनीहरुबाटै पशुबलि र देउतालाई रगत चढाउने चलन चलेको भन्ने तर्कहरु पाइन्छन् ।

तर दसैँका बेला भने बाहुन, क्षेत्रीहरु समेतले प्रायः मासु अनिवार्य खाने गरेको भेटिन्छ । विशेष गरी खसीबोकाको मासुलाई पवित्र मानेर यी जातिका मानिसले खान्छन्, बरु कुखुरा, राँगा, सुँगुर आदिको मासुलाई अपवित्र मानेर मांशमा समेत विभेद गरिँदै आएको छ । 

 नेपाल बहुल जाति–संस्कृति र सामाजिक प्रचलनले बाँधिएको देश हो । यहाँ अन्य जाति–जनजातिहरु जस्तैः नेवार, राई, लिम्बू, तामाङ, मगर, थारू लगायत सबैले प्रायः मासु खाने गर्छन् । तर खसी–बोकाबाहेक, राँगाभैसी, हाँस, कुखरा, सुँगुर र गाईको मासु समेत खाने प्रचलन केही समुदायमा रहेको छ । 

जनजातिहरु प्रकृतिपूजक रहेकाले उनीहरु पनि कुलदेवता, पितृदेवता र प्रकृतिलाई नै दैवीशक्तिका रुपमा मानेर रगत, मासु चढाएर मात्र धेरै अनुष्ठान पूरा गर्दछन् । यसबाट पनि नेपालजस्तो विशेष भौगोलिक अवस्था रहेको देशमा मासु सबैजसो जाति, समुदायले खाने गरेको तथ्य कतैबाट छिप्दैन । देवीदेवताको नाउँमा रगत चढाएर मासु भने आफू नै खानु मान्छेको धूर्त बुद्धिको उपज मान्छु म त ।

दसैँजस्तो चाडमा त झन् हजारौँ–लाखौँ पशुपंक्षीको बध हुने गरेको छ । बलिको रुपमा राँगा, बोका, पाठा, हाँस, कुखुरा आदिको काटमार हुन्छ । मासुका लागि भने खसी विशेष ‘ब्राण्ड’ नै बनेको छ । सट्टामा बोका, च्याङ्ग्रा, भेडा अनि नेवारजस्ता जनजातीय समुदायमा राँगा र गैरहिन्दू समुदायमा बंगुर, सुँगुर आदिको मासु यसबेला पनि उत्तिकै खपत हुन्छ । 

मासु व्यवसाय अर्थोपार्जनको साधन हो, यो अलग्गै बहसको विषय बन्ला । तर मनोकामना पूरा गर्न भनेर बलि दिनु असभ्यता हो । यति बुझेर पनि आजको सचेत पुस्ताले समेत संस्कृति या चालचलनको रुपमा यसलाई निरन्तरता दिइरहेको छ । अब खसी–बोका या बलिविनाको दसैँको परिकल्पना हामीले गर्न सक्नुपर्छ ।

मासु खाने कि नखाने ? यो कुरामा अहिले बहस नगर्दा हुन्छ । मान्छेले बाँच्नका लागि खानैपर्ने यावत चीजमा मासु कत्तिको जरुरत हो ? यसको वैज्ञानिक, चिकित्सकीय, जैविक एवं समाजशास्त्रीय र अर्थशास्त्रीय चिन्तन अनेक होलान् । तर दसैँमा नै किन यति धेरै मासुको खपत हुन्छ, किन मासुविनाको दसैँको परिकल्पना गर्न सकिन्न ? मेरो अहिलेको चिन्तनको विषय केवल यत्ति हो । 

अहिले ट्रकका ट्रक खसीबोकाहरु काठमाडौंजस्ता घना आवादी भएका सहरमा भित्रिएका छन् । यहाँका अधिकांश खाली ठाउँमा र विशेष गरी रिङरोडको आसपास एवं खसीबजारहरुमा हजारौँ संख्यामा खसीबोका तथा च्यांग्राहरू राखिएका छन् । ती सुदूरपश्चिमको दार्चुलादेखि सुदूरपूर्व ताप्लेजुङ र अझ सीमापार चीनको तिब्बत र भारतीय भूमिबाट समेत यहाँसम्म ल्याइका हुन् । 

गाउँघरमा पनि ती चौपायाको खोजी र खरिद–बिक्री उच्च छ । समाजमा वर्षभरि खसी, बोका, कुखुरा पालेर दसैँलाई साँचीराख्ने चलन नै चलेको छ । 

विशेष गरी अष्टमी, नवमी र विजयादशमीका तीन दिनमा बढी पशु काटिन्छन् । अनि भुटिन्छन्, खाइन्छन्, चाटिन्छन् । मान्छेले दसैँ मनाइसकेर ढ्याउ डकार्छन्, दाँत कोट्याउँछन् । तर उता पशुहरुको आधा जगत संहार भइसकेकोमा कसैलाई पछुतो र चिन्ता हुन्न । 

अझ दसैँमा टीका नलाउने, दसैँ नमान्ने कतिपय समुदायमा पनि यसबेला मासु भने खाने, रमाइलो गर्ने चलन छ । यसले के दर्शाउँछ त ? दसैँ भन्नु नै मासुको पर्व हो भन्ने जबरजस्त मानसिकता समाजमा व्याप्त रहेको देखाउँछ ।

दसैँलाई ‘मासुको पर्व’ हुनबाट जोगाऔँ 

अब हामी परिकल्पना गरौँ त– मासुविनाको दसैँ । अर्थात् खसी–बोकाविनाको दसैँ । पशुपन्क्षीको बलि र रगतविनाको दसैँ । 

दसैँ चाडका कैयौँ सामाजिक, धार्मिक एवं सांस्कृतिक महत्वपूर्ण पक्ष छन् । टीका, जमरा, पिङ, चंगा, जाँत –जात्रा), व्रत–पूजा–अर्चना, लोकनृत्य तथा लोकभाका, नाचगान, भेटघाट, रहनसहन, शुभकामना तथा आर्शीवादको आदानप्रदान आदि । 

यी सकारात्मक पक्षहरुको अधिकता हुँदाहुँदै पनि मासु र पशुबलिजस्ता नकारात्मक पक्षले थिचिएका छन् । अझ जुवातास, जाँडरक्सी, भाँडभैलो र अन्धाधुन्ध रुपमा आयात भएर गाउँ गाउँसम्म फैलिरहेका पुँजीवादी विकृतिको चपेटामा परेर दसैँजस्ता चाडबाडको मौलिकता उडिसकेको छ । 

एउटा सामान्य ज्यालादारी गर्ने मजदूर पनि भन्छ– कमाइ छैन हजुर, एक पाउ मासुले दसैँ मनाउँछु । सामाजिक परिधिमा रहेपछि देखासिकी या अनुकरण गर्नु स्वाभाविकै हो । अब कमाइ छैन तर मासु नै किन चाहिने ? कतिले रिन गरेर पनि मासु नै किन्ने गरेको पाइन्छ । 

अझ फलानोले त त्यत्रो खसी काट्यो हामी के कम भन्दै हुने खानेहरुबीच भने प्रतिपस्र्धा नै चल्ने गरेको छ । देवीको मन्दिरमा बलि चढाउन, भाकल गर्न पनि होडबाजी चल्छ । बरु हुनेले नहुनेहरुलाई समेत दिएर चाडबाड मनाउन सके त्यहाँ कमसेकम मानवता बाँच्ने थियो । 

मान्छे सामाजिक प्राणी भएकाले ऊ सामाजिक–सांस्कृतिक धरातलभन्दा भिन्नै रहेर बाँच्न असम्भव छ । तर संस्कृति भन्नु त मान्छेले नै आविष्कार गरेर चालचलनका रुपमा अँगाली आएका निश्चित विधिविधान एवं नियमहरु नै हुन् । यी नियमहरु समयानुकूल परिमार्जन हुँदै जानु अस्वाभाविक हुँदैन । 

तर संस्कृतिमा विकृति भित्र्याउनु अस्वाभाविक र आपत्तिजनक हो । बरु संस्कृतिमा व्याप्त विकृति, रुढिग्रस्त मान्यतालाई सुधार गर्नु सभ्य समाजको परिचायक हो । सामाजिक सद्भाव, समानता र विश्वमैत्री भावना तथा समस्त चराचर जगतविरुद्ध रहेका मान्यता भत्काउँदै त्यस अनुकूल नयाँ नियमहरु बसाल्नु आजको सचेत पुस्ताका चिन्तक एवं बौद्धिक व्यक्तिहरुको कर्तव्य हो ।

भगवान् बुद्धले सबैप्रति करुणाभाव राख्नु नै धर्म हो भनेका छन् । हिन्दू धर्मको सार पनि ‘अहिंसा परमोधर्म’ भन्ने नै रहेको छ । तब धर्म–संस्कृतिका नाममा मनाइने चाडबाडमा हामी मांशभोज र पशुबलि रोक्न किन सक्दैनौँ ? 

यदि सनातन संस्कृतिको रक्षा गर्ने हो भने हामीले सात्विक जीवनशैली अपनाउनु हितकर हुन्छ । यसबाट नै मानव जाति र सबै प्राणीका लागि भलो हुन्छ । तामसी जीवनशैलीले मानव समाजमा न त शान्ति, अमनचयन र सुसभ्य संस्कृति निर्माण हुन सक्छ, न मानवेतर प्राणीप्रति करुणाभाव जागृत हुन्छ । 

मासुबाहेक यो धरतीमा अरु पनि धेरै छन् स्वादिला, पोषिला खाद्यवस्तु । यसो भन्दा मासुको विरोध गरेको नठानियोस् । तर, दसैँलाई मासुकै पर्वको रुपमा नबुझौँ भन्न खोजिएको हो । फलफूल, मिष्ठान्न भोजन गरेर अनि मौलिक तर सकारात्मक मान्यताहरु आत्मसात गरेर पनि त रमाइलोसँग दसैँ मनाउन सक्छौँ । 

लौ त, अब हामी परिकल्पना गरौँ–  सामन्ती ठाँटबाठ र तामसी तडकभडक विनाको अहिंसापूर्ण, समतामूलक, विभेदरहित र भातृत्वपूर्ण दसैँको ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप