बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एमालेले संसद् खुलाउन चाहेको छैन : सांसद रेखा शर्मा

माओवादीलाई दोषी देखाएर सङ्घीयता कार्यान्वयन सम्बन्धी ऐन, कानुन नबनाउने सरकारको बहाना बन्द भयाे
बुधबार, ०४ असार २०८२, १४ : २३
बुधबार, ०४ असार २०८२

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद् रेखा शर्माले सत्तारुढ दल नेकपा एमालेले संसद् खुलाउन नचाहेको बताएकी छन् । बुधबार प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेशको दोस्रो पूर्ण बैठकको उद्घाटन गर्दै पूर्व मन्त्री समेत रहेकी सांसद शर्माले यस्तो बताएकी हुन् । 

शर्माले केही दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विरोधलाई पेलेर लिने एमालेले मंगलबारको बैठक भने रास्वपाको विरोधको बहाना बनाएर निजामती सेवा विधेयकलाई अघि बढाउन नखोजेको आरोप समेत लगाइन् । 

उनले भनिन्, ‘नेकपा (एमाले) संसद् खुलाउन चाहेको छैन । हामीले विरोध जनाउँदासम्म बहाना भइरहेको थियो । हिजो निजामती सेवा विधेयकमाथि छलफल गरेर पारित गर्ने कार्यसूची भएकाले किन रोकियो संसद् बैठक ? यत्रा दिन रास्वपाको नारा जुलुसका बिचमा पनि पेलेर लिनेले हिजो किन पेलेर जान सकेन ? समितिबाट २ वर्ष कुलिङ पिरियड पारित भइसकेको छ । समितिका सभापतिको अडान पनि कायमै छ । तर, कुलिङ पिरियड राख्न प्रधानमन्त्री केपी शर्मा ओली नै रुचाउनुहुन्न ।’

संसदीय समितिबाट पारित भएको निजामती सेवा विधेयकका विषयमा मन्त्रिपरिषद्‌मा छलफल भइरहेको र त्यसलाई सरकारले पुन: फिर्ता लिन चाहेको उनले बताइन् ।

उनले भनिन्, ‘समितिबाट पारित भएको विधेयकका विषयमा मन्त्रिपरिषद्‌मा किन छलफल भइरहेको छ ? उस्तै परे अहिलेको प्रधानमन्त्री र सरकार निजामती विधेयक फिर्ता लिने तयारीमा छ भन्ने पनि सुनिएको छ ।’

माओवादीलाई दोषी देखाएर सङ्घीयता कार्यान्वयन सम्बन्धी ऐन, कानुन नबनाउने सरकारको बहाना बन्द भएको समेत उनले बताइन् ।

‘अब माओवादीलाई देखाएर सङ्घीय निजामती सेवा विधेयक पारित गर्न सकिएन भन्ने बहानालाई अन्त्य गरेका छौँ । शिक्षा विधेयक पनि माओवादीले गर्दा पारित हुन सकेन भन्ने बहाना गर्ने दिन पनि गएका छन्,’पूर्व मन्त्री शर्माले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप