सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कहाँ–कहाँ पर्‍यो बागी उम्मेदवारी ?

सोमबार, २४ असोज २०७९, ०७ : १०
सोमबार, २४ असोज २०७९

आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा विभिन्न पार्टीबाट बागी उम्मेदवारी परेको छ । आइतबार उम्मेदवारी दर्ता गर्दा नेपाली कांग्रेस र नेकपा एमालेबाट सबैभन्दा बढी बागी उम्मेदवारी परेको छ ।

यस्तै कतिपय क्षेत्रमा सत्ता गठबन्धनको चुनावी तालमेल पनि भत्किएको छ भने एमाले र जसपाको तालमेलमा पनि विद्रोह भएको छ ।

एमालेबाट को–को उठे बागी ?

एमालेमा टिकट नपाएपछि प्रभावशाली नेताले नै विद्रोह गरेका छन् । एमालेका पूर्व उपमहासचिव रुपन्देही १ मा घनश्याम भुसालले एमाले केन्द्रीय सचिव छविलाल विश्वकर्माविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका छन् । एमाले परित्यागका गरेका नेता भुसालले आइतबार स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका हुन् । उनलाई सत्ता गठबन्धनले समर्थन गरेको छ ।

नेकपा एमालेबाट टिकट नपाएपछि निवर्तमान सांसद रामवीर मानन्धरले काठमाडौँ क्षेत्र नम्बर ७ बाट स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । एमालेले काठमाडौँ – ७ मा श्याम घिमिरेलाई टिकट दिएको छ ।

स्याङ्जा–२ मा एमाले सचिव पद्मा अर्यालविरुद्ध कपिलदेव न्यौपानेले बागी उम्मेदवारी दिएका छन् । एमाले–जसपा गठबन्धनका उम्मेदवार प्रमोद साहविरुद्ध सर्लाहीमा एमालेका मानबहादुर खड्काले बागी उम्मेदवारी हालेका छन् ।

दैलेख –१ मा प्रतिनिधि सभाको लागि एमालेका गोपाल नेपालीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । एमालेले रवीन्द्रराज शर्मालाई आधिकारिक उम्मेदवार बनाएपछि नेपालीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै एमालेकी नेतृ गंगा चौधरीले स्वतन्त्र उम्मेदवारी दिएकी छन्।  एमालेले दाङ–१ मा शान्ता चौधरीलाई टिकट दिएपछि उनले सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएकी हुन्।

यस्तै एमाले धादिङका पूर्व अध्यक्ष तथा पुराना कम्युनिस्ट नेता नेत्रराज पौडेलले धादिङ १ को (क) मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

पार्टीले युवा नेता रमेश आचार्यलाई टिकट दिएपछि पौडेलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । आचार्यले लामो समय एमाले अध्यक्ष केपी शर्माका स्वकीय सचिवको भूमिकामा काम गरेका थिए ।

रुपन्देही ५ मा पनि एमालेमा दुई जनाको उम्मेदवारी परेको छ । नेता खिमलाल भट्टराईविरुद्ध तिलोत्तमा नगरपालिकाका निवर्तमान नगरप्रमुख वासुदेव घिमिरेले बागी उम्मेदवारी दिएका छन् । सुरुमा घिमिरेलाई दिएको टिकट खोसेर भट्टराईलाई दिएपछि घिमिरे समर्थक आक्रोशित बनेका छन् ।

मनोनयनको केही समय अघि मात्रै वासुदेव घिमिरेको टिकट खोसिएको भए पनि घिमिरेले मनोनयन गरेका छन् । एमालेका जगन्नाथ बास्तोलाले कास्की ३ मा पनि बागी उम्मेदवारी दर्ता गराएका छन् । एमालेले प्रतिनिधिसभा कास्की ३ मा दामोदर वैरागीलाई उम्मेदवार बनाएको छ । वैरागीविरुद्ध बास्तोलाले दिउँसो उम्मेदवारी दर्ता गराएका थिए ।

नेकपा एमाले केन्द्रीय सदस्य सहदेव बोगटीले बाजुराको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (क) बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेले उक्त निर्वाचन क्षेत्रबाट यसअघिका संघीय सांसद लालबहादुर थापालाई टिकट दिएको छ । सर्लाही १ मा एमालेमा मानबहादुर खड्काको बागी उम्मेदवारी परेको छ ।

सुर्खेत निर्वाचन – १ को प्रदेश सभा (ख) मा एमालेका डण्डीप्रसाद शर्माविरुद खड्क बहादुर खत्रीले बागी उम्मेदवारी दिएका छन् ।

खत्रीले आइतबार मेहेलकुनमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शर्मा विरुद्ध बागी उम्मेदवारी दर्ता गराएका छन् ।

कांग्रेसमा को–को उठे बागी

कांग्रेसमा सबैभन्दा बढी बागी उम्मेदवारी परेको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध तनहुँ १ मा दुई जनाले बागी उम्मेदवारी दिएका छन् ।

नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले तनहुँ–१ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनबाट यहाँ कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।

भ्रष्टाचार काण्डमा मुछिएका जोशीले ०७४ मा पनि पौडेलविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका थिए । पौडेलको उजुरीपछि जोशीको उम्मेदवारी खारेज भएको थियो ।

तनहुँ १ मा विश्व बास्तोलाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेस तनहुँका पूर्व जिल्ला सचिव बास्तोलाले पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका छन् । स्थानीय तह निर्वाचन अगाडि नै पार्टी परित्याग गरेका बास्तोलाले आइतबार प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

निवर्तमान सांसद अमरेशकुमार सिंहले सर्लाही ४ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसले सर्लाही ४ मा नागेन्द्र रायलाई टिकट दिएपछि सिंह बागी उम्मेदवार बनेका छन् । 

 
प्रधानमन्त्री पत्नी आरजु राणाका स्वकीय सचिव प्रकाश देउवाविरुद्ध कैलाली ५ (ख) मा कांग्रेसबाटै विद्रोही उम्मेदवार बनेका छन् । कांग्रेस महासमिति सदस्य क्षितिज भण्डारीले कांग्रेसका आधिकारिक उम्मेदवार देउवाविरुद्ध उम्मेदवारी दिएका हुन् ।

धादिङ–२ मै केन्द्रीय सदस्य रमेश धमलाले बागी उम्मेदवारी दिएका छन्  । पार्टीले रामनाथ अधिकारीलाई टिकट दिएपछि धमलाले बागी उम्मेदवारी दर्ता गराएका हुन् । यस्तै कांग्रेस नेता देवी बुर्लाकोटीले प्रदेशसभातर्फ बागी उम्मेदवारी दिएकी छिन् ।

 कैलाली–५ मा डिल्लीराज पन्तलाई गठबन्धनबाट उम्मेदवार बनाइएको छ । कांग्रेस नेता पुष्करनाथ ओझाले त्यहाँ स्वतन्त्र उम्मेदवारी दिएका छन् ।  सिन्धुपाल्चोक–२ मा मोहन बस्नेतविरुद्ध कांग्रेसका पूर्वक्षेत्रीय सभापति बद्री चौलागाईंले म्मेदवारी दिएका छन् । 

कांग्रेस नेता हरिमोहन भण्डारीले बैतडीबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उनले प्रदेश सभा (क) बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । टिकट वितरणको विषयमा असन्तुष्ट भण्डारीले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् । 

माओवादी र जसपा पनि बागी

सत्तारुढ माओवादी केन्द्रकी अनिता भुर्तेलले कास्की ३ को प्रतिनिधिसभा निर्वाचनमा बागी उम्मेदवारी दर्ता गराएकी छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनले आइतबार दिउँसो उम्मेदवारी दर्ता गराएकी हुन् । कास्की ३ मा सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका रामजीप्रसाद बराल उम्मेदवार छन् ।

जनता समाजवादी पार्टीका केन्द्र सदस्य जन्नत अन्सारीले पर्सा निर्वाचन क्षेत्र नम्बर १ (क) प्रदेश सभाका लागि बागी उम्मेदवारी दिएका छन् । एमाले जसपा गठबन्धनको सिट बाँडफाँटमा उक्त क्षेत्र एमालेले पाएको छ । राम्रो काम गर्दा पनि पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएको अन्सारीले बताएका छन् ।

यस्तै जसपाकी केन्द्रीय सदस्य करिमा बेगमले स्वतन्त्र उम्मेदवारी दिएकी छन् । पार्टीले टिकट नदिएपछि उनले पर्सा २ को (ख) बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दर्ता गराएकी हुन् । जसपा–एमाले गठबन्धनबाट यो क्षेत्रमा जसपाका सुरेन्द्र कुर्मीले टिकट पाएका छन् ।

सत्ता गठबन्धनभित्र कहाँ- कहाँ विद्रोह ?

सत्ता गठबन्धनमा कांग्रेसबाट बढी बागी उम्मेदवारी परेको छ । गुल्मीको २ बाट प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनको साझा उम्मेदवार बनेकी नेकपा एसकी सचिव रामकुमारी झाँक्रीविरुद्ध कांग्रेस नेताले उम्मेदवारी दिएका छन् । कांग्रेस नेता डाक्टर दामोदर भुसालले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

उदयपुर क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध कांग्रेस नेताले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसका क्षेत्रीय सभापति रामकुमार राईले प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । यो क्षेत्रमा गठबन्धनकातर्फ नेकपा एस नेता जगन्नाथ खतिवडा उम्मेदवार छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले मनोनयन दर्ता गराएको गोरखा–२ बाट कांग्रेसकी माधवी भट्टले स्वतन्त्र उम्मेदवारी दिएकी छन् । सत्यनिरूपण तथा मेलमिलाप आयोगकी पूर्वसदस्य भट्ट गोरखाकै हुन् ।

सिन्धुपाल्चोक १ मा पनि कांग्रेसका नेता रामकुमार जीसीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन । जीसी सुनकोसी गाउँपालिका–२ का इकाई सभापति हुन् । यहाँ गठबन्धनबाट माओवादीले पाएको माधव सापकोटा उम्मेदवार बनेका छन् । 

सुर्खेत १ मा प्रतिनिधि सभाका लागि गठबन्धनका साझा उम्मेदवार कांग्रेस उपसभापति पूर्णबहादुर खड्काविरुद्ध बागी उम्मेदवारी परेको छ।  नेकपा माओवादीका केन्द्रका मानसिंह ठकुरीले खड्काविरुद्ध बागी उम्मेदवारी दिएका हुन् । उनी सम्पर्क समन्वय समितिको प्रदेश कमिटी सदस्य हुन् ।

सत्ता गठबन्धनभित्र काठमाडौं १० मा माओवादी केन्द्रले बागी उम्मेदवारी दिएको छ । काठमाडौं १० मा प्रतिनिधिसभा माओवादी पोलिटव्युरो सदस्य अञ्जना विशंखेले गठबन्धनका साझा उम्मेदवार कांग्रेसका राजन केसीविरुद्ध दिएकी छन् । 

त्यसतै प्रदेशतर्फ एक नम्बरमा दिलीप महर्जन र २ नम्बरमा गणेश कुँवरले उम्मेदवारी दिएका छन् । काठमाडौं ३ को प्रदेशसभा २ तर्फ सत्ता गठबन्धनका साझा उम्मेदवार महेश्वर फुयाँलविरुद्ध बागी उम्मेदवारी परेको छ । फुयाँलविरुद्ध कांग्रेसले विमल ठकुरीलाई उम्मेदवार दर्ता गराएका छन् ।

कांग्रेसबाट मोरङ ५ मा पनि बागी उम्मेदवारी परेको छ । कांग्रेसका सलिम अन्सारीले पनि मोरङ ५ मा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसले माओवादीसँग गठबन्धन गरेर माओवादीका निवर्तमान सांसद शिवकुमार मण्डललाई उम्मेदवार बनाएको छ ।

यस्तै बझाङमा पनि कांग्रेसबाट बागी उम्मेदवारी परेको छ । गठबन्धनबाट एकीकृत समाजवादीका भानुभक्त जोशीविरुछ कांग्रेसका पूर्व सभापति हर्कजङबहादुर सिंहले बागी उम्मेदवारी दिएका हुन् ।

खोटाङका प्रतिनिधि र प्रदेशसभा गरी तीन वटै क्षेत्रमा कांग्रेसबाट बागी उम्मेदवारी परेको छ । प्रतिनिधिसभाका लागि पूर्व सांसद सर्वधन राईले उम्मेदवारी दर्ता गराएका छन् ।

सुवासकुमार पोखरेल प्रदेश (क) र पूर्वउपसभापति धर्मराज पोखरेललाई प्रदेशसभाको (ख) मा उम्मेदवार  दर्ता गराएका हुन् । यहाँ गठबन्धनबाट प्रतिनिधिसभामा माओवादी केन्द्रका नेता रामकुमार राई पासाङले उम्मेदवारी दिएका छन्  ।

प्रदेशसभामा (क) एकीकृत समाजवादीबाट  वीरबल राई र (ख) मा कांग्रेसका भूपेन्द्र राईले उम्मेदवारी दिएका छन् । कास्की २ मा पनि कांग्रेस नेता तथा पूर्व पर्यटन राज्यमन्त्री महादेव गुरुङले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

कास्की क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता श्रीनाथ बराल उम्मेदवार छन्। चितवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा कांग्रेसका पूर्व सांसद जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् । चितवन– ३ मा कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाले पनि बागी उम्मेदवारी दिएका छन् ।

कांग्रेस रुकुम पश्चिमका तीन वटै क्षेत्रमा माओवादीले पाएपछि कांग्रेस दुवै प्रदेशसभा निर्वाचन क्षेत्रमा बागी उम्मेदवारी दिएको छ । 

प्रदेशसभा ‘क’ मा कृष्णबहादुर रोकाय र प्रदेश सभा ‘ख’ मा प्रेमप्रकाश ओलीले उम्मेदवारको मनोनयन दर्ता गराएका छन् । यहाँका तीनवटै निर्वाचन क्षेत्रमा माओवादी केन्द्रले उम्मेदवारी दिएको छ ।

भोजपुरमा मुख्यमन्त्री राजेन्द्र राईविरूद्ध कांग्रेस नेता उत्तम चापागाईं बागी उम्मेदवार बनेका छन् । भोजपुर प्रदेशसभा (क) मा एकीकृत समाजवादीबाट प्रदेश १ का मुख्यमन्त्री राई गठबन्धनका साझा उम्मेदवार बनेपछि चापागाईंले बागी उम्मेदवारी दर्ता गराएका हुन् ।

कपिलवस्तु १ मा कांग्रेसका नेता ललित गुरुङले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । माओवादी सचिव चन्द्रप्रकाश खनाल बलदेवविरुद्ध गुरुङले उम्मेदवारी दर्ता गराएका हुन् ।

कांग्रेसले पर्सा १ लोसपालाई छाडेपछि  कांग्रेस नेता अजय द्विवेदीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । गठबन्धनको तर्फबाट पर्सा –१ को प्रतिनिधिसभा सदस्यमा लोसपाका नेता लक्ष्मणलाल कर्ण उम्मेदवार बन्दा उनले स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् । 

बागलुङ १ को प्रतिनिधिसभामा गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीविरुद्ध कांग्रेसका शंकर श्रेष्ठले बागी उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसका पूर्व जिल्ला कोषाध्यक्ष श्रेष्ठ गठबन्धनभित्र बागी उम्मेदवारी दर्ता गराएका हुन् । 

यस्तै जनमोर्चाको विद्रोह र एकीकृत समाजवादीबाट पनि विद्रोह भएको छ । राष्ट्रिय जनमोर्चाले अर्घाखाँचीमा गठबन्धनभित्र विद्रोह गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाका तीनै क्षेत्रमा जनमोर्चाले उम्मेदवारी दिएको हो ।

प्रतिनिधिसभामा जनमोर्चाका पशुपति ढकालले स्वतन्त्र उम्मेदवारी दिएका छन्  भने प्रदेशसभा क मा सागर केसी र ख मा जीवलाल पौडेलले पार्टीबाट नै उम्मेदवारी दर्ता गराएका हुन् ।

यहाँ कांग्रेस नेतृ तथा निवर्तमान उपसभामुख पुष्पा भुसाल गौतमले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएकी छन् । उनीसँगै प्रदेशसभा (क)मा माओवादी केन्द्रका ठाकुरकुमार बिक र प्रदेशसभा (ख) मा कांग्रेसका कमल भुसालले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै रामेछापमा एकीकृत समाजवादीले प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा उम्मेदवारी दर्ता गराएको छ । सत्ता गठबन्धनमा प्रतिनिधिसभा कांग्रेस र दुवै प्रदेशसभा माओवादीले पाएपछि एकीकृत समाजवादीले विद्रोह गरेको छ । प्रतिनिधि सभामा एकीकृत समाजवादीबाट पूर्व सांसद देवशंकर पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी प्रदेश सभा (क)मा पार्टी जिल्ला अध्यक्ष रमेशकुमार बस्नेत र प्रदेश सभा (ख) मा नेता झम्क कँडेलको उम्मेदवारी परेको छ ।

यता सत्ता गठबन्धनले प्रतिनिधि सभामा कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) र प्रदेश सभा (क) मा माओवादी केन्द्रका तारानारायण श्रेष्ठ र(ख) मा माओवादी केन्द्रकै युवराज चौलागाईंले उम्मेदवारी दर्ता गरेका छन् । यता माओवादी केन्द्रका सप्तरी जिल्ला इन्चार्ज अशोककुमार मण्डलले गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका छन् ।

आइतबार पार्टी परित्याग गरेर सप्तरीको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। उक्त क्षेत्र पाँच दलीय गठबन्धनमा नेपाली कांग्रेसबाट रामदेव साहले उम्मेदवारी दर्ता गराएका छन् ।

रोल्पा प्रदेश सभा (ख) नेपाली कांग्रेसले पाएर कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले उम्मेदवारी दिएका थिए । तर सोही क्षेत्रबाट माओवादी पोलिटब्यूरो सदस्य दीपेन्द्र कुमार पुन सिजलले माओवादी नै परित्याग गरेर स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् ।

एमाले नेतृत्वको गठबन्धनमा कहाँ कहाँ भयो विद्रोह ?

एमालेले आगामी निर्वाचनमा स्थानीय अवस्था अनुसार गरेको चुनावी तालमेलमा पनि विद्रोह भएको छ । एमालेले जसपा, राप्रपा, कांग्रेस बिपी लगायतसँग चुनावी तालमेल गरेको थियो । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको क्षेत्रमा समेत एमालेबाट कांग्रेस बिपीसँगको तालमेलविरुद्ध उम्मेदवारी परेको छ ।

प्रतिनिधिसभामा एमालेका नेता विक्रमबहादुर शाहीले डडेलधुरामा उम्मेदवारी दर्ता गराएका छन् । देउवाको क्षेत्रमा एमालेले कांग्रेस बीपीसँग चुनावी तालमेल गरेको छ।

डडेलधुरामा एमालेले कांग्रेस बीपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्ललाई समर्थन गर्ने सहमति गरेको थियो। तर शाहीले विद्रोह गरेका छन् ।

मोरङको– ५ बाट प्रतिनिधिसभा सदस्यका लागि एमालेका योगेन्द्र मण्डलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै एमालेले सुनसरी–१ मा जसपालाई दिने निर्णय गरेपछि धरानका पूर्व मेयर मनोजकुमार मेन्याङ्बोले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।

जसपाका संघीय परिषद अध्यक्ष अशोक राई एमाले गठबन्धनको तर्फबाट उम्मेदवार बनेपछि मेन्याङ्बोले स्वतन्त्र उम्मेदवारी दिन लागेका हुन् ।

एमालेले उक्त क्षेत्रमा जसपासँग गठबन्धन गरेपछि मण्डलले स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् । उक्त क्षेत्रबाट जसपाले पार्टीका प्रदेश १ उपाध्यक्ष तथा जिल्ला अध्यक्ष राजकुमार यादवलाई उम्मेदवारी दर्ता गराएका छन् ।

एमाले नेता प्रभु शाहको रौतहट ३ बाट बागी उम्मेदवारी दर्ता गराएका छन् । एमालेले टिकट दिए पनि उनले रौतहट ३ बाट बागी उम्मेदवारी दिएका हुन् ।

उनले आफूसँगै एमालेमा प्रवेश गरेका अन्य नेताहरूलाई पनि एमालेले टिकट नदिएपछि बागी उठेका छन्  । यद्यपि उनले एमालेका उम्मेदवारलाई भने समर्थन गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप