आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रमुख दलका शीर्ष नेतालाई क–कसले दिँदैछन् चुनौती ?

सोमबार, २४ असोज २०७९, १४ : ४८
सोमबार, २४ असोज २०७९

मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन सकिएसँगै चुनावी माहौल ह्वात्तै बढेको छ । उम्मेदवारी दर्तापछि उम्मेदवारहरू मतदाता फकाउने र परिणाम आफ्नो पक्षमा पार्न प्रयासरत छन् भने मतदाताहरू पनि कुन उम्मेदवार कस्तो र कुन उम्मेदवारले चुनाव जित्छ भन्दै सम्भावित परिणामबारे आन्तरिक लेखाजोखा गर्न थालेका छन् ।

यस पटकको निर्वाचनमा पनि विगतमा जस्तै प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू चुनावी मैदानमा उत्रिएका छन् । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा डडेलधुरा, वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १, एमाले अध्यक्ष केपी शर्मा ओली झापा ५, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौँ ५, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा २, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल रौतहट १, सम्मानित नेता झलनाथ खनाल इलाम १ देखि जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरसम्म चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

शीर्ष नेतालाई ककसले दिदैछन् चुनौती ?

प्रतिनिधि सभा सदस्यका लागि डडेलधुराबाट उम्मेदवारी दर्ता गरेका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्र शीर्ष नेताहरुमध्येको सुरक्षित मानिन्छ । यद्यपि यो क्षेत्रमा देउवाका मुख्य प्रतिस्पर्धी कांग्रेस वीपीका तर्फबाट कर्ण मल्ल प्रतिस्पर्धा गर्दैछन् ।

कांग्रेसबाट विद्रोह गरेका मल्ल उनीसँगै कांग्रेसका केही मतदाता पनि बीपी कांग्रेसतिरै लागेका छन् । यो क्षेत्रमा चुनावअघि एमाले र मल्लबीच सहकार्य गर्ने पूर्व तयारी भए पनि अन्तिममा एमालेले समेत उम्मेदवारी दिएको छ । एमालेबाट चक्र स्नेही उम्मेदवार बनेका हुन् । यो क्षेत्रमा देउवालाई टक्कर दिने उम्मेदवारका रूपमा मल्ललाई लिए पनि शेरबहादुरकै पल्ला भारी हुने बताइन्छ ।

कांग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेल २०७४को निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार किसान श्रेष्ठसँग तनहुँ १ मा पराजित भएका थिए । यसपटक पनि पौडेल तनहुँ १ बाट निर्वाचन लड्दैछन् । पौडेलको यो क्षेत्रमा पूर्व कांग्रेस नेता गोविन्दराज जोशीले स्वतन्त्र उम्मेदवारी दिएर चुनौती दिएका छन् । जोशीलाई एमालेको साथ रहने उनी पक्षीय मतदाताको अपेक्षा भए पनि एमालेले अन्तिम समयमा एकबहादुर राना मगरलाई उम्मेदवार बनाएकाले जोशी र मगरबीच कसले दोस्रो मत ल्याउने भन्ने प्रतिस्पर्धा हुने देखिएको छ ।

झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओली राप्रपाको सहयोगमा निर्वाचन जित्ने प्रयत्नमा छन् । ओलीसँग कांग्रेसका खगेन्द्र अधिकारी र स्वतन्त्र उम्मेदवार युग पाठक प्रतिस्पर्धा गर्दैछन् । तर ओलीका प्रतिस्पर्धी कांग्रेसकै उम्मेदवार अधिकारी हुने देखिएको छ । किनभने अधिकारीलाई सत्ता गठबन्धनको मत आउने निश्चित छ ।

अघिल्लो निर्वाचनमा चितवनबाट चुनावी जित निकालेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यो पटक गोरखा २ बाट चुनाव लड्दैछन् । प्रचण्डलाई ५ दलीय गठबन्धनको अलावा जसपाबाट छुट्टिएका नेसपाका अध्यक्ष तथा अघिल्लो निर्वाचनमा यही क्षेत्रबाट जितेका डा. बाबुराम भट्टराईको समर्थन छ । गोरखा २ मा प्रचण्डका प्रतिस्पर्धीका रूपमा एमालेका अव्दुस मियाँ आउने देखिएको छ । एमालेको खासै प्रभाव नभएको यो क्षेत्रमा प्रचण्डको जित सुनिश्चित जस्तै देखिन्छ ।

यता, रौतहट १ मा नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग एमालेका अजय गुप्ता प्रतिस्पर्धा गर्दैछन् । नेपालको गृह जिल्ला समेत रहेकाले यो क्षेत्रमा नेपालकै प्रभाव बलियो रहेको बताइन्छ । यद्यपि एमाले उम्मेदवार गुप्ताले जसपाको  समेत समर्थन पाउने भएकाले नेपालसँग मुख्य प्रतिस्पर्धी हुन सक्नेछन् । यो पटक झापा निर्वाचन क्षेत्र १ र ३ मा पनि रोचक प्रतिस्पर्धा हुने देखिन्छ । झापा १ मा एमाले नेता अग्नि खरेल र कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माबीच प्रतिस्पर्धा हुने देखिएको छ भने ३ मा कांग्रेस नेता कृष्ण सिटौला र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुने देखिएको छ । सिटौला सत्ता गठबन्धनका उम्मेदवार हुन् भने लिङ्देन एमालेको समर्थनमा उम्मेदवार बनेका हुन् ।

इलाम १ मा पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग एमालेका महेश बस्नेतले मुख्य प्रतिस्पर्धा गर्दैछन् । यो क्षेत्रमा राप्रपा र स्वतन्त्रबाट क्रमशः टिएन शर्मा र विक्रम पाण्डे उम्मेदवार बनेपनि खनालका प्रतिस्पर्धी बस्नेत नै हुने देखिएका छन् ।

यता सरकारमा रहेर पनि प्रमुख प्रतिपक्ष एमालेसँग चुनावी सहकार्य गरेको जसपाका अध्यक्ष उपेन्द्र यादव सप्तरी २ बाट चुनाव लड्दैछन् । यो क्षेत्रमा जनमत पार्टीका सिके राउत पनि उम्मेदवार बनेका छन् । यो क्षेत्रमा एमालेले उपेन्द्र यादवलाई नै सघाउने भनिएको छ । यता गठबन्धनका उम्मेदवार लोसपाबाट जयप्रकाश ठाकुर उम्मेदवार बनेका छन् । उनलाई माओवादी, कांग्रेस र नेकपा समाजवादीको साथ रहनेछ । यसले गर्दा उपेन्द्रलाई ठाकुरले टक्कर दिने देखिएको छ । यद्यपि सप्तरी २ मा सिके राउतको पनि सामान्य प्रभाव रहने भएकाले यो क्षेत्रमा राउतले पाएको मत जीतहारका लागि निर्णायक हुने बताइन्छ ।

महोत्तरी ३ बाट लोसपा अध्यक्ष महन्त ठाकुरसँग जसपाका हरिनारायण यादव र तमलोपाका वृषेशचन्द्र लाल प्रतिस्पर्धा गर्दैछन् । महन्थलाई सत्ता गठबन्धनको साथ रहेको छ भने यादवलाई एमालेको साथ छ । दुवै मधेसवादी दल भएकाले जसपा र लोसपाबीच मुख्य प्रतिस्पर्धा हुने यो क्षेत्रमा यी दुवै दलका मत लालले काट्ने देखिन्छ । यसो हुँदा महन्थ र यादवबीच चर्को प्रतिस्पर्धा हुने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप