बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

असिनाको प्रकोप नभएकाले सुन्तला उत्पादन बढ्ने

मङ्गलबार, २५ असोज २०७९, १२ : ५७
मङ्गलबार, २५ असोज २०७९

व्यावसायिक सुन्तलाखेतीका लागि प्रख्यात बन्दै गएको पर्वतको पाङ्राङका कृषकले यस वर्ष सुन्तला उत्पादन बढ्ने बताएका छन् । 

यस वर्ष कम वर्षा भएको तथा रोग, किरा र असिनाको प्रकोपसमेत नभएकाले सुन्तला उत्पादन बढ्ने अपेक्षा गरिएको श्रीनगर सुन्तला उत्पादक सहकारीका अध्यक्ष तारालाल कुवँरले बताए । गत वर्ष सहकारीमार्फत ८० लाखका सुन्तला बेचेका यहाँका कृषकले यस वर्ष कम्तीमा डेढ करोड भित्र्याउन सफल हुने उनको भनाइ छ । 

“मौसमी अनुकूलताले उत्पादन दोब्बर हुने अपेक्षा छ”, अध्यक्ष कुवँरले भने, “कतिपय कृषकले पाँच लाखभन्दा बढीका सुन्तला बेच्नु हुनेछ । अर्का कृषक तोयराज कुँवर भने, “यो वर्ष राम्रो फल दिएको छ, अब असोजको झरीले असर नगरेमा उत्पादन राम्रो लिनसक्ने आशमा छु”, उनले भने । 
 
परम्परागत तरिकाले मकै र कोदो लगाउने बारीमा सुन्तलाखेती सुरु गरेपछि यहाँका दुई सयभन्दा बढी परिवार खुसी छन् । उपल्लो श्रीकाङ, सात्ले, सुलिकोट मात्रै होइन छिमेकी कुर्घाको ठूलास्वाँरा, नुवाखर्कलगायतका क्षेत्रलाई समेटेर सुन्तला उत्पादनको पकेट ब्लक क्षेत्रका रुपमा विकास गर्न थालिएको छ । हरेक वर्ष खेती बिस्तारको काम भइरहेको छ । सुन्तलाबाट वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्न थालेपछि उनीहरुको जीवनस्तरमा समेत परिवर्तन आउन थालेको छ । गाउँमा उत्पादित सुन्तलालाई श्रीनगर सुन्तला उत्पादक सहकारीमार्फत बेचबिखन गर्न थालेपछि देशका मुख्य मुख्य सहरमा समेत बजार पाउन थालेको छ । उत्पादित सुन्तला पोखरा, काठमाडौँ, बुटवल, विराटनगरलगायतका व्यापरीले गाउँमै आएर खरिद गर्न थालेको अध्यक्ष कुँवरले बताए । 

फलेबास क्षेत्रमा कोल्डस्टोर बनाउने र पर्वतका सबै गाउँको उत्पादन राखेर बेमौसममा बिक्री गर्नसकेमा कृषकलाई धेरै राहत पुग्ने अध्यक्ष कुँवरको भनाइ छ । सुन्तला फल्ने गाउँ सम्म नै पक्की सडक हुनसके ढुवानीका लागि अझै सहज हुने उनको भनाइ छ ।  

कृषि ज्ञानकेन्द्र पर्वतका वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले गत वर्षभन्दा राम्रो फल लागेकाले यस वर्ष उत्पादनमा केही वृद्धि हुने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप