बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

मैले दिएको स्वतन्त्र उम्मेदवारी एमालेकै हितमा छ : प्रभु साह

'एक्कासि बालकोटमा उपेन्द्र यादवलाई देख्दा आश्चर्यचकित भएँ'
बिहीबार, २७ असोज २०७९, १९ : ०४
बिहीबार, २७ असोज २०७९

नेकपा एमालेका स्थायी समिति सदस्य प्रभु साहले रौतहट–३ मा प्रतिनिधिसभा सदस्य पदका लागि स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएर सबैलाई सर्प्राइज दिएका छन् । एमालेले पार्टीको टिकट छोडेर साहले स्वतन्त्र उम्मेदवारी दिनुमा सत्ता गठबन्धनसँगको साँठगाँठको षडयन्त्र भएको टिप्पणी गरेका छन् । पार्टीले यसलाई अराजनीतिक षडयन्त्रको नमुनाको संज्ञा समेत दिएको छ । केही नेताहरूले साहलाई 'सर्प' को संज्ञा समेत लगाएका छन् ।

 साह भने एमाले नेतृत्वसँग नीतिगत असहमतिका कारण आफूहरूले स्वतन्त्र उम्मेदवारी दिनु परेको बताउँछन् । उनले पार्टीको कुनै पनि कमिटीमा छलफल नै नगरी अध्यक्ष ओलीले जसपासँग तालमेलको निर्णय गरेको आरोप लगाए । यसै सन्दर्भमा साहले रातोपाटीका लागि रोहित दाहालले कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंश :

तपाई अहिले नेकपा एमालेको स्थायी कमिटी सदस्य हो कि होइन ? 

अहिले स्वतन्त्र उम्मेदवारी दिएको कारणले म स्वतन्त्र नै छु । 

तपाईं अब एमालेको नेता होइन ? 

कसरी हुन्छ त ? स्वतन्त्र उम्मेदवारी दिएपछि पार्टीको भन्ने हुन्छ ? 

एमाले सिध्याउनका लागि सन्दिग्ध गतिविधिमा तपाईं कहिलेदेखि लाग्नुभयो ? 

त्यो भन्नेलाई नै सोधे राम्रो हुन्छ । हामीले नै हो एमाले पार्टीलाई सुदृढ गरेको । एमालेलाई मधेसमा विस्तार गरेको । मधेसमा एमालेको हैसियत कायम गरेको, यसलाई सिध्याउन हैन बढाउन हिजो पनि लागेको थियौँ, अहिले मैले जुन कदम चालेको छु यो पनि एमाले बचाउने कदम हो । 

एमाले छोडेर एमाले बचाउन लाग्नुभयो ? 

सायद । जसरी मधेसवादी दलसँग जसरी अपवित्र गठबन्धन गर्नुभयो । जसले भागबन्डाको गलत राजनीतिको अभ्यास गरे त्यसलाई रोक्न मैले प्रयास गरेको छु । मेरो यो कदम देश र जनताको पक्षमा छ । कम्युनिस्ट आन्दोलनको पक्षमा छ । एक ढङ्गले भन्ने हो भने एमालेको पक्षमा छ । 

एमाले अध्यक्ष ओली र महासचिव पोखरेलले त भनिसक्नुभयो कि तपाईंले संदिग्ध गतिविधि गरेर सत्ता गठबन्धनतिर लाग्नुभयो । 

हो त्यो मैले सुनेको छु ।

अझ उहाँकै शब्दमा भन्ने हो भने त हरियो सर्प भन्नुभएको छ । कोबाट तपाईं परिचालित हुनुभएको हो ? 

हरियो सर्प पनि भन्नुभयो । यो विषय त उहाँबाटै प्रस्ट पार्न लगाए राम्रो होला । तपाईंहरुको मिडिया मार्फत म सोध्न चाहन्छु कि सन्दिग्ध गतिविधि के के छन्, जनतालाई बताइदिनुस् । एउटा मेरो पनि ओलीजीलाई प्रश्न छ तपाईंले उपेन्द्र यादवसँग जुन साँठगाँठ गर्नुभयो त्यो कसको इसारामा गर्नुभयो ? हामी जान्न चाहन्छौँ । 

पार्टी अध्यक्षले निर्णय गरेपछि त गठबन्धन हुन्छ होला नि त ? 

पार्टी अध्यक्ष त सबै थोक हैन होला नि ? मधेसमा जो जो उम्मेदवार छ, कि त मलाई जसपाको सम्झौताले जितायो भन्नुपर्‍यो । हैन भने उहाँले आफूले गल्ती गरेको त स्वीकार गर्नुपर्‍यो । नेकपा एमालेको निर्णय विपरीत केपी ओलीले गलत सम्झौता गर्नुभयो यो स्विकार्न जरुरी छ । 

तपाईं जसपासँग एमालेले गरेको चुनावी तालमेलबारे असन्तुष्ट हैन त ? 

हो । त्यसबारेको बैठक त उहाँहरूले भित्र भित्र गर्नुभयो तर हस्ताक्षर गर्ने बेला म पनि थिएँ । मैले त्यसको विरोध गरेको हुँ । उहाँले इमानदारीपूर्वक जनताको अगाडि भनिदिनुपर्छ कि प्रभु साहको अडान के थियो ? प्रभु साहको निर्णय के थियो ? 

पार्टी अध्यक्षले नै तपाईंको अडान के थियो भनिरहनुभएको छ त ? 

प्रभु साहले के अडान लिएको थियो भनेर एमाले महासचिव शंकर पोखरेललाई तपाईंको मिडियामा बोलाएर सोध्नुभयो भने थाहा हुन्छ । मैले स्पष्टसँग भनेको छु कि जसपासँगको गठबन्धन न देशको पक्षमा छ न जनताको पक्षमा छ । न एमालेको नै पक्षमा छ । एमालेप्रतिको जुन एउटा आकर्षण थियो, जुन एउटा विश्वास थियो त्यो ध्वस्त भयो । हिजो उहाँले मधेसवादी भनेको साम्प्रदायिक शक्ति हो, यसले देशको एकतालाई खलबलायो, यो कुनै विदेशीको इशारामा चलेको पार्टी हो भन्दै आएको सन्दर्भमा एमालेलाई जसपाले यो मधेस विरोधी पार्टी हो, प्रतिगामी पार्टी हो, एमालेले देशको हित गर्न सक्दैन भनिरहेको सन्दर्भमा एकाएक जब बालकोटमा मैले उपेन्द्र यादवजीलाई देखेँ म आफैँ पनि आश्चर्यचकित भएँ । 

पार्टीको हित हुन्छ भनेर पार्टीले गरेको निर्णय त पार्टीको एउटा सिपाहीले मान्नुपर्छ हैन र ? 

पार्टीले निर्णय गरे त ठीकै छ । पार्टीको केन्द्रीय समितिले त भनेकै छ त एमालेले एक्लै चुनाव लड्छ । तपाईंकै मिडियाले भनेको छ त । 

चुनावमा तालमेल त हुन्छ नि ?

चुनावी तालमेल र गठबन्धन त एउटा कुरा हैन । उहाँहरूले हस्ताक्षर गर्नुभएको छ । आजसम्म हैन भोलिसम्मको यात्रा गर्ने कुरा छ । मधेसको जिम्मा नै जसपालाई लगाइएको छ । भित्री रूपमा मुख्यमन्त्री जसपालाई नै दिने उहाँहरूको सहमति छ । हामीले कुरा बुझेकै छौँ त । यस्तो सम्झौताले देशको भलाई गर्छ र ? अहिलेको देशको स्थिरतालाई यसले सहयोग गर्छ र ? 

तपाईंको जसपासँग यति धेरै मनमुटाव चाहिँ किन ? उपेन्द्र यादवसँग रिस किन ? 

उपेन्द्रसँग हैन । नेपालको राजनीतिलाई मधेसवादी दलले गलत तरिकाले धुमिल बनाएको छ । मधेसवादी दलको गलत क्रियाकलापले हो । मधेसवादी दलको कथित आन्दोलनको नाममा राजनीतिलाई धुमिल बनाए । तपाई हेर्नुहुन्छ भने २०७४ सालमा चुनाव भइराख्दा उपेन्द्र यादव ओलीजीको विरोध गरेर चुनाव लडिराख्नुभएको थियो । चुनाव लगतै ओलीजी उपेन्द्रजीको मन्त्रीमण्डलमा आउनुभयो । 

केही समयपछि देउवाजीको मन्त्रीमण्डलमा जानुभयो । फेरि राष्ट्रपतिको पुत्ला जलाइराख्नुभएको थियो । ओलीजीलाई प्रतिगामी भनिरहनुभएको थियो । फेरि एकाएक ओलीजीसँग आउनुभयो । भोलि फेरि के गर्नुहुन्छ ? यस्तै खेलले हैन देशको राजनीति बिग्रिएको ? 

उपेन्द्रजीलाई एमालेसँग गठबन्धन गर्ने सोचाई कहाँबाट आयो होला ? 

 अवसरवाद जुन प्रवृत्ति छ यसले देशलाई अस्थिर बनाइराखेको छ । त्यसलाई ठिक ट्रयाकमा ल्याउन विशेष गरी मधेसी जनता स्पष्ट भएको थियो कि मधेस बेचुवाहरू जो मधेसलाई कुर्सीसँग साटिरहेका छन्, तिनीहरूबाट मुक्त हुन जरुरी छ । बल्ल बल्ल मधेसी जनता मुक्त हुन खोजिरहेका थिए । आँखा खुलिरहेको थियो । ठ्याक्कै एमालेले रोक्ने, ओलीजीलाई उपेन्द्रले बोक्ने, कुर्सीको लागि जे पनि गर्ने जस्तो देखियो । 

पवित्र राजनीतिमा गठबन्धनको राजनीति गलत छ । निष्ठाको राजनीति गर्नुपर्छ । 

तपाईं एमालेको स्थायी समितिको सदस्य पनि हुनुहुन्छ । मधेस प्रदेशको एमालेभित्रै पनि शक्तिशाली नेताको रूपमा स्थापित हुनुहुन्थ्यो । ठ्याक्कै चुनावको बेलामा टिकट लिएर बेपत्ता भइदिएर त्यति ठुलो पार्टीलाई धोका भएन ? 

हेर्नुस् अब निष्ठाको राजनीति गर्न जरुरी छ । पार्टीको ठुलो ओहदाले मात्रै देश बन्दैन । बनेको पनि छैन । लोकतन्त्रमा निष्ठा, इमानदारिता भन्ने कुरा हराइरहेको छ । लोकतन्त्र भन्ने अनि इमानदारिता हराइरहेको छ । जनउत्तरदायी हुनुको सट्टा अनुत्तरदायी भएर अघि बढिरहेको अवस्था छ । लोकतन्त्र देखाउने, भजाउने दाँत मात्र भयो, चपाउने दाँत अर्कै छ । ट्रयाक बाहिर गएको लोकतन्त्रलाई ट्रयाकमा ल्याउन कसै न कसैले रिस्क मोल्नैपर्ने अवस्था थियो । म यसरी अगाडि बढेँ ।  

त्यस कारण म के भन्छु भने मैले चालेको कदम एकालेको पक्षमा छ, कम्युनिस्ट आन्दोलनको पक्षमा छ, नेपाली राष्ट्रियताको पक्षमा छ, देशको स्थिरताको पक्षमा छ । 

अहिले पनि एमालेको पक्षमा छ ?  

कसरी एमालेको विपक्षमा छ ? प्रभु साहले अस्थिर राजनीतिको विरोध गरेको हो । 

तपाईंले एमालेको टिकट फ्याँकेर स्वतन्त्र रूपमा उम्मेदवारी दिएको कसरी एमालेको पक्षमा हुन्छ ? 

तपाई के बुझ्नुस् भने मेरो क्षेत्रमा जुन नामहरू सिफारिस भएको थियो, एकल नाम थियो, क्षेत्र, जिल्ला, प्रदेशमा पनि त्यहाँ अरू कोही प्रतिस्पर्धी त मैले देखेको छैन । कोही थियो र मैले दिएन भन्ने पनि छैन । अर्को कुरा मैले नेताहरूले भनेअनुसार नै गरिरहेको छु कि तपाईंले गरेको सम्झौता कार्यकर्ताले मान्दैन । जनताले मान्दैन । जनस्तरबाट बहिस्कृत हुन्छ । भित्र मात्र हैन बाहिर पनि भनिरहेको थिएँ । मैले पहिलेदेखि नै भनिरहेको थिएँ, सोसल मिडियामा पनि पहिलेदेखि नै भनेको हो । सबैतिर मनोनयन भयो एमालेको विरुद्धमा हैन कि जसपाको विरुद्धमा । मैले नै त्यसको नेतृत्व गरेँ । पछि मलाई साथीहरूले तपाई अरू साथीहरूलाई सबैतिर स्वतन्त्र मनोनयन गर्ने आफू चाहिँ एक्कासि बालकोटमा उपेन्द्र यादवलाई देख्दा आश्चर्य चकित भएँ  एमालेबाट लड्ने ? भने । यस्तो गर्न मिल्दैन भनेपछि मैले पनि गम्भीर ढङ्गले सोचेँ । नैतिक राजनीतिको कुरा उठाउँदा मैले पनि अनैतिक भएर हिँड्न हुँदैन । त्यस कारण मैले स्वतन्त्र रूपमा मनोनयन दर्ता गरेँ । 

षड्यन्त्रपूर्वक ढङ्गले भन्नलाई कसलाई टिकट दिन खोज्नुभएको थियो र मैले दिइन् ? 

मधेस प्रदेशका सबै उम्मेदवारको टिकट माग्नुभएको थियो रे हो ? मधेस प्रदेशभरि नै एमाले शून्य पार्न खोज्नुभएको थियो रे ? 

रौतहटमै कुनै उम्मेदवारले यस्तो थियो भनेर भन्न सक्दैन । मधेस प्रदेशको टिकट नै हत्याउन खोज्यो रे ? को सँग ? अध्यक्ष ज्यूसँग ? महासचिव ज्यूसँग ? वा एबीसीडी अरू कोही नेताज्यूसँग माग्न गएको थिएँ ? हेर्न त गएको थिइन । जब उहाँहरूले उपेन्द्र यादवसँग हस्ताक्षर गर्नुभयो त्यसपछि मेरो त टिकट माग्ने बाटो नै हरायो । यो के हुँदैछ भनेर म आफैँ पनि घोत्लिएँ । म त आफ्नै टिकट माग्न पनि उहाँहरूसँग गएको थिइन् । 

मलाई साँझ रघुवीर महासेठजीले फोन गरेर तपाईंले रौतहटको टिकट किन लानुभएन भनेर भन्नुभयो मैले म बाहिर छु भनेँ । लानुहुन्न भनेपछि जिल्ला इन्चार्जलाई पठाइदिनुस् भनेँ । यहाँ काठमाडौँ राखिदिन्छु कहिले आउनुहुन्छ लानुस् भन्नुभयो । मैले लगिन । राति उहाँको पिएले घरमा लगेर छोडिदिनुभयो  । भएको यै हो । टिकट हत्याउन खोजे भनेर आरोप लगाए तर म आफ्नै लागि त टिकट माग्न गएको छैन । 

रघुवीर जी र तपाईंबीचको व्यक्तिगत टक्करले पनि यो अवस्था आएको हो ? 

रघुवीरजीको कुरा हैन, एमाले पार्टी कस्तो हो भनेर जब मैले पढेँ, एमालेमा राजनीतिक सोचको, राजनीतिक चरित्रको मान्छे हाबी छैन । व्यापारी व्यवसायीहरूको ठुलो जमघट एमालेको नेतृत्व शक्तिमा छ । जसले गर्दा एमाले ‘स्मुथली’ राजनीतिक अभियान अगाडि बढाउन सकिरहेको छैन । ठुलो पार्टी देखाउने आफ्नो व्यापार चलाउने, पार्टीको ठुलो सतहलाई आफ्नो व्यवसायमा प्रयोग गर्ने अवस्था छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप