आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

चुनाव भएको एक वर्षपछि बल्ल इराकमा सरकार गठनको प्रक्रिया सुरु

शुक्रबार, २८ असोज २०७९, २१ : ०३
शुक्रबार, २८ असोज २०७९

इराकको संसदले बिहीबार कुर्द राजनीतिज्ञ अब्दुल लाटिफ रशिद राष्ट्रपति चुनेसँगै त्यहाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । यो वर्षकै चौथो प्रयासपछि बिहीबार राष्ट्रपति चयन भएका थिए । ७८ वर्षका रसिद सन् २००३–२०१० मा इराकका जलस्रोत मन्त्री थिए । बेलायतमा पढेका र पेसाले इन्जिनियर रसिद कुर्द समुदायका हुन् । 

इराकको राष्ट्रपति पद सेरेमोनियल मात्र हुने गर्छ । त्यहाँ देशको धार्मिक एकता कायम राख्न तीन प्रमुख सम्प्रदायमध्ये कुर्द सम्प्रदायका व्यक्ति राष्ट्रपति हुने, देशको सबैभन्दा ठूलो सम्प्रदाय सिया कार्यकारी प्रमुख अर्थात प्रधानमन्त्री हुने र सभामुख सुन्नी हुने व्यवस्था छ ।

नयाँ राष्ट्रपति चुनिएलगतै उनले मोहमद शिया अल–सुदानीलाई प्रधानमन्त्रीलाई सरकार बनाउन आमन्त्रण गरेका छन् । इराकी संसदको सबैभन्दा ठूलो गठबन्धन ‘कोअर्डिनेसन फ्रेमवर्क’को समर्थन पाएका अल–सुदानीले अब तीस दिनभित्र उनको क्याबिनेट गठन गरेर संसदबाट विश्वासको मत लिनुपर्नेछ । 

५२ वर्षका सुदानीले यसअघि मानवअधिकार मन्त्रालय तथा श्रम तथा समाजिक मामिला मन्त्रालय सम्हालिसकेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीको चयनसँगै इराकमा एक वर्षदेखि कायम राजनीतिक गतिरोध अन्त्य हुने विश्वास गरिएको छ । गत वर्ष अक्टोबरमा भएको आम–निर्वाचनपछि इराकले एक वर्षसम्म राजनीति गतिरोधका कारण राष्ट्रपति र सरकार छान्न सकेन ।

गतवर्ष अक्टोबरमा इराकमा आम निर्वाचन भए पनि पटक पटकको प्रयास पछि पनि सभामुख, राष्ट्रपति तथा सरकार चयनको प्रयास सफल हुन सकेको थिएन । अघिल्लो आम चुनावमा लोकप्रिय शिया मुस्लिम धर्म गुरु मुक्दता अल–सदप्रति बफादार गठबन्धनले सबैभन्दा धेरै ७३ सिट जित्न सफल भएको थियो ।

तर एक वर्षसम्मको प्रयासपछि पनि उक्त गठबन्धनले सरकार गठन गर्न नसकेपछि अगष्टमा अल–सद्रले राजनीतिबाटै सन्यासको घोषणा गर्दै आफूप्रति वफादार सांसदलाई फिर्ता बोलाए । त्यसलगतै अल–सद्र समर्थकले सरकारी कार्यालय तथा संसद कब्जामा लिएर धर्ना बसेका थिए । त्यस समय इराकमा वर्षौंपछि ठूलो हिंसा देखिएको थियो । पछि अल–सद्र आफैले धर्ना बन्द गर्न धम्की दिएपछि उनका समर्थकहरु पछि हटेका थिए । 

त्यसयता देशलाई एक राजनीतिक ट्रयाकमा ल्याउने प्रयास भइरहेको छ । अल–सद्रले राजनीतिमा सन्यास लिने घोषणा गरेयता हालसम्म उनका भावी कदमबारे केही खुलाएका छैनन् । विगतका सल–सद्रका अस्थिर प्रवृत्तिका कारण धेरै उनका समर्थकहरुहरु हिंसात्मक प्रदर्शनमा उत्रिनेमा भयभित थिए । यसले बिहीबारको निर्वाचनमा सुरक्षा व्यवस्था धेरै कडा पारिएको छ । 

अल–सद्रप्रति वफादार गठबन्धन र हाल सरकार गठन गर्ने तयारीमा लागेको इरान समर्थित ‘कोअर्डिनेसन फ्रेमवर्क’ दुवै शिया सम्प्रदाय बहुल भएपनि दुई एकअर्कालाई शत्रुजस्तो व्यवहार गर्छन् । अल–सद्रले पछिल्लो समय आफूलाई इरान विरोधी राष्ट्रवादी शियाका रुपमा विकास गर्दा यो विवाद सुरु भएको हो ।

दुवै समूहहरूसँग आ–आफ्नै मिलिसिया पनि भएकाले तनाब बढ्दै गएर इराक गृहयुद्धमा पो फस्ने होकि भन्ने डर कायम छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप