बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रामेछापमा कान्छाराम र कैलाशबीच टक्कर

कान्छाराम भन्छन् –८० हजार भोट ल्याउँछु, कैलाश भन्छन्– जाँचदेखि डराउँदिन
आइतबार, ३० असोज २०७९, ०७ : ३८
आइतबार, ३० असोज २०७९

रामेछापमा पाँच जना स्वतन्त्र उम्मेदवार सहित मंसिर ४ मा हुन लागेको निर्वाचनमा प्रतिनिधिसभातर्फ २२ जना उम्मेदवार छन् । सत्ता गठबन्धन नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले साझा उम्मेदवार उठाएका छन् । गठबन्धनका साझा उम्मेदवार हुन् नेपाली कांग्रेसका ५७ वर्षीय पुर्ण बहादुर तामाङ ‘कान्छाराम’ ।

गठबन्धनलाई टक्कर दिन मैदानमा उत्रिएका छन्, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का ६२ वर्षीय कैलाश प्रसाद ढुंगेल । राष्ट्रिय प्रजातन्त्र पार्टीका लाल बहादुर घिसिङ, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट देव शंकर पौडेल, नेपाल मजदुर किसान पार्टीका हरिकृष्ण श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीका ३३ वर्षीय रमेश महतेसहित २२ जना निर्वाचनको मैदानमा छन् । 

उम्मेदवार को संख्या धेरै भएपनि प्रतिनिधिसभातर्फ गठबन्धनका उम्मेदवार कान्छाराम र एमालेका उम्मेदवार कैलाश ढुङ्गेलबीच प्रतिस्पर्धा हुने छ । तामाङ २०७४ मा पनि निर्वाचन लडेका थिए । त्यतिबेला ३५ हजार ७ सय ७१ मत ल्याएका उनलाई नेकपा माओवादी केन्द्रका श्याम कुमार श्रेष्ठ ‘कुशल’ले पराजित गरे । तर, अहिले माओवादी केन्द्र उनकै साथमा छ । 

२०७४ मा प्रदेश सभा ‘ख’बाट माओवादी केन्द्रसँग गठबन्धन गरेर चुनाव जितेका कैलाश ढुंगेल बागमती प्रदेशको मन्त्री भए । मन्त्री भएर रामेछापमा सडक पूर्वाधार निर्माणमा उनले योगदान गरेको रामेछापका स्थानीयहरु बताउँछन् । अहिलेसम्म कुनै पदमा नपुगेपछि निर्माण व्यवसायी पृष्ठभूमिबाट राजनीतिमा आएका तामाङले अनुदानमा गाउँ–गाउँमा एम्बुलेन्स पठाएका छन् । 

दुर्घटना र प्राकृतिक प्रकोप आउँदा उद्दार र उपचारमा चासो राख्ने तामाङले भर्खरै हेलिकप्टर कम्पनी संचालनमा ल्याएका छन् । उनी अध्यक्ष रहेको ‘अन्नपूर्ण हेलिकप्टर’ले असोज २५ बाट रामेछाप सदरमुकाम मन्थलीमा पहिलो उडान भरेर व्यवसायिक उडान सुरु गरेको छ ।

विपन्न परिवारलाई समस्या पर्दा निःशुल्क हेलिकप्टरबाट उद्दार उडान गर्ने तामाङले बताए । रातोपाटीसँग उनले भने, ‘विपन्नसँग पैसा लिन्नँ, अरुसँग लागत मुल्य लिएर उद्दारमा सेवा दिन्छु ।’ 

अहिले ५ सिट क्षमता भएको एउटा इक्वेरल हेलिकप्टरले उडान सुरु गरेको छ । ३ महिनामा कम्पनीले २ वटा हेलिकप्टर संचालनमा ल्याउने उनको भनाइ छ । तामाङ र ढुङ्गेलबीच प्रतिस्पर्धा हुनुमा २०७९ वैशाख ३० मा सम्पन्न स्थानीय चुनावमा वडा अध्यक्षहरुले पाएको मतभारलाई आधार मानिएको छ । स्थानीय चुनावमा कांग्रेसबाट चुनाव लडेका वडा अध्यक्षहरुले ४१ हजार ५१ मत पाए । नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार ले ३९ हजार भोट ल्याएका थिए । नेकपा (माओवादी केन्द्र)का उम्मेदवार ले २७ हजार मत पाएका थिए । 

स्थानीय तहको मतभारको आधारमा माओवादी केन्द्र र कांग्रेसका साझा उम्मेदवार तामाङलाई सहज देखिन्छ । तर, स्थानीय तहको चुनावमा गठबन्धनको मतभार धेरै देखिएपनि अहिले परिस्थिति बदलिएको ढुंगेलको दाबी छ । रातोपाटीसँग कुरा गर्दै ढुंगेलले भने–‘पछिल्लो ६ महिना यताको राजनितिक परिदृश्य र घटनाले सो मतभारलाई चिर्न सक्छ भन्ने मलाइ लाग्छ ।’

पूर्व सांसद देव शंकर पौडेल पनि चुनावको मैदानमा छन् । नेकपा (एमाले) छाडेर एकीकृत समाजवादीबाट चुनाव लडेका ६२ वर्षीय पौडेल रामेछापमा इमान्दार छवि बनाएका राजनीतिज्ञ हुन् । उनले ढुंगेलकै भोट काट्नेछन् । 

कान्छाराम भन्छन्– ८० हजार भोट ल्याउँछु

२०७४ मा पराजय व्यहोरेका कान्छारामले यसपटक मुख्य प्रतिस्पर्धी​लाई चुनौति नै मानेका छैनन् । ‘चुनावमा आ–आफ्नो तरिकाले जाने हो, अर्कालाई चुनौति किन ठान्ने र ?,’ कान्छारामले भने, ‘आफ्नो भोट माग्ने आफूले जित्ने हो, उहाँ (कैलाश ढुंगेल) मन्त्री भैसक्नुभएको मान्छेबारे व्यक्तिगत आलोचना गर्दिनँ ।’ 

स्थानीय तह निर्वाचनमा भन्दा करिब ७ प्रतिशत मत थोरै खस्ने कान्छारामको आंकलन छ । ‘सात प्रतिशत कम भोट खस्दा पनि मेरै मत अगाडि हुन्छ,’ उनि भन्छन्, ‘८० हजार भोट ल्याएर जित्छु ।’ 

रामेछापमा स्थानीय तह निर्वाचन पछि ४ हजार ९ सय मतदाता थपिएका छन् । १ लाख २१ हजार मतदाता मध्ये १ लाख ७ हजार मत खस्ने गठबन्धनको आंकलन छ । ‘रामेछाप विकास मेरो एजेन्डा हो, ’ कान्छाराम भन्छन्, ‘अरुको जस्तो घर र गाडी किन्नुपर्ने मेरो अवस्था छैन्, चुनाव जितेर विकास गर्छु ।’  

गठबन्धनले असोज ३१ बाट लिखु तामाकोशी गाउँपालिकाको नागदहबाट चुनावी कार्यक्रम शुरु गर्ने भएको छ । नागदह, सैपु र भुजि हुँदै गाउँ–गाउँमा चुनावी कार्यक्रम गर्ने गठबन्धनको योजना छ । 

गाउँमै छु, जाँचदेखि डराउँदिन : ढुंगेल 

कैलाश ढुंगेलका अगाडी गठबन्धन चुनौति देखिएको छ । तर, राजनीतिमा चुनौति आउने र त्यसलाई सामना गर्नुपर्ने बताउँछन् उनी । ढुंगेलले भने, ‘चुनौति सामना गर्न सक्नुपर्छ भन्ने उच्च राजनितिक मान्यता बोक्ने मान्छे हुँ, अहिलेसम्म चुनौति झेलेरै आएको छु ।’ 

रामेछापको सामाजिक, आर्थिक र भौतिक विकासको क्षेत्रमा ‘के गर्छु, के गर्दिनँ’ भनेर आफुले जाँच दिएका उल्लेख गर्दै उनले भने–‘यस्ता चुनौति परास्त गर्न सक्छु भन्ने मेरो दृढ विश्वास छ ।’ 

बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री हुँदा सडक पूर्वाधारको विकासमा योगदान गरेका ढुंगेलले त्यसअघि पनि जिल्लाको विकासमा लागि परेको बताउँछन् ।

‘रामेछापको आवधिक योजनाको सृष्‍टिकर्ता त्यसलाई राष्ट्रिय तहमा लगेर भोलिको रामेछापको योजना कोर्ने मान्छे मै हुँ’ उनि भन्छन्–‘ प्रदेश अर्थमन्त्री हुँदा जिल्ला भरिका रोडको म्यापीङ गर्ने र कृषि आधुनिकीकरणको सुरुवात गरेको छु ।’ 

कृषि क्षेत्रमा चिस्यान केन्द्रको स्थापना, बजारीकरण, आधुनिकिकरण र यान्त्रीकरणको जग बसालेको उनको दाबी छ । उनले भने–‘हाम्रो पहलमा खेलकुद क्षेत्रमा रामेछापमा तेक्वान्दोको राष्ट्रिय स्तरको कभर्डहल बनाउन शुरु भएको छ ।’ 

आफ्नो जितको आधार पार्टी प्रतिको निष्ठा, अनुभव र संगठनको तागत  भएको उल्लेख गर्दै ढुंगेलले भने, ‘अझै बाँकी रहेका काम पुरा गर्न मेरो उम्मेदवारी हो ।’ 

निर्वाचन कार्यक्रममा आफु गाउँमै रहेको उल्लेख गर्दै ढुंगेलले भने–‘जाँचदेखि डराउँदिन, राम्रा विद्यार्थी सँधै पढ्नुपर्छ  तर, चिट चोर्नेहरू जाँचको अघिल्लो दिन चिट चोर्न थाल्छन् । गठबन्धनहरू चिट लेख्न थालेका छन् ।’ 

मैदानमा २२ जना 

चुनावको मैदानमा कैलाश र कान्छाराम मात्र छैनन् । स्वतन्त्र सहित २२ जना प्रतिनिधिसभा निर्वाचनको मोर्चामा छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका लाल बहादुर घिसिङ,  नेपाल मजदुर किसान पार्टीका हरिकृष्ण श्रेष्ठ, नेपालक कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)बाट देव शंकर पौडेल, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीका रमेश महते, नागरिक उन्मुक्ति पार्टीबाट धरम बहादुर तामाङ र  राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका जितेन कुमार श्रेष्ठ मैदानमा छन् । 

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सबादी लेनिनबादी)का मोहन कार्की,  मंगोल नेशनल अर्गनाइजेशनबाट भक्त बहादुर थापा मगर, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका साङगे शेर्पा,  नेश्नलिस्ट पिपल्स पार्टीका सुवास घिसिङ, नेपाली कांग्रेस बीपीको तर्फबाट केदार खड्का र राष्ट्रिय समाजवादी पार्टी नेपालबाट रुद्र बहादुर पुलामी मगरले उम्मेदवारी दिएका छन् । 

नेपाली जनता दलबाट बावुराम तामाङग, जनता समाजवादी पार्टी नेपालका विष्णु प्रसाद काफ्ले, राष्ट्रिय स्वतन्त्र पार्टीबाट समिक्षा श्रेष्ठ तथा स्वतन्त्रबाट रामकुमार लामा, आङछोङबा शेर्पा, कृष्ण बहादुर भुजेल, चन्द्र बहादुर राउत र विक्रम राना निर्वाचनको मैदानमा छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप