सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

सर्लाही–४ मा सत्ता गठबन्धनलाई अमरेश–शिवपुजन फ्याक्टर मुख्य चुनौती

अमरेश या मधुमाला, कसले मार्ला बाजी ?
आइतबार, ३० असोज २०७९, २१ : १८
आइतबार, ३० असोज २०७९

प्रतिनिधिसभा अन्तर्गत सर्लाही–४ नम्बर क्षेत्रको चुनाव रोचक हुने भएको छ । त्यहाँ सत्ता गठबन्धन र जसपा–एमाले गठबन्धनबीच प्रतिस्पर्धाभन्दा पनि बागी उम्मेदवारको बीचमा प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।

सो क्षेत्रमा जसपा–एमाले गठबन्धनबाट जसपाका राकेश मिश्रले प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका छन् भने सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका नागेन्द्रकुमार यादव उम्मेदवार छन् । तर यहाँ सत्ता गठबन्धनबाटै बागी बनेर दुई जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

सर्लाही–४ का लागि अमरेशकुमार सिंहले कांग्रेसबाट उम्मेदवार बन्न नपाएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । अर्कोतिर माओवादी केन्द्रका नेता शिवपुजन राय यादवले पनि आफ्नो तर्फबाट छोरी मधुमाला कुमारी यादवलाई स्वतन्त्रमै उम्मेदवारी दिन लगाए ।

शिवपुजन र अमरेशबीच राम्रो सम्बन्ध छैन । २०६४ को संविधानसभा चुनावमा शिवपुजन रायले महन्थ ठाकुर र अमरेश सिंह दुवै जनालाई पराजित गरेका थिए । २०७० को चुनावमा अमरेश सिंहबाट शिवपुजन पराजित भएका थिए ।
२०७४ को प्रतिनिधिसभा चुनावमा शिवपुजनमाथि रातो पासपोर्टको मुद्दा भएको कारण अन्तिम समयमा आएर उनको उम्मदवारी खारेज भयो । शिवपुजनको उम्मेदवारी खारेज भएपछि अमरेशले चुनाव जितेका थिए । उम्मेदवारी खारेज भए पनि शिवपुजनले ६ हजार मत पाएका थिए ।

सोही मुद्दाका कारण शिवपुजन यसपटक पनि चुनाव उठ्न पाएनन् । त्यही भएर माओवादी केन्द्रले उनकी श्रीमती अमेरिकादेवी रायलाई समानुपातिक उम्मेदवारको बन्द सूचीमा प्राथमिकतामा राख्यो । सुरुमा अमरेश सिंहले पार्टीबाट टिकट पाउँदैनन् भन्नेमा शिवपुजन ढुक्क थिए । त्यही भएर सो क्षेत्रमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रले टिकट लिने प्रयास पनि गरेन । शिवपुजन आफ्नी श्रीमतीलाई समानुपातिकमा राखेर चुपचाप भए ।

जब अमरेशले स्वतन्त्र उम्मेदवारी दिए, अनि शिवपुजनले आफ्नै छोरीलाई स्वतन्त्रमा उम्मेदवारी दिन लगाए । अमरेशलाई हराउनकै लागि उनले आफ्नो छोरीलाई स्वतन्त्रमा उठाएको स्थानीयस्तरमा चर्चा छ । शिवपुजनले छोरीलाई उम्मेदवार बनाएपछि गठबन्धनमा असर पर्ने भन्दै माओवादी केन्द्रले मधुमालाको उम्मेदवारी फिर्ता लिन पटकपटक भनेको छ । तर उनले उम्मेदवारी फिर्ताको घोषणा गरेकी छैनन् ।

शिवपुजन भन्छन्, ‘मैले आफ्नो छोरीलाई उम्मेदवारी फिर्ता लिन लगाएमा एमाले–जसपा गठबन्धनका उम्मेदवारले जित्छन् । त्यही भएर छोरीको उम्मेदवारी कायम राखेको छु ।’ सो क्षेत्रका जनता अमरेश कुमार सिंहप्रति रुष्ट रहेको र आफूले छोरीलाई स्वतन्त्रमा उम्मदवारी दिन नलगाएको भए ती सबै मत जसपा–एमाले गठबन्धनको उम्मेदवारलाई जाने उनको तर्क छ ।

उनले भने, ‘अमरेश सिंहले उम्मेदवारी दिएपछि करिब पाँच हजार जनता मेरो घरमा आएका थिए, उनीहरुले आफ्नो मत एमालेलाई जान्छ भनेपछि बाध्य भएपछि सो मत एमाले–जसपा गठबन्धनमा जानबाट रोक्न छोरीलाई उम्मेदवार बनाएको हुँ, यो कुरा सत्ता गठबन्धनका उम्मेदवार नागेन्द्र यादवलाई पनि थाहा छ ।’

यसअघि स्थानीय तहको चुनावमा उनका छोरा राजाबाबु यादव माओवादी केन्द्रको तर्फबाट रामनगर गाउँपालिकाको अध्यक्षमा विजयी भएका थिए । उनी आफ्नो छोरी विजयी हुनेमा ढुक्क छन् । त्यहाँ अमरेश र शिवपुजन बीच जातीय द्वन्द्व छ । राजपुत, भुमिहार, कायस्थको भोट अमरेशसँग छ भने यादवलगायत केही मलाह, विन जातको मत शिवपुजनसँग छ ।

सो क्षेत्रमा एकलाख २५ हजार मतदाता छन् । त्यसमध्ये ३२ हजार यादव छन् । रामनगर गाउँपालिका एक स्थानीयले भने, ३२ हजार मतमध्ये १०–१२ हजार मत शिवपुजनको आफ्नो मत हो, त्यो मतलाई शिवपुजनले जहाँ पनि डाइभर्ट गर्न सक्नुहुन्छ ।’

तर यसपटक उनलाई केही जोखिम छ । यसअघि अमरेश र शिवपुजनबीच मात्र प्रतिस्पर्धा हुँदा यादवको मत लिएर शिवपुजन बाजी मार्थे तर यसपटक नागेन्द्र यादव पनि यादव समुदायबाट उम्मेदवार बनेका छन् । नागेन्द्र यादवले शिवपुजनको मत कट्ने एक स्थानीय नेताले बताए । त्यहाँ दुईवटा गठबन्धन चुनाव लडे पनि प्रतिस्पर्धा अमरेश सिंह र शिवपुजनका छोरी मधुमाला कुमारीबीच हुने ती नेताको भनाइ छ ।

२६ वर्षकी मधुमालाले बीएससी नर्सिङ पढेकी छिन् । उनी भन्छिन्, ‘बालेन शाह राजनीतिक पृष्ठभूमिबाट नआएपनि यत्रो गरिरहनु भएको छ भने मेरो त पुस्तौंको राजनीतिक पृष्ठभूमि हो, त्यसैले म चुनाव जित्छुजस्तो लाग्छ ।’ आफूले आफ्नो बुबाबाट राजनीति सिकेको बताउँदै उनले सर्लाहीमा कुनै नेताले गर्न नसकेको काम आफूले गरेर देखाइदिने दाबीसमेत गरिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप