बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय बजारमा नेपाली उपभोक्ताको पहुँच रोकेर व्यापार बढाउने व्यवसायीको दाउ

बुधबार, ०२ कात्तिक २०७९, २१ : ११
बुधबार, ०२ कात्तिक २०७९

-भुवन कार्की
रुपन्देहीका उद्योगी व्यवसायीले नेपाल–भारतका सीमा नाकामा कडाइ गर्नुपर्ने माग गर्दै नेपालबाट सीमा नाका सुनौलीमा बजार गर्न जाने उपभोक्तालाई रोक्न खोजेको भन्दै स्थानीयस्तरमा विरोध हुन थालेको छ । उपभोक्ताले भारतीय बजारमा सस्तो मूल्यमा सामान पाइने तर नेपाली बजारमा त्यही सामान महँगोमा किन्नु पर्ने अवस्थालाई सीमावर्ती बजारसम्मको पहुँचले केही राहत दिएको अवस्थामा नेपाली व्यवसायीले त्यसको विरोध गर्नु अनुचित रहेको बताएका छन् ।

सुनौली बजार पुगेर फर्किदै गरेका रुपन्देही, तिलोत्तमाका तिलक परियारले भने, ‘नजिकको भारतीय बजारमा सामान सस्तो पाइन्छ, के हामीले सस्तो सामान किन्न नपाउने ?’ उनले थपे, ‘के नेपालका व्यापारीलाई कमाई बढाइदिन हामीले उनीहरुकै दुकानमा किनिदिनुपर्ने ?’

परियारले सीमा नाकामा कडाइ गर्न लगाएर नेपालका केही उद्योगी व्यापारीले उपभोक्ताको अधिकार खोस्न खोजेको बताए । अर्का उपभोक्ता बिमला पराजुलीले पनि सीमा नजिकका भारतीय बजारमा नेपाली उपभोक्ताको पहुँचले यो महँगीमा थोरैमात्र भए पनि राहत मिलेको तर्क गरिन् । उनले भनिन्, ‘हामी पनि रहरले अर्काको देशमा किन्न गएका होइनौं, केही समान सस्तो हुने भएरै आएका हौं, हामीलाई कसैले रोक्न पाउँदैन, यो हाम्रो अधिकार हो ।’

नेपाली उपभोक्ताहरु स्थानीय उद्योगी व्यवसायीले भारतीय सीमा क्षेत्रका बजारमा नेपाली उपभोक्ताको पहुँच रोकेर जथाभावी मूल्य तोकेर सामान बेच्न पाउने अभिलाषा पालेको बताउँछन् । ‘नेपाली बजारमा कहिले कृत्रिम अभाव सिर्जना गरिएको हुन्छ, कहिले मनपरी मूल्य तोक्ने गरिएको हुन्छ,’ स्थानीय उपभोक्ता बलराम केसी भन्छन्, ‘भारतीय बजारमा त्यही सामान सुलभ मूल्यमा पाइन्छ, अनि नेपाली बजारमा जानाजान महँगो सामान कसले किनोस् ?’

भैरहवाका उद्योगी व्यवसायीले रुपन्देहीका सीमा नाका बेलहिया लगायत अन्य सीमा नाकालाई व्यवस्थित र कडाइ गर्नुपर्ने माग गरेर प्रशासन कार्यालय र भन्सार कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले नेपाली उपभोक्तालाई सुनौली बजार जान रोक्ने प्रयास गरेपछि उपभोक्ताले त्यसको विरोध जनाएका हुन् ।

मंगलबार पनि भैरहवाका केही उद्योगी व्यवसायीले भैरहवा भन्सार कार्यालयका प्रमुख मणिराम पौडेललाई ज्ञापनपत्र बुझाउँदै सीमामा कडाइ गर्न माग गरेका थिए । उनीहरुले न्यूनतम एक हजार रुपैयाँभन्दा माथिको सामान ल्याउँदा अनिवार्य भन्सार गराउनुपर्ने, खुला सीमा लगायत भन्सार नाकामा सीसीटीभी क्यामेरा चौबीसै घण्टा चालु अवस्थामा राख्नुपर्ने तथा सीमा नाकामा एकतर्फबाट जाने र एकतर्फबाट आउने व्यवस्था गर्नुपर्ने लगायतका माग गरेका छन् ।

विवाह, व्रतबन्ध, चाडपर्व लगायतमा सीमा पारी गएर सामान ल्याउनेको लर्को लागेको र आफूहरुको व्यापार कम भएको भन्दै उनीहरुले यस्तो माग गरेका हुन् । तर उपभोक्ताले भने उनीहरुको व्यापार कम भयो भनेर सीमा नाकाको बजार जान रोक्नु उपभोक्ता अधिकारको विपरीत भएको भन्दै विरोध जनाएका छन् ।

उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष समुन्द्र जीसीले नेपाल सरकारले निषेध नगरेको जुनसुकै बजारमा पनि किनमेल गर्न पाउने उपभोक्ताको अधिकार भएको उल्लेख गरे । उनले भने, ‘हुन त कतिपय बस्तु भारतीय सुनौली बजारभन्दा नेपालमै सस्तो र गुणस्तरीय पाउन सकिन्छ तर उपभोक्ताले जुनसुकै बजारमा गएर किनमेल गर्न पाउनु उनीहरुको अधिकार हो ।’

यसअघि सीमा नाकामा कडाइ गर्न माग गर्दै भैरहवाका व्यवसायीले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई ज्ञापनपत्र बुझाएका थिए । केही व्यवसायी सीमामा कडाइ गर्न हारगुहार गरिरहेको भए पनि नेपाली व्यापारीकै मिलेमतोमा उपभोग्य सामानहरु सीमा वारपार हुने गरेको कतिपयको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप