आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

ओलीका कारण चाहे जति काम हुन सकेन: बलदेव

शनिबार, ०५ कात्तिक २०७९, १३ : ५८
शनिबार, ०५ कात्तिक २०७९

आगामी मङ्सिर ४ गतेको निर्वाचनको लागि कपिलवस्तुको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार चक्रपाणि खनाल (बलदेव) ले एमालेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कारण वाम गठबन्धनले पाँच वर्षको अवधिमा जनचाहना अनुसारका सबै काम हुन नसकेको बताएका छन् । वाम गठबन्धन बनाएर दुई तिहाइको सरकार बनाए पनि ओलीकै कारण अपेक्षित रूपमा काम हुन नसकेको स्वीकार गरेका हुन् ।

गठबन्धनको वाणगंगा वडा नं. ४ गजेहडामा शनिबार प्रचारप्रसार तथा सम्पर्क कार्यालयको उद्घाटन गर्दै जनताले भने जसरी मुलुक विकास नहुनुको प्रमुख कारण ओलीको तानाशाही प्रवृत्ति भएको बताए । पाँच वर्षमा धेरै केही काम गर्न नसके पनि एउटा महत्त्वपूर्ण काम भने गरेको उनले उल्लेख गरे । उनले भने, ‘ओलीराज र उनको तानाशाहले संविधान च्यात्ने र मास्ने काम गरिरहेको थियो, त्यसलाई बचाउन दलहरू मिलेर गठबन्धन बनायौँ, यही गठबन्धनले संविधान जोगाउन सफल भएको छ ।’

नेकपा माओवादी केन्द्रका सचिव तथा पूर्व कृषि मन्त्रीसमेत रहेका बलदेवले आफू सांसद भएर हिजो गर्न नसकेका कामहरू अब जितेर पुरा गर्ने बताए । बलदेवले आफूहरू ०७४ सालदेखि नै गठबन्धनमा रहेकाले आश्चर्य नमान्न आग्रह गरेका छन् ।

‘हिजो ओलीसँग गठबन्धन गरेर गल्ती गरिएछ, अब अहिलेको पाँच दल यस्तो गल्ती गर्दैन, देउवा, प्रचण्ड, माधव, चित्रबहादुर मिलेर मुलुकलाई विकासको गतिमा लैजानुहुन्छ, हामी लैजान्छौँ । चिन्ह हेरेर होइन गठबन्धनको मर्म बुझेर मतदान गर्नुहोला । गाउँगाउँमा कार्यकर्ता तहमा यसको सन्देश दिनुहोला,’ बलदेवले भने । कार्यक्रममा क्षेत्र नम्बर १ ‘क’ का प्रदेश सभा सदस्य उम्मेदवार डोलकराम घिमिरे, जिल्लाका चुनावी कमान्डर अतहर कमाल मुसलमान लगायतको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप