सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

चीनको नयाँ पोलिटब्युरो समिती : यी हुन् आगामी पाँच वर्षका सीका सात सारथी

आइतबार, ०६ कात्तिक २०७९, २० : २०
आइतबार, ०६ कात्तिक २०७९

चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो नयाँ पोलिटब्युरो स्थायी समिति (पीएससी) अनावरण गरेको छ । सात सदस्यीय यस निकाय चीनको राजनीतिक शक्तिको सबैभन्दा शिर्ष निकाय हो । 

चिनियाँ कम्युनिष्ट पार्टीको एक सातासम्म चलेको महाधिवेशनपछि यो देशको सर्वोच्च निर्णय गठन भएको हो । समितिका सबै सदस्यहरू सीका समर्थक र सहयोगी छन् । यसलाई पार्टीमा सीको बढ्दो प्रभावको थप प्रमाण भएको रुपमा हेरिएको छ । जेष्ठताको आधारमा आगामी पाँच वर्षसम्म चीनमा शासन गर्ने सदस्यहरु निम्न बमोजिम छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी
६९ वर्षीय सी कम्युनिष्ट पार्टीको महासचिवमा तेस्रो कार्यकालको लागि पुनः निर्वाचित भएका छन् । आगामी मार्चमा हुने सरकारको वार्षिक विधायकी सत्रमा उनी चिनियाँ राष्ट्रपतिको रूपमा तेस्रो कार्यकालका लागि चुनिने प्रक्षेपण छ । सीले सन् २०१८ मा राष्ट्रपतिको दुई–कार्यकालको सीमा खारेज गरेपछि अहिलेको तेस्रो कार्यकालको लागि बाटो खुलेको थियो । 

सन् २०१२ मा पहिलो पटक महासचिव नियुक्त भएका सीले त्यस यता व्यापक भ्रष्टाचार विरोधी अभियानमार्फत शक्ति सुदृढ गरेका छन् । उनको शासनमा चीनको आत्मविश्वास बढेको विश्वास गरिन्छ । उनले देशको सेनाको सुदृढीकरणका अतिरिक्त हङकङ तथा सिनजियाङमाथिको पकड बलियो बनाएका छन् । 

ली छियाङ
ली छियाङ सन् २०१७ देखि चीनको सबैभन्दा ठूलो र वित्तीय सहर सांघाइको पार्टी सचिव थिए । पार्टी पदानुक्रममा दोस्रो नम्बरमा पदोन्नतिले आगामी मार्चको विधायी सत्रमा उनलाई प्रधानमन्त्रीको रूपमा नियुक्त गर्ने सम्भावना छ । यदी उनी प्रधानमन्त्री नियुक्त भए भने उनी विगतमा कुनै सरकारी अनुभव बिनै प्रधानमन्त्री चयन हुने नेता हुनेछन् । 

यो वर्षको सुरुमा उनले सांघाईमा कोरोना नियन्त्रणका लागि लकडाउन लगाएर अलोकप्रिय बनेपछि उनको स्थायी कमिटीमा चयनमाथि अंशका उत्पन्न भएको थियो । तथापि सीको नजकीको कारण उनी स्थायी समितिमा तानिएका छन् । सन् २००४ र २००७ को बीच सी जिनपिङ झेजियाङ प्रान्तको पार्टी प्रमुख हुँदा ली उनका चिफ अफ स्टाफ थिए । त्यही समयदेखि दुई जनाबीच सम्बन्ध राम्रो भएको मानिन्छ ।

झाओ लेजी
सन् २०१७ देखि, झाओ लेजीले अनुशासन निरीक्षणको केन्द्रीय आयोगको नेतृत्व गरेका थिए । यस आयोगले भ्रष्टाचार तथा अन्य खराबीविरुद्ध अनुगमन गर्ने भएकाले पार्टी सदस्यमाझ यो निक्कै अलोकप्रिय छ । ६५ वर्षिय झाओले सीको भ्रष्टाचारविरोधी अभियानको क्रममा उनले सीको आदेश अक्षरश पालना गरेको मानिन्छ । झाओ चीनको संसद ‘नेशनल पीपुल्स कांग्रेस’को सभामुख हुने लाइनमा रहेको चर्चा छ । अनुभवी प्रशासक मानिने झाओ सन् २०१२ देखि दुई प्रदेशको पार्टी सचिव र पोलिटब्युरो सदस्य रहिसकेका छन् ।

वाङ हुनिङ
पार्टीका राजनीतिक सिद्धान्तकार मानिने वाङ हुनिङ सन् २०१७ देखि नै पोलिटब्युरो स्थायी समितिको सदस्य छन् । उनले सीको सबैभन्दा महत्वपूर्ण सल्लाहकारको पहिचान बनाएका छन् । ‘सत्ताको दिमाग’ पनि भनिने ६७ वर्षीय पूर्व विश्वविद्यालय प्राध्यापक वाङले वर्तमान र पूर्व गरेर तीन चिनियाँ राष्ट्रपतिलाई सिद्धान्त निर्माणमा सघाईसकेका छन् । सीको ‘चिनियाँ सपना’ नाराका वास्तुकार पनि उनी नै रहेको बताइन्छ । 

काई सी
बेइजिङ नगरका वर्तमान पार्टी प्रमुख काइ सीलाई स्थायी समितिमा बढुवा गरिएको छ । साथै उनलाई पार्टीको दैनिक कामकाजको व्यवस्थापन गर्ने सचिवालयको प्रमुख बनाइएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ । झेजियाङ र फुजियान प्रान्तमा सीको नेतृत्वमा काम गरेको कारणले ६६ वर्षीय काईलाई सीको नजिकको राजनीतिक सहयोगीका रूपमा हेरिन्छ । 

फुजियानका मूल निवासीलाई काईलाई पार्टीका प्रमुख बुद्धिजीवीहरू मध्ये एक मानिन्छ । उनको फुजियान नर्मल विश्वविद्यालयबाट राजनीतिक अर्थशास्त्रमा विद्यावारिधि हासिल गरेका काईले आफूलाई सक्षम प्रशासक पनि प्रमाणित गरेका छन्।

दिङ सुयसियाङ
सन् २०१७ देखि पार्टीको सबैभन्दा महत्वपूर्ण प्रशासकीय निकाय जनरल अफिसको प्रमुखको रूपमा दिङ सुयसियाङको सूचना र अधिकारीमाथि व्यापक पहुँच थियो । महासचिवका रुपमा सीले भाग लिने संवेदनशील बैठकमा पनि दिङले भाग लिने गरेकाले उनलाई केहीले ‘सीको चीफ अफ स्टाफ’ समेत भन्ने गर्छन् । ६० वर्षीय दिङले प्रान्तीय स्तरको पार्टी नेतृत्व वा गभर्नरको रूपमा कहिल्यै काम गरेका छैनन् । उनको नियुक्तिलाई सीप्रतिको निष्ठाको पुरस्कार बताइँदैछ । सी सन् २००७ देखि २००८ मा सांघाई पार्टी कमिटीको नेतृत्वमा रहदाँ दिङ त्यही थिए । त्यस समय दुई जनाबीच राम्रो सम्बन्ध विकास भएको थियो । पछि उनी २०१३ मा सीको निजी सचिवको रूपमा काम गर्न बेइजिङ गए।

लि सी
वर्तमान पोलिटब्युरो सदस्य र चीनको आर्थिक पावरहाउस ग्वाङदोङ प्रान्तको पार्टी प्रमुख लि सीलाई स्थायी समितिमा बढुवा गरिएको छ । धेरैले पहिले नै उनको बढुवाको अनुमान गरेका थिए । सिन्ह्वाले जारी गरेको सूचीमा ६६ वर्षीय ली पार्टीको शक्तिशाली भ्रष्टाचार विरोधी ‘अनुशासन निरीक्षणका लागि शक्तिशाली केन्द्रीय आयोग’को प्रमुखमा नियुक्त भएको पुष्टि भएको छ । सीका विश्वासपात्र मानिने लीले सीको पुर्ख्यौली प्रान्त शान्सीमा राम्रो आधार बनाएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप