मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देही–२ मा सत्ता गठबन्धन तोडेको राष्ट्रिय जनमोर्चाको कति छ मत ?

शुक्रबार, ११ कात्तिक २०७९, १५ : ३२
शुक्रबार, ११ कात्तिक २०७९

सत्तारुढ गठबन्धनमा आबद्ध रहेको राष्ट्रिय जनमोर्चाले रुपन्देही–२ का सन्दर्भमा भने गठबन्धन तोडेको छ । सत्तारुढ गठबन्धनले रुपन्देही–२ मा राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन जनाउने निर्णय गरेकोमा राष्ट्रिय जनमोर्चाले उक्त निर्णय नमान्ने घोषणा गरेको हो ।

राष्ट्रिय जनमोर्चाको यस्तो निर्णयपछि कतिपयले सत्तारुढ गठबन्धनमा फाटो आएको टिप्पणी गरिरहेका छन् भने कतिपयले सो क्षेत्रमा नयाँ समीकरणले कस्तो प्रभाव पार्ला भन्ने जिज्ञासासमेत राख्ने गरेका छन् । उक्त क्षेत्रमा सत्तारुढ गठबन्धनको उम्मेदवारी नभएपछि राष्ट्रिय जनमुक्तिका उम्मेदवारलाई सघाउने निर्णयमा गठबन्धन पुगेको हो । सो क्षेत्रमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार छन् ।

राष्ट्रिय जनमोर्चाले सत्तारुढ गठबन्धन तोडेपछि रुपन्देही–२ को अंक गणितमा कस्तो प्रभाव पर्ला भन्नेबारे चासो बढ्नु स्वाभाविक हो । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा रुपन्देही–२ अन्तर्गतका वडामा राष्ट्रिय जनमोर्चा पार्टीबाट वडा अध्यक्ष पदका उम्मेदवारले पाएको मत हेर्ने हो भने राष्ट्रिय जनमोर्चाको प्रभाव निकै न्यून देखिन्छ ।

उक्त क्षेत्र अन्तर्गत विभिन्न पालिकाका २३ वटा वडाबाट राष्ट्रिय जनमोर्चाले जम्मा ११४ मतमात्र प्राप्त गरेको छ । जबकि, सो क्षेत्र अन्तर्गतका वडाबाट सत्तारुढ गठबन्धनमा रहेका दल नेपाली कांग्रेसले ३४ हजार ९५९, नेकपा माओवादी केन्द्रले ३ हजार १८८, नेकपा एकीकृत समाजवादीले एक हजार ३८२ मत प्राप्त गरेका छन् ।

सो क्षेत्रमा नेकपा एमालेको ३३ हजार १८७, राप्रपाको ३ हजार ९२० र जसपाको १८३ मत देखिन्छ ।

यस आधारमा राष्ट्रिय जनमोर्चाबाहेक नै सत्तारुढ गठबन्धनसँग सो क्षेत्रमा ३९ हजार ५२९ मत देखिन्छ भने एमाले, राप्रपा र जसपासमेतको मत एकै ठाउँमा जोड्दा ३७ हजार २९० मत हुन आउँछ । यो तथ्यांक अनुसार रुपन्देही–२ मा अझै पनि सत्तारुढ गठबन्धन नै अग्रतामा देखिन्छ ।

रुपन्देही–२ अन्तर्गत बुटवल उपमहानगरपालिकाका १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२ र १३ वडा पर्दछन् । यस्तै, सैनामैना नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ तथा तिलोत्तमा नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६ नम्बर वडा पनि यसै क्षेत्र अन्तर्गत पर्दछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप