शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नवलपरासी–१ मा राजनीतिज्ञ भर्सेस उद्योगपति : कसको पक्षमा अङ्कगणित ?

बुधबार, १६ कात्तिक २०७९, १० : २८
बुधबार, १६ कात्तिक २०७९

प्रतिनिधिसभातर्फ नवलपरासीको क्षेत्र नम्बर १ मा पाको राजनीतिज्ञ र धनाढ्य उद्योगपतिबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यहाँबाट पाको तथा अनुभवी राजनीतिज्ञका रुपमा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी र देशकै ठुला उद्योगपति विनोदकुमार चौधरी प्रतिस्पर्धामा उत्रिएका छन् ।

कांग्रेसका चौधरी सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका हुन् । त्रिपाठीलाई नेकपा एमालेले सघाउने भएको छ ।

नवलपरासीको क्षेत्र नम्बर १ बाट २०४८ सालदेखि नै संसदीय राजनीतिमा होमिएका त्रिपाठीले पटक पटक संसदमा यस क्षेत्रको प्रतिनिधित्व गरिसकेका छन् । उनले २०७० सालको संविधानसभा निर्वाचनबाहेक यस क्षेत्रबाट ५ पटक चुनाव जितिसकेका छन् ।

उद्योगपति चौधरीले यसअघि दुई पटक समानुपातिकतर्फबाट संसदमा प्रतिनिधित्व गरेका छन् । एक पटक एमालेबाट र अर्को पटक कांग्रेसबाट समानुपातिकतर्फ सांसद बनेका चौधरी पहिलो पटक प्रत्यक्ष निर्वाचनमा होमिएका हुन् ।

दुवै उम्मेदवार अहिले मतदाताको मन जित्ने अभियानमा घरदैलो गरिरहेका छन् । चौधरी अहिले जिल्लाको दक्षिणी भेगमा गाउँगाउँमा पुगिरहेका छन् । त्रिपाठी पनि विगतमा आफूले गरेको कामको जस लिने र गर्न नसकेका कामहरू पूरा गर्ने प्रतिबद्धताका साथ घरदैलोमा पुगेका छन् ।

त्रिपाठीलाई चुनाैती उस्तै, चाैधरीलाई बागीकाे समर्थन

सत्ता गठबन्धनका साझा उम्मेदवार चौधरीलाई सीतादेवी वौडेलले उम्मेदवारी निष्क्रिय पारेर समर्थन जनाएकी छन् । सोमबार विज्ञप्ति जारी गर्दै वौडेलले गठबन्धनको मर्म र भावनाको कदर गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय गराएको घोषणा गरेकी छन् ।

नेपाली कांग्रेसका देवकरण प्रसाद कलवारले अनधिकृत टिकट ल्याई उम्मेदवारी दिएको भन्दै पार्टी आन्दोलनको रक्षा गर्नको निम्ति सीतादेवी वौडेल र चन्द्रकान्त ढकालले स्वतन्त्र उम्मेदवारी दिएको बताएका थिए । निर्वाचन आयोगले उनलाई पुतली चुनाव चिन्ह प्रदान गरेको थियो ।

कार्तिक ११ गते बसेकाे सत्ता गठबन्धनकाे केन्द्रीय बैठककाे निर्णय अनुसार आफूहरुले उम्मेदवारी फिर्ता  लिएकाे वाैडेलकाे भनाइ छ । माओवादीका नेताहरुले उम्मेदवारी निष्कृय पारेपछि चाैधरीलाई सहज भएकाे छ । यद्यपि चौधरी उद्योगपतिको रूपमा चर्चित भए पनि उक्त निर्वाचन क्षेत्रमा पहिलो पटक उम्मेदवार बनेका कारण जनमानसमा भिज्न सकेका छैनन् ।

यता त्रिपाठीलाई एमालेले सघाउने निर्णय गरे पनि स्थानीय स्तरमा एमालेका कार्यकर्ताहरू खुलेर उनको पक्षमा उभिएका छैनन् । त्रिपाठी पटकपटक दल परिवर्तन गर्दै सांसद र मन्त्री बने पनि स्थानीय मुद्दामा कम ध्यान दिएको आरोप लाग्ने गरेको छ ।

एक जना पाँच पटकसम्म चुनाव जितेको नेता र एक जना औद्योगिक क्षेत्रमा सफल व्यक्ति चुनावी मैदानमा जाँदा स्वाभाविक रुपमा चर्चा पाए पनि क्षेत्रको विकासका लागि कति काम गर्दछन् भन्ने कुरा महत्त्वपूर्ण हुने र सोही आधारमा जनताले मूल्याङ्कन गर्ने प्रतापपुर–३ का श्याम थापाले बताए ।

त्रिपाठीका विश्वासपात्रका रुपमा यसअघि परिचित लुम्बिनी प्रदेशका मन्त्री अजय शाही र स्थानीय निर्वाचनमा जनता प्रगतिशील पार्टीका तर्फबाट प्रतापपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार करम हुसेनले पार्टी परित्याग गरेकाले त्रिपाठीलाई केही असहज हुने जानकार बताउँछन् ।

अर्कोतिर माओवादी केन्द्रकी सीतादेवी वौडेलले स्वतन्त्र उम्मेदवारी दिएका कारण पनि गठबन्धनका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार चौधरीलाई केही कठिन हुने देखिएको छ ।

गठबन्धनमा आबद्ध दलका स्थानीय नेताले दिएका स्वतन्त्र उम्मेदवारी निस्कृय पार्ने प्रयास भइरहेको नेपाली कांग्रेसका जिल्ला सभापति अर्जुन पोखरेलले रातोपाटीलाई बताए । उनले भने, ‘उम्मेदवारी निस्कृय गर्न नमाने कारबाही गर्नुको विकल्प छैन, हामीले कारबाही गर्दा अन्य दलले पनि त्यस्ता उम्मेदवारलाई कारबाही गर्नुपर्छ ।’

स्थानीय अंकगणित

२०४८ सालदेखि लगातार चुनावी मैदानमा गएका त्रिपाठी २०७० सालमा नेपाली कांग्रेसका देवकरण कलवारसँग पराजित भएका थिए । २०७४ सालमा उनै कलावरलाई हराउन एमालेको सूर्य चुनाव चिह्न लिएर मैदानमा गएका त्रिपाठीले ५ हजार १ मतान्तरले जित हासिल गरेका थिए । कलवार अहिले प्रदेशसभामा उम्मेदवार छन् ।

नवलपरासी १ मा हालै सम्पन्न स्थानीय तहको चुनावमा वडा अध्यक्ष पदका उम्मेदवारले पाएको मतका आधारमा कांग्रेसको ३० हजार ३४२, एमालेको २६ हजार ७७९, राप्रपाको ६ हजार ६८७, माओवादीको ५ हजार ३४७, जसपाको ३ हजार ५५९, नेकपा एकीकृत समाजवादीको एक हजार १४१, लोसपाको १०० मत छ ।

यहाँ त्रिपाठीको दल जनता प्रगतिशील पार्टीले स्थानीय चुनावमा प्रतापपुर गाउँपालिका बाहेक अन्यत्र उम्मेदवारी दिएको थिएन । प्रतापपुर गाउँपालिका अध्यक्षमा उक्त पार्टीका उम्मेदवारले ३ हजार ८०८ मत पाएका थिए । यही मतलाई आधार मानेर एमालेसँग जोड्दा त्रिपाठी भन्दा चौधरी अगाडि देखिन्छन् ।

क्षेत्र नम्बर १ मा पर्ने सुस्ता, प्रतापपुर गाउँपालिका र बर्दघाट नगरपालिका स्थानीय चुनावमा नेपाली कांग्रेसले जितेको थियो भने सरावल गाउँपालिका नेकपा एमालेले जितेको थियो ।

प्रदेशका उद्योग मन्त्री शाही स्वतन्त्र उम्मेदवार

२०७४ सालको निर्वाचनमा नवलपरासी १ (ख) बाट त्रिपाठीको समूहबाटै जितेका अजय बहादुर शाही हाल लुम्बिनी प्रदेशका उद्योग मन्त्री छन् । उनले प्रतिनिधिसभातर्फ अहिले नवलपरासी–१ बाटै स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रतापपुर निवासी शाहीको स्थानीयस्तरमा राम्रै प्रभाव छ । शाही आफ्नो अस्तित्वका लागि चुनावी मैदानमा गएको दाबी गर्दछन् । विगतमा त्रिपाठीकै समूहमा रहेका कारण उनले यस पटक त्रिपाठीकै केही मत काट्ने अनुमान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप