शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘ओलीको अनैतिक कर्मको साक्षी बन्नुभन्दा जनताको सिपाही भएर हिँडे’

म ओरिजिनल कम्युनिस्ट हुँ तर डुप्लिकेट बन्नेहरूले दलबदलु भन्न सक्छन् : प्रभु साह
बुधबार, २३ कात्तिक २०७९, ०६ : २८
बुधबार, २३ कात्तिक २०७९

मधेसमा राजनीतिका चतुर खेलाडी मानिन्छन् प्रभु साह । लामो समय माओवादीको राजनीति गरेका साह पार्टी विभाजनपछि एमाले कित्तामा थिए ।

अहिलेको प्रतिनिधिसभा चुनावमा एमालेको टिकट छाडेर प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिएका छन् । रौतहट–३ बाट प्रतिनिधिसभाको उम्मेदवार रहेका उनको चुनाव चिन्ह ‘चापाकल’ रहेको छ । प्रस्तुत छ, साहसँग रातोपाटीकर्मी रोहित दाहालले उनकै निर्वाचन क्षेत्रमा पुगेर गरेको समसामयिक विषयको कुराकानीको सम्पादित अंशः

निर्वाचनको मुखमा एमाले छाडेर स्वतन्त्र हुनु भयो, कत्ति कठिन छ यसपालिको निर्वाचन ?

मैले अनैतिक राजनीतिक छाडेँ, कुर्सीका लागि जे पनि गर्ने राजनीति छाडेँ । गठबन्धनको राजनीति छाडेँ र स्वतन्त्र भएर आम जनताको स्वतन्त्र आवाजको लागि म सङ्घर्षमा छु मलाई यसमा गौरव पनि छ खुसी पनि छ । यो निर्वाचन मलाई कठिन छैन । 

एमालेभित्र बसेर राजनीति गर्नु भयो । एमाले अनैतिक पार्टी रहेछ भन्ने कसबेला लाग्यो नि ?

हो, मलाई के लाग्छ भने एमालेको नेताले कुनै बेला मधेसमा भइरहेको आन्दोलन र नाकाबन्दीलाई भारतको नाकाबन्दी भन्दै देशलाई गुमराहमा राखेको रहेछ । यदि त्यो सही थियो भने उपेन्द्र यादव नाकाबन्दीको मतियार कसरी सही भए ? यदि नाकाबन्दी इन्डियाको थियो भने त्यसको मतियारलाई एमालेले कसरी स्वीकार्‍यो ? 

दोस्रो, मधेसमा आगो बाल्ने साम्प्रदायिकताको राजनीति गर्ने मधेसलाई भ्रष्टाचारको बदनाम थलो बनाउने पार्टीलाई सुशासन र ‘सुखी नेपाली समृद्ध नेपाल’ भन्ने पार्टीले कसरी स्वीकार गर्‍यो भन्ने प्रश्न आउँछ । 

अर्को, मार्क्सवादले राजवादीलाई कसरी स्वीकार्‍यो ? गठबन्धन नै गर्दैनौँ भन्दै आएको अहिले ७–८ वटा दलसँग गठबन्धन गरेको हामीले हेरेका छौँ । यसरी कुर्सीका लागि जे पनि गर्ने केपी ओलीको जुन अनैतिक कर्म देखेँ, त्यो अनैतिक कर्मको साक्षी बन्नुभन्दा जनताको सिपाही भएर हिँड्नु राम्रो हुन्छ भनेर पार्टी र टिकट छाडेर स्वतन्त्र भएँ ।

रौतहटमा जसपा पनि बलियो मानिन्छ, त्यसमा एमालेको पनि साथ छ । तपाईंलाई यसपालि चुनौती त अलि बढी नै होला नि ?

हैन, आखिर भोट दिने जनताले नै हो । जति गठबन्धन गरे पनि भोटर भनेका आम जनता हुन् । आम जनताले मलाई चिनिसकेपछि, मलाई साथ दिने भएपछि गठबन्धन भनेर केही हुन्छ जस्तो मलाई लाग्दैन । चुनावको नतिजा आएपछि जनताको ताकत के रहेछ वा ठुला पार्टीको गठबन्धनको तागत के रहेछ भन्ने परीक्षण हुन्छ । त्यसैले, मलाई के विश्वास छ भने आम जनताको तागत यो गठबन्धन र केही पार्टी भन्दा ठुलो हुन्छ । जनताले आफ्नो तागत देखाउँछन्, त्यसमा म आशावादी छु ।

तपाईंले ५ वर्षअघि हँसिया हथौडा चिन्हमा मत भन्नु भो, स्थानीय चुनावमा सूर्य चिन्हमा, फेरि अहिले चापाकल चिन्ह । यसरी त मतदाता अलमलमा पर्दैनन् र ?

हो, रूपमा हेर्दा दल बदलेको जस्तो देखिन्छ तर, सारमा प्रभु साह हिजो जुन विचार, निष्ठा र वर्गसँग थियो, आज पनि त्यही निष्ठामा छ । बरु, पार्टीहरूमा परिवर्तन आएको छ । अहिले काँग्रेसको एउटा र केपी ओली नेतृत्वको अर्को गठबन्धन छ । एकतातिर जय नेपाल र लालसलाम छ अर्कोतिर जयमधेस र लालसलाम छ । प्रभु साह त लालसलाममै छ ।

कहिलेकाँही मान्छेले भन्छन् कि, सूर्यले पृथ्वीको परिक्रममा गरिरहेको छ, तर वास्तविकता त यही थियो नि, सूर्यको परिक्रमा त पृथ्वीले गरिरहेको हुन्छ । त्यसैले अहिले दल प्रभु साहले बदलेको जस्तो देखिएको छ, त्यो भ्रम हो । अहिले ओली जी छाताको पछाडि हिँड्नु भा छ । मधेसको जिम्मा छातालाई लगाउनु भो । जसलाई राष्ट्रविरोधी भन्नुहुन्थ्यो, उसैलाई मधेसको जिम्मा लगाउनुभो । यथार्थ यही हो । 

मैले समयमै स्वाभिमानको राजनीति बचाएँ । निष्ठा र राष्ट्रियताको राजनीति बचाएँ । म ओरिजिनल कम्युनिस्ट हुँ तर डुप्लिकेट र अरूको पुच्छर बन्नेहरूले मलाई नै दलबदलु भन्न सक्छन् ।  किनकि रूपमा त्यही देखिन्छ । तर, सारमा प्रभु साह हिजो जे थियो, आज त्यही छ, भोलि पनि त्यही रहनेछ ।

आवधिक निर्वाचनपिच्छे तपाईंले जहाँ भन्नुहुन्छ, त्यही मत हाल्ने जनताप्रति तपाईं कत्तिको विश्वस्त हो ?

हामी जनताको लागि जनताद्वारा जनताले गर्ने शासनलाई लोकतन्त्र भन्छौँ । त्यसैले मत देऊ सकियो भन्ने होइन । जबकि अहिले त्यस्तै देखिएको छ । त्यसैले जनताले दीर्घकालीन रूपमा देशलाई कता लैजाने भन्ने विचार गरेर नै गर्छन् । मलाई के विश्वास छ भने हरेक निर्वाचनले देशलाई एउटा छलाङ दिएको छ । अहिलेको निर्वाचनले पनि मुलुकलाई एउटा दिशा दिन्छ । र, समाजलाई ठुलो राहतको आधार खडा गर्नेछ भन्ने मलाई विश्वास छ ।

एमाले र जसपा बीचको तालमेल मधेस प्रदेशमा कस्तो देखिन्छ ?

म यो एक क्षेत्रमा मात्र चुनाव लडिरहेको छैन । सांसद मात्रै हुनका लागि मैले गठबन्धन वा ठुलो पार्टी रोज्नुपर्ने थियो । म राजनीतिक मुद्दामा चुनाव लडिरहेको छु । मधेस प्रदेशभरी जहाँ जसपा र एमालेको गठबन्धन भएको छ, ती सबैजसो ठाउँमा हाम्रो उम्मेदवारी छ । अन्य ठाउँहरूमा पनि स्वतन्त्र अभियान जिताउने अभियान मैले चलाएको छु । 

किनकि लोकतन्त्र भनेको दलीय सिन्डिकेट जस्तो भएको छ, दलीय निरङ्कुशता देखा परेको छ, जनता निरीह र लाचार भएका छन् । त्यसैले लोकतन्त्र बचाउन र जनतालाई साँच्चिकै शासक बनाउन कसैले पहल लिनुपर्ने थियो । त्यो मैले ऐतिहासिक सुरुवात गरेको छु । अहिले त्यसको पनि चुनाव हुँदैछ ।  मैले के आशा गरेको छु भने, अरू दलभन्दा धेरै नै स्वतन्त्र उम्मेदवारले जित्नेछन् ।

स्वतन्त्र उम्मेदवार भनेको त व्यक्तिगत कुरा भयो नि । पार्टीसँग व्यक्ति लड्न कसरी सम्भव हुन्छ ?

मान्छेले के बुझेका छन् भने हिजो राजासँग लड्न दल क्रान्तिकारी देखिएको थियो । दललाई धेरै साथ थियो, किनकि यो लौरोजस्तो सहारा थियो । लडाई लड्ने नेतृत्व थियो । तर, जब राजा हटे, दलहरू शासकको ठाउँमा आए । तिनको भूमिकाले जनता सन्तुष्ट देखिएका छैनन् । जनता उकुसमुकुस छन्, लाचार छन्, आक्रोशित छन् । यसले निकास खोजेको मैले बुझेको छु । 

त्यसैले आम जनताको लडाइँ हो, यो स्वतन्त्र उम्मेदवारी । आम जनताको आक्रोशको अभिव्यक्ति हो स्वतन्त्रलाई मतदान । यसको परिणामले दलका नेतृत्वले बुद्धि  पुर्‍याएर सुध्रिएमा व्यवस्था अझ अघि बढ्छ, नभए मैले यो व्यवस्थाकै सङ्कट देखेको छु ।

मधेसमा भुइँमान्छेको समस्या धेरै छ, जसले तपाईंलाई पटक पटक जिताए, उनीहरूको बारेमा के सोच्दै हुनुहुन्छ ?

मैले पाँच वर्षको लागि चुनाव जितेको थिएँ । ३ वर्ष मात्र सांसदको रूपमा काम गरेँ । मैले जे बोलेको थिएँ, पुरा गरेको छु । सरकारले सुनेन, तराईमा दाउराको समस्या छ । ग्याँस चुल्हो सिलिन्डर हरेक घरमा दिने कार्यक्रम ल्याएको थिएँ, केपी ओलीको सरकारलाई त्यसबारे भनेँ तर, सुनुवाइ भएन । 

मैले व्यक्तिगत रूपमा २८ हजार घरधुरीलाई ग्याँस चुल्हो दिएको छु । कोही नेता छ, निजी प्रयासबाट यत्ति ठुलो सङ्ख्यामा ग्याँस चुल्हो बाँड्ने ? साइकल तराईमा किशोरीहरूलाई आवश्यक छ भनेर छात्रालाई साइकल भन्ने कार्यक्रम ल्याएको थिएँ । १२ स्कुलका छात्रालाई मैले वितरण गरेँ, पछि प्रदेश सरकारले बाँड्न थालेपछि मैले छाडेँ ।

 झन्डै ३ सय किलोमिटर नयाँ सडक मेरो पहलमा बनेको छ । मौलापुर नगरपालिकास्थित मेरो वडामा ३२ करोडको नाला ढलान र पिचको काम भइरहेको छ । अरू दुई वडामा २० करोड र १२ करोडको ठेक्का लागेर काम सम्पन्न भएको छ । अरू धेरै कामहरू अघि बढिरहेका छन् । ५ वर्षमा अर्बौँको काम अघि बढेको छ मेरो क्षेत्रमा । सबै जिल्लाभर नयाँ बदलाव आएको छ । एउटा जोगीले यज्ञ लगाउन सक्छ भने नेताले चाहेमा असम्भव हुने काम सम्भव बनाउन सक्छन् भन्ने हामी उदाहरण हौँ ।

सडक बचाउ सडक बढाउ अभियान, बस्ती विकासको लागि ल्याण्ड पुलिङको अभियान अघि बढायौँ । यी जुन नयाँ मोडल छ, अन्यत्र पनि अनुसरण गर्दा राम्रो हुन्छ । हामीले छठ र होलीलाई नयाँ रूप दियौँ, अहिले छठ देशभर मनाइन्छ । आम जनताले यो सबै हेरेका छन् । त्यसैले, जनताले प्रभु साहलाई नै जनादेश दिन्छन् ।

अहिले प्रभु साह एक्लै लडेको देखिए पनि विभिन्न पार्टीका नेता, कार्यकर्ताले पनि सहयोग गरिरहेका र निर्वाचित जनप्रतिनिधिहरूले नै तपाईको पक्षमा छन् भन्ने सुनिन्छ । खास कुरा के हो ?

हो, धेरै निर्वाचित मेयर उपमेयर हामीसँगै छन् । रौतहट जिल्ला समन्वय समिति नै प्रभु साहको पक्षमा छ । अरू दलका पनि मानिसहरुले पनि मेरो पक्षमा सघाएका छन् । यहाँ नयाँ ध्रुवीकरण भइरहेको छ, मलाई के विश्वास छ भने आम जनताको जित हुन्छ । सत्ता गठबन्धनले त बेइमानी गरिरहेको छ, इमानदारीपूर्वक सहयोग गरिरहेको छैन । लोसपाले इमानदार ढंगले साथ दिएको छ । तर, माओवादीका केही व्यक्तिहरू, काँग्रेस र कलम छाप आफ्नै प्रचारमा लागिरहेका छन् ।

जितमा कत्तिको निश्चिन्त हुनुहुन्छ ?

मैले त्याग गरेको छु, वीरता प्रदर्शन गरेको छु । जहिले पनि त्यागको जित हुन्छ । कायरताभन्दा वीरताको जित भएको छ । मैले विकास, नैतिकता र निष्ठाको लागि लडिरहेको छु । म जित्छु । रौतहट–३ मा मेरो जित सुनिश्चित छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहित दाहाल
रोहित दाहाल
लेखकबाट थप