आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौँ क्षेत्र नम्बर १० मा ​रेकर्ड ब्रेक हुनेवाला छ ​: अञ्जना विशंखे

काठमाडौँ १० का उम्मेदवार, नेकपा माओवादी केन्द्र
बुधबार, २३ कात्तिक २०७९, ०८ : ५४
बुधबार, २३ कात्तिक २०७९

नेकपा माओवादी केन्द्रकी उम्मेदवार अञ्जना विशंखे काठमाडौँ क्षेत्र नम्बर १० मा राजन केसीको रेकर्ड ब्रेक हुने दाबी गर्छिन् । जनताले १० वर्षमा राजनले केही गरेन भन्ने गरेको उनी बताउँछिन् ।

यस क्षेत्रमा भिन्न समीकरण छ । अन्यत्र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहित पाँच दलीय गठबन्धन कायम रहेको अवस्थामा काठमाडौँ–१० मा भने कांग्रेस र माओवादी केन्द्र आपसमै प्रतिस्पर्धा गर्दैछन् । यो क्षेत्रलाई पछिल्लो समय नेपाली कांग्रेसका नेता राजेन्द्र (राजन) केसीले आधार इलाका बनाएका छन् । केसीलाई चुनौती दिन मैदानमा उत्रिएकी अञ्जना विशंखेसँग गरिएको कुराकानी :

चुनावी प्रचार र घरदैलो अभियान कसरी गर्नु भएको छ ?

प्रदेशमा दुई जना उम्मेदवार हुनुहुन्छ । संघीय संसदको उम्मेदवार म आफै छु । गठबन्धन नभएकाले प्रतिनिधिसभा र प्रदेशसभाका दुवै क्षेत्रमा माओवादीका उम्मेदवार छौँ । बिहान बेलुका घरदैलो हुन्छ । दिउँसो बचेको समयमा विभिन्न महिला, युवा, विभिन्न गुठी समूह लगायत संघ संस्थाका व्यक्तिहरुलाई भेटेर भोट माग्छौँ ।

यस क्षेत्रमा तपाईंको उम्मेदवारी किन ?

काठमाडौँ क्षेत्र नम्बर १० मा मेरो उम्मेदवारी रणनीतिक महत्वको योजना सहितको विकास र समृद्धिसँग सम्बन्धित छ । यहाँको ऐतिहासिक र सांस्कृतिक सम्पदा संरक्षणका लागि मेरो अग्रसरता हो । यो काठ क्षेत्र भनेको के हो ? यहाँको पर्यावरण, वातावरण, प्राकृतिक स्रोत, साधनको संरक्षण गर्नुपर्ने छ । यहाँको जात्रादेखि लिएर ऐतिहासिक र पुरातात्त्विकको महत्त्वको यो क्षेत्र १५ सय वर्ष अघि किरातको राजधानी थियो । मातातीर्थ किरातकालीन राजधानीसमेत हो । यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने ठाउँ छ ।

यस्तै, अरु थुप्रै ट्रेकिङ रुटहरु बनाउन सकिन्छ । यस क्षेत्रमा एक सयभन्दा बढी दुर्लभ जडीबुटी यहाँ छन् । यस क्षेत्रमा ३ सयभन्दा बढी चराचुरुंगी र एक सयभन्दा बढी प्रकारका पुतली पाइन्छन् । यो पर्यावरणलाई जोगाउन सक्यौँ भने आन्तरिक र बाह्य पर्यटकलाई ल्याएर बेरोजगार समस्यालाई थोरै भए पनि सम्बोधन गर्न सकिन्छ ।

यस क्षेत्रमा विगत १० वर्षदेखि कांग्रेसका राजन केसीले नेतृत्व गर्नुभयो । उहाँले जनताको काम होइन, जागिरेको रुपमा मात्रै काम गर्नुभयो । कीर्तिपुर, दक्षिणकाली र चन्द्रागिरिको भाषा संस्कृतिको महत्त्वलाई बुझ्नु भएन । यहाँको ऐतिहासिक सम्पदाको संरक्षण गर्दै सम्बर्द्धनमा लागेको देखिएन ।

यस क्षेत्रमा पानीको स्रोत प्रशस्त छन् । यहाँका पानीको स्रोतहरुलाई निजीकरण गरियो । अब निजीकरण हुनबाट जोगाउनु पर्ने भएको छ । यहाँ पानीका उद्योग प्रशस्त छन् तर यहाँका जनताले पानी खान पाएका छैनन् । यस्ता खालका समस्या हल गर्नको निम्ति मेरो उम्मेदवारी हो ।

घरदैलोमा जाँदा कस्ता गुनासो र समस्या पाउनुभयो ?

यो काठ क्षेत्रमा जसरी सहरीकरण बढ्दै गयो, त्यसलाई व्यवस्थापन गर्न सकिएन । खासमा यो क्षेत्र सहरभन्दा पनि गाउँ नै गाउँ हो । यहाँको स्रोत साधन व्यवस्थित गर्न सकिएन । बाटोको समस्या उस्तै छ । पानी पर्दा हिलो र सुक्खा हुँदा धुलैधुलो हुने अवस्था छ । यस क्षेत्रमा चल्ने गाडीको रुट समेत व्यवस्थित गरिएको छैन । सहरी ढलको समस्या उस्तै छ । कहाँ खोला हो ? कहाँ कुलो भन्ने धेरैलाई थाहा छैन । यो १५/२० वर्षमा यति माफियाकरण बढ्यो कि खोला नालामा समेत घर बनाउने प्रचलन बढ्यो । खोला आएर घर बगाएको होइन खोलामाथि घर बनाएर बगाएको स्थिति छ । आत्मनिर्भर अर्थतन्त्र समेत परनिर्भर हुँदै गएको छ । अब अगुवा बनेर यी समस्या हल गर्ने योजनामा छु ।

यस क्षेत्रको पर्यावरणदेखि ऐतिहासिक सम्पदाको संरक्षण, बाटो, सडक, पुलपुलेसा, आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न तपाईंसँग कस्ता योजना छन् ?

हामी संसदमा जाने भनेको सबै ठिक्क पाएर ल्याइदिने स्थानीय तहको जस्तो भूमिकाका लागि होइन । हामीले नीतिगत रुपमा कानुन निर्माण गर्ने हो । कानुन निर्माण गर्नेक्रममा मन्त्रालयगत रुपमा कहाँ कहाँ समस्या छन् ? जस्तै भूमिको समस्या भए भूमि मन्त्रालय, अव्यवस्थित सहरीकरणको समस्या सहरी मन्त्रालय र ऐतिहासिक महत्वको क्षेत्रका भए संस्कृति मन्त्रालय अन्तर्गत पहल गर्ने हो । हामी जनप्रतिनिधि भई सकेपछि यहाँको मुख्य समस्या के हो भन्ने पहिल्याएर हल गर्ने हो । हामीले कानुनका पाटा र मन्त्रालयगत रुपमा कहाँ समस्या छन्, त्यसको हल गर्ने हो ।

राजनीतिक अस्थिरताले विकासलाई अवरुद्ध गर्‍यो । त्यसका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रतीय व्यवस्थामा जान मत मागेकी छु । यो देशको विकास र समृद्धि गर्ने हो भने शासन व्यवस्था बदल्न जरुरी छ । त्यसका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासन व्यवस्थामा ढिलो चाँडो जानुपर्छ । यहाँबाट निर्वाचित भएर गएपछि शासन व्यवस्था फेर्नेमा मेरो मत प्रकट हुने छ ।

तपाईंको प्रतिस्पर्धी राजन केसी दुई पटक सांसद र मन्त्री भइसकेको व्यक्ति हुनुहुन्छ । त्यसमा पनि २०७० मा उहाँ तपाईंकै पार्टी अध्यक्षलाई हराएर निर्वाचित हुनु भएको थियो । अहिले उहाँसँग चुनाव लड्न कत्तिको चुनौती महसुस गर्नुभएको छ ?

तपाईं राजन केसीले प्रचण्डलाई हराएको कुरा गर्नुहुन्छ । प्रचण्डले राजन केसीलाई २०६४ सालमा हराएको हो ।  २०७० सालमा हाम्रो पार्टी टुटफुट र विभाजन भयो । प्रचण्ड हराउन अभियान नै चलाएको मौकामा उहाँले चुनाव जित्नुभयो । अहिले स्थिति ठिक उल्टो भएको छ । अहिले राजन केसी हराउन अभियान चलेको छ । जनताले १० वर्षमा राजनले केही गरेन भन्ने छ । हुँदाहुँदै चन्द्रागिरि क्षेत्रमा राजनले कोल्टेसमेत फेरेनन् भन्ने छ । दक्षिणकालीमा गयो भने सडकमा जान सक्ने अवस्था छैन । त्यस वरपरको विकास केही देखिँदैन । चन्द्रागिरि र दक्षिणकालीमा विकास भएन, कीर्तिपुरमा गर्‍यो होला भन्ने छ । तर, कीर्तिपुरवासीले १० वर्ष भयो, पानी पिउन पाएका छैनन् । पानीको समस्या हल गर्दिन्छु भनेर भोट माग्नु भएको थियो । अहिलेसम्म पानी आएन ।

त्यसो भए राजन केसीलाई पराजित गर्नुहुन्छ ?

उहाँकै कारणले काठमाडौँ क्षेत्र नम्बर १० मा उहाँको रेकर्ड ब्रेक हुनेवाला छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप