बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा त्यस्तो कुनै घर छैन होला जसमा आफताव आलमको लगानी नहोस् : डा. फिरदोस आलम

शनिबार, २६ कात्तिक २०७९, ०८ : ४६
शनिबार, २६ कात्तिक २०७९

पूर्व सांसद  मोहम्मद आफताव आलम विष्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग गरेको आरोपमा यतिबेला कारागारमा रहेका छन् । नेपाली कांग्रेसले रौतहट क्षेत्र नम्बर २ बाट उनै आलमका छोरा डा. फिरदोस आलमलाई आगामी निर्वाचनमा उम्मेदवार बनाएको छ ।

फिरदोस ​आफ्नो पितामाथि जालझेल र षड्यन्त्र भएको बताउँछन् र आफ्नो उम्मेदवारी त्यसैका विरुद्ध भएको जिकिर गर्छन् । प्रस्तुत छ फिरदोससँग रातोपाटीको चुनाव केन्द्रित अन्तरक्रिया :

चुनाव प्रचारप्रसारको काम कसरी अघि बढिरहेको छ ?

प्रचार प्रचार चलिरहेको छ । अहिले हामी घरदैलो अन्तर्गत राजपुरमा छौँ ।

तपाईंंले आफ्नो पिताको राजनीतिक विरासतलाई निरन्तरता दिन उम्मेदवारी दिनु भएको हो ?

विरासत भन्न मिल्दैन । यो लोकतन्त्र हो, यहाँ सबैलाई चुनाव लड्ने अधिकार छ, त्यसमा म पनि पर्छु । बुबाले चुनाव लड्नु भयो, बारम्बार जित्नु भयो । हजुरबुवा शेख इद्रिसले लड्नु भयो, जित्नु भयो ।

यसको मतलब यो होइन कि मैले चुनाव लड्न पाउँदिनँ । यो मेरो पनि अधिकार हो । यो क्षेत्रका एक लाख मतदातामध्ये सबैले चुनाव लड्न पाउँछन् । यही अधिकारका लागि मेरो बुबा, हजुरबुबाले त्यत्रो त्याग र बलिदान गर्नुभयो ।

तपाईंंको बुबामाथि गम्भीर आरोप पनि छ । त्यही ठाउँमा तपाईंंले कसरी उम्मेदवारी दिन सक्नुभयो ?

होइन, त्यो त आरोपमात्र हो । जालझेल र षड्यन्त्र भएको छ । मेरो उम्मेदवारी त्यो जालझेल र षड्यन्त्रविरुद्ध हो । त्यो जालझेल र षड्यन्त्रविरुद्ध यस रौतहट क्षेत्र नम्बर–२ बासीले कडा जवाफ दिनेछन्, आउने मङ्सिर ४ गते ।

स्थानीय चुनावमा पनि जनताले जवाफ दिइसके नि, होइन ?  

हो, स्थानीय चुनावमा जवाफ दिइसके र संघीय चुनावमा पनि दिनेछन् ।

तपाईंको पिता निकै शक्तिशाली हुनुहुँदो रहेछ नि । जेलभित्रै बसेर आफ्नो एक छोरालाई मेयर जिताउनुभयो । अब एउटा छोरा सांसद बन्ने तयारीमा हुनुहुन्छ । यति शक्तिशाली हुनुको के छ रहस्य ?

मेरो बुबा शक्तिशाली होइन, रौतहट क्षेत्र नम्बर २ को जनता शक्तिशाली हुन् । रौतहट क्षेत्र नम्बर २ को जनता शक्तिशाली भएकै कारण उहाँ बारम्बार निर्वाचित हुनुभएको हो । गत स्थानीय तहको चुनावमा मेरो भाइ निर्वाचित भयो । बुबा शक्तिशालीभन्दा पनि जनताको उहाँलाई साथ छ । त्यही भएर नै नेपाली कांग्रेसले मलाई उम्मेदवार बनाएको हो । निश्चय पनि विजयी हुन्छु, यसमा कुनै दुई मत छैन ।

तपाईंंको बुबालाई लागेको आरोपबारे तपाईंंको भनाइ के छ ?

यो सम्पूर्ण रूपमा उहाँलाई जालझेल गरी, षड्यन्त्र गरी फसाइएको हो ।

षड्यन्त्र कसले गर्‍यो ?

केपी ओली नेतृत्वको तत्कालीन सरकार र केही स्थानीय नेताहरूले जालझेल र षड्यन्त्र गरे । किनकि जबसम्म अफताब आलम यहाँ हुन्छन्, नेपाली कांग्रेस समाप्त हुनेवाला छैन । आफताव आलमकै कारण दुई नम्बर क्षेत्रमा, अझ रौतहटमै नेपाली कांग्रेस बलियो छ र त्यो सिध्याउनका लागि केपी ओलीको सरकारले उहाँलाई जालझेल गरेर, षड्यन्त्र गरेर फसायो ।

उहाँमाथि लागेको आरोप प्रमाणित भइसकेको छैन । र पक्कै पनि अदालतले उहाँ र रौतहट क्षेत्र नम्बर २ का जनतालाई न्याय दिनेछ । यसमा पूर्ण विश्वास छ ।

तपाईं सरकारी जागिर छाडेर चुनावमा उत्रिनु भएको छ । मैले जानकारी पाए अनुसार तपाईं राम्रै पदमा हुनुहुन्थ्यो । के त्यहाँ भन्दा राजनीतिमा बढी नाफा भएर यता मोडिनु भयो ?

म चिकित्सक हुँ र त्यो एक सेवा हो । सेवा भावकै आधारमा मैले चिकित्सा क्षेत्र रोजेँ । अब राजनीति भनेको विशुद्ध सेवाभाव हो । परिस्थिति यस्तो आयो कि मैले राजनीतिमै आउनुपर्ने भयो । रौतहट क्षेत्र नम्बर २ का जनताको इच्छा–आकाङ्क्षा र मेरो परिवारमाथि जुन भरोसा छ, त्यसका लागि मैले उम्मेदवारी दिएँ । नेपाली कांग्रेसलाई कसरी मजबुत बनाउनुपर्छ भन्ने भावनाले पनि म राजनीतिमा आउनुपरेको हो ।

तपाईं नाफा–घाटा हिसाब गरेर राजनीतिमा आउनु भएको होइन ?

होइन । घाटा नाफा मैले केही सोचिनँ । तपाईंले भनेजस्तै राम्रै सरकारी पदमा थिएँ । तर आवश्यकताले राजनीतिमा आउनुपर्‍यो । म आफ्नो लागि राजनीतिमा आएको होइन । व्यक्तिगत इच्छा, आकाङ्क्षा थिएन । यदि त्यसो भएको भए म पहिले नै राजनीतिमा आउने थिएँ । चिकित्सा क्षेत्रमा त्यत्रो वर्ष खर्च गरेर फेरि अहिले आएर जोडिने थिइनँ होला । विद्यार्थीकालमा नेविसंघलगायत संस्थाहरूमा पनि जोडिइनँ । सानैदेखि राजनीतिमा आउने मेरो कुनै उद्देश्य थिएन ।

तर म राजनीतिबारे अनविज्ञ भने थिइनँ । परिवार जोडिएकाले राजनीतिमा चाख सधैँ रह्यो । तर मैले राजनीति गर्नुपर्छ भनेर न परिवारले भन्यो, न मेरो व्यक्तिगत इच्छा आकाङ्क्षा थियो । तर अहिले परिस्थिति के आयो भने रौतहट क्षेत्र नम्बर २ को लागि र नेपाली कांग्रेसलाई मजबुत बनाउनका लागि मैले राजनीतिमा आउनुपरेको हो । यसमा मेरो कुनै व्यक्तिगत स्वार्थ छैन । जनताकै सेवाको लागि म आएको हो ।

आरोप नै भए पनि त्यो घटनाको पीडितहरु त अगाडि आएका छन् । ती पीडितहरुलाई चाहिँ तपाईं के भन्नुहुन्छ ? केही भन्नु भएको छ कि छैन ? उनीहरुलाई कुनै सहयोग, राहत दिइएको छ ?

म तपाईंलाई नै प्रश्न गर्न चाहन्छु, कति जना पीडित छन् ? भनिएको घटनामा कति जना पीडित भएको तपाईंले सुन्नु भयो ?

त्यही त पीडित छन् कि छैनन् त ?

छैनन् । कोही पनि पीडित छैनन् । यदि तपाईंले घटनाबारे सुन्नु भएको छ भने म तपाईंलाई प्रतिप्रश्न गर्न चाहन्छु, कति जना पीडित छन् ?

मैले तपाईंबाट त्यही जान्न खोजेको, तपाईं नै भन्नुस् न ?

केपी ओलीले कतै ३२ जना भनेका छन्, कतै ३५ जना । आखिर कति जना घाइते थिए त ? म आफै सुन्न चाहन्छु । जसले यति जना, उति जना पीडित छ भनिरहेका छन्, तिनले मलाई बताइदिउन्, यो घटना के थियो र पीडित कति जना थिए ? म जान्न चाहन्छु र रौतहट क्षेत्र नम्बर २ का जनता जान्न चाहन्छन् ।

भनेपछि त्यस्तो कुनै घटना भएको थिएन ? त्यसमा कुनै पीडित थिएनन् ? राज्य वा त्यस बेलाको सरकारले अफवाह फैलायो भन्ने हो तपाईंको भनाइ ?

हो, त्यही हो ।

भनेपछि एक जना पनि पीडित छैनन् ?

छैनन् ।

तपाईंले आफ्नो हजुरबुबा, बुबाको राजनीतिक विरासत जोगाउन सक्नुहुन्छ जस्तो लाग्छ ?

धेरै जनाले यही पारिवारिक विरासत जोगाउने कुरा गर्नुहुन्छ । विरासत होइन, म चुनावमा आफै सक्रिय भएर लागिरहेको छु । जनताको बीचमा गएर घर घरमा भोट माग्दैछु । जनताले चाहे भने मलाई मत दिनेछन् ।

विरासत मात्रै होइन । यो लोकतन्त्र हो, सबैले चुनाव लड्न पाउँछन् । मेरो पनि अधिकार हो । मलाई कसैले श्रीपेच लगाइदिएको होइन । विरासत त त्यसरी निरन्तर हुन्छ ।

तपाईंको जितको आधार के हो ? प्रतिस्पर्धीबाट कत्तिको चुनौती पाउनु भएको छ ? विशेषगरी एमाले र जसपा मिलेर उम्मेदवार उठाएका छन्, गाह्रो त होला नि ?

यहाँ सबैभन्दा बलियो आधार भनेको नेपाली कांग्रेसको संगठन हो । नेपाली कांग्रेसको संगठन बलियो भएकै कारण पार्टीले गठबन्धनसँग यस क्षेत्रमा हामी सिट राख्छौं भन्यो । मेरा बुबा पूर्व मन्त्री मोहम्मद आफताव आलमले यो दुई नम्बर क्षेत्रमा मात्र होइन, जिल्लाभरि बलियो संगठन बनाउनु भएको थियो । अझ स्वर्गीय शेख इद्रिसकै पालादेखि यहाँको नेपाली कांग्रेसको संगठन एकदम बलियो छ ।

उहाँहरूको व्यक्तिगत प्रभावको कारण घरदैलोमा मत माग्न जाँदा मैले स्वागत पाइरहेको छु । सायद नै कुनै यस्तो घर होला जसमा स्वर्गीय इद्रिसको लगानी नहोस्, जसमा मोहम्मद आफताव आलमको लगानी नहोस् । हरेक घरघरमा उहाँहरूको लगानी छ । उहाँहरू सधैँ आमजनताको सुखदुःखमा सहभागी हुनुभयो । त्यही कारणले मैले जनताबाट न्यानो स्वागत पाइरहेको छु । योभन्दा बलियो जितको आधार के हुनसक्छ ?

भनेपछि जितको लागि ढुक्क हुनुहुन्छ ?

अहिलेसम्मको स्थिति त्यस्तै छ ।

अन्तिममा फेरि पनि सोध्न मन लाग्यो, तपाईंको बुबा आरोपितमात्रै भए पनि जेलमै हुनुहुन्छ । तर उहाँ यति शक्तिशाली हुनुहुन्छ कि पार्टी सभापति शेरबहादुर देउवादेखि सबैलाई आफ्नो प्रभावमा पारेर टिकट दिलाउन सक्नुहुन्छ, यो शक्तिबारे बताइदिनुस् न ?

उहाँमात्र पपुलर होइन । उहाँ एक जना आफैले भोट हालेर मात्र जित्दै आउनु भएको त होइन नि । उहाँ शक्तिशाली होइन, म फेरि दोहोर्‍याउँछु । 

तर टिकट लिनका लागि पनि त यहाँ शक्ति चाहिन्छ नि ?

टिकट लिनका लागि क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका सबै साथीहरूले यहाँबाट सर्वसम्मत गरेर पूर्व मन्त्री मोहम्मद आफताव आलामको एकल नाम राख्यो । तर कानुनी अड्चन आउला भनेर रौतहट क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका मेरा अग्रज नेता, कार्यकर्ताहरूले अब आफतावजी नभए पनि उहाँको छोरालाई लडाउनुपर्छ भने । त्यसमा कसैको विरोध रहेन । अरू कोही म लड्छु भनेर अघि आएन ।

प्रतिस्पर्धी नै रहेनछन् है पार्टीभित्र ?

चुनावको लागि पहिलो त जित्नसक्ने आधार हुनुपर्‍यो । रौतहट जिल्लाका उम्मेदवारदेखि केन्द्रीय नेताहरुले पनि कोही जित्न सक्छ भने मोहम्मद आफताव आलम या उहाँकै छोराले मात्र जित्छ भन्नुभयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहित दाहाल
रोहित दाहाल
लेखकबाट थप