बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

ब्याटलग्राउन्ड धुनषा–१ : अङ्कगणितमा मातृका बलियो !

स्थानीय तहको मतले प्रतिनिधि सभा चुनावमा केही फरक पर्दैन : जसपा
शनिबार, २६ कात्तिक २०७९, १० : ३६
शनिबार, २६ कात्तिक २०७९

धनुषा–१ मा प्रतिनिधि सदस्यका लागि २५ जना प्रतिस्पर्धामा छन् । २५ जनामध्ये १७ जना स्वतन्त्र उम्मेदवार छन् भने आठजना मात्र दलबाट उम्मेदवारी दिएका छन् । 

पाँच दलीय सत्ता गठबन्धनबाट माओवादी केन्द्रका सचिव मातृका यादव, जसपा–एमाले गठबन्धनका जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य दीपक कार्कीबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । २०७४ सालको चुनावमा पनि उनीहरूको बीचमा नै प्रतिस्पर्धा भएको थियो जसमा मातृका यादवले बाजी मारेका थिए । 

सोही क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट मनोज मल्ल ठकुरी, जनमत पार्टीबाट किशोरी साह, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट लक्ष्मण महतो सुडी, नेपाल सद्भावना पार्टीबाट राजदेव महतो, सामाजिक एकता पार्टीबाट केशर मुखिया र राष्ट्रिय स्वतन्त्र पार्टीबाट धर्मेन्द्रकुमार रायले उम्मेदवारी दिएका छन् । 

त्यस्तै, अजयकुमार ठाकुर, लक्ष्मेश्वर साह, जनार्दन मण्डल, जयनारायण यादव, अशोककुमार यादव, युगेश्वर यादव, भूपेन्द्र यादव, महेशकुमार यादव, अशोक मोहितमान, साधु यादव, सूर्यनारायण जोशी, संजित कुमार साह, महेशलाल यादव, विजयकुमार यादव, धिरज प्रसाद न्यौपाने र मोहम्मद तैयब सेख स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

त्यसमध्ये साधु यादवले माओवादी केन्द्रका उम्मेदवार मातृका यादवलाई सहयोग गर्ने घोषणा गरिसकेका छन् । यादवले जसपाबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

दुई नेतापछि चर्चामा जनमत पार्टीका उम्मेदवार किशोरी साह र राप्रपाका मनोज मल्ल ठकुरी पनि छन् । चुनाव अनुगमनका लागि धनुषा–१ पुगेका अधिवक्ता देवशरण यादवका अनुसार उम्मेदवारको बाढी रहे पनि  मतदाताबीच पाँच दलीय गठबन्धन, जसपा–एमाले गठबन्धन, जनमत र राप्रपाका उम्मेदवारको चर्चा छ । यी चारजना उम्मेदवारमध्ये पनि माओवादी केन्द्रका उम्मेदवार मातृका यादव र जसपाका उम्मेदवार दीपक कार्कीबीच नै प्रतिस्पर्धा रहने उनी बताउँछन् । 

अङ्कगणितमा माओवादी केन्द्रका उम्मेदवार मातृका यादवको पल्ला भारी देखिएको छ । पाँच दलीय गठबन्धनले स्थानीय चुनावमा हासिल गरेको मतको हिसाब गर्दा मातृका यादव सो क्षेत्रका लागि सबभन्दा बलियो उम्मेदवार देखिएको उनी बताउँछन् ।  

२०७४ को निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार माओवादीका सचिव यादवले यादवले २६ हजार मत ल्याएर विजय भएका थिए भने तत्कालीन फोरम र राजपा गठबन्धनका उम्मेदवार दीपक कार्कीले १७ हजार मत ल्याएका थिए । 

कांग्रेसका उम्मेदवार आनन्द ढुङ्गानाले १५ हजार मत ल्याएका थिए । अहिले राप्रपाबाट उम्मेदवार बनेका मनोज मल्ल ठकुरी त्यतिबेला स्वतन्त्र उम्मेदवार थिए । उनले त्यतिबेला तीन हजार मत ल्याएका थिए । सो निर्वाचन पनि १२ जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए । मल्लबाहेक सबैको जमानत जफत भएको थियो । 

धनुषा–१ मा पाँचवटा नगरपालिका छन् । त्यसमध्ये एउटा माओवादी केन्द्र र बाँकी सबै कांग्रेसले जितेको छ । सबैला नगरपालिका माओवादी तथा धनुषाधाम, गणेशमान चारनाथ, हंसपुर र मिथिला विहारी नगरपालिका कांग्रेसले जितेको छ । हंसपुर नगरपालिकाका पाँच र मिथिलि विहारी नगरपालिकाका चारवटा वडा धनुषा–१ मा छन् । 

धनुषा–१ मा जम्मा ४५ वटा वडा छन् त्यसमध्ये पाँच दलीय गठबन्धनले ३५ वटा वडा जितेका छन् । यस हिसाबले पनि गठबन्धनका उम्मेदवार मातृका यादव कति बलियो छन् भन्ने पुष्टि हुने शिक्षक संघ मधेस प्रदेश समितिका अध्यक्ष मेघनाथ यादवले बताए । स्थानीय तहको चुनावको प्रभाव पक्कै पनि प्रतिनिधि सभाको चुनावमा देखिने बताउँदै उनले गठबन्धनले ल्याएको मतको आधारमा मातृका यादव धेरै अगाडि रहेको जिकिर गरे ।

‘सुरुमा मातृका यादवको अवस्था ठीक थिएन, तर अहिले पछिल्लो समय निकै सुधार भएको छ । कांग्रेसका केही नेताहरू रुष्ट थिए तर अहिले उनीहरू पनि चुनाव प्रचारमा हिँड्न थालेका छन्,’ उनले भने, कांग्रेसका नेताहरूले पनि गठबन्धन जित्नुपर्छ भनेर बुझेका छन् र त्यसलाई प्रतिष्ठाको विषय बनाए मातृकालाई जिताउन लागि परेका छन् ।’ माओवादी द्वन्द्वबाट पीडितहरूले केही गुनासो गरेका छन् । त्यसैले कांग्रेसको ५–७ प्रतिशत मत यताउती हुने सम्भावना रहेको तर बिस्तारै उनीहरूले पनि मातृकालाई नै समर्थन गर्ने उनले बताए ।

सो क्षेत्रका स्थानीय पत्रकार सुरेश यादव भन्छन्, ‘प्रतिस्पर्धामा मातृका र दीपक भएपनि पाँच दलीय गठबन्धनका कारण मातृका यादव धेरै अगाडि हुनुहुन्छ ।’ गठबन्धनबाट दलबाट १० प्रतिशत मत यताउती भएपनि मातृका यादव अत्यधिक मतले जित्ने आँकलन भइरहेको उनले बताए । 

कसको शक्ति कति ?

स्थानीय चुनावमा सत्ता गठबन्धनले वडामा ४० हजार ४१८ मत प्राप्त गरेको थियो भने जसपा–एमाले गठबन्धनले २५ हजार ६०१ मत मात्र प्राप्त गरेको थियो । सिके राउत नेतृत्वको जनमत पार्टीले तीन हजार ३२० र राप्रपाले चार हजार ९४६ मत ल्याएको थियो । 

सबभन्दा बढी मत कांग्रेसले १८ हजार ५१४ त्यसपछि माओवादी केन्द्रले १२ हजार ३४३ मत ल्याएको थियो । त्यसपछि लोसपाले ६ हजार ६२४ र नेकपा (एकीकृत समाजवादी) ले दुई हजार ९३७ मत ल्याएको थियो । उता, एमालेले १६ हजार ५८१ र जसपाले नौ हजार २० मत ल्याएको थियो । 

तर जसपाका केन्द्रीय परिषद् सदस्य श्यामनारायण यादवले यो प्रतिनिधि सभा चुनावमा स्थानीय तहको मतले केही फरक नपार्ने दाबी गरे । उनले रातोपाटीसँग कुरा गर्दै भने, ‘स्थानीय तहको मत स्थानीय हिसाबकिताबले आएका हुन्छन् । प्रतिनिधि सभाको मत केन्द्रीय सोचका आधारमा आउँछ त्यसैले स्थानीय तहको हिसाब किताबले कोही जित्ने, हार्ने हुँदैन ।’

आफ्ना पार्टीका उम्मेदवार दीपक कार्कीको जित निश्चित रहेको बताउँदै उनले धनुषा–१ का जनताले परिवर्तन चाहेको कारण दीपक कार्कीको पक्षमा माहोला बन्दै गएको दाबी गरे । 

गठबन्धनको भरोसा

मातृका यादवलाई गठबन्धनमा कांग्रेसको भर रहेको छ । कांग्रेसले पूर्ण रूपमा मत गरे भने उनी अत्यधिक मतले जित्ने माओवादी नेताहरूको दाबी रहेको छ । माओवादीका धनुषा जिल्ला अध्यक्ष दीपक यादव भन्छन्, ‘कांग्रेसका मतदाताहरू मत दिन तयार छन्, मातृका यादवका साथमा घरदैलोमा घुमिरहेका छन् । कांग्रेसमाथि कुनै प्रकारको आशंका गर्नु उचित हुँदैन ।’ कांग्रेसको १० प्रतिशत मत यताउती भएपनि मातृका यादव भारी मतले जित्ने आफूहरूको दाबी रहेको बताउँदै उनले संविधान विरोध, मधेस विरोधी, नागरिकताविरोधी दलका उम्मेदवारलाई धनुषा–१ का जनताले मत नदिने लगभग निश्चित नै रहेको दाबी गरे । 

‘राष्ट्रिय/अन्तर्राष्ट्रिय छवि बनाइसकेका मातृका यादवले मधेसलाई पहिचान दिलाएका व्यक्ति हुन्, जनताको मन बसिसकेका उनको जित निश्चित छ,’ उनले दाबी गरे । 

दीपक कार्की पहाडी समुदायका हुन् । राप्रपाबाट पनि मनोज मल्ल पहाडी समुदायकै हुन् । त्यसैले मनोजले दीपक कार्कीको मत काट्ने आँकलन सत्ता गठबन्धनले गरेको छ । त्यस्तै, एमालेबाट एकजना बागी उम्मेदवार पनि बनेका छन् । जसपा–एमाले गठबन्धनबाट टिकट नपाएपछि उम्मेदवारी दिने दिन एमालेबाट अलग भएर किशोरी साहले जनमतबाट उम्मेदवारी दिएका छन् । 

एमालेको मत किशोरी साहले पनि काट्ने सत्ता गठबन्धनमा रहेका दलहरूको अनुमान छ । जनमत र राप्रपाले आफूहरूको होइन, जसपा–एमालेको मत काटिरहेको दाबी अध्यक्ष दीपक यादवको रहेको छ । 

तर जनमत पार्टीको आँकलन अर्कै रहेको छ । सत्ता गठबन्धन र जसपा–एमाले गठबन्धनको लडाइँमा वाजी मार्ने दाउमा जनमत पार्टी रहेको छ । ‘दुवै गठबन्धनमा रहेका दलहरूमा असन्तुष्टि छ । गठबन्धनको राजनीतिलाई नरुचाउने थुप्रै मतदाता छन् । त्यो मत पनि जनमतमै आउने हामीले आँकलन गरेका छौँ,’ धनुषा १ का क्षेत्रीय इन्चार्ज बीपी साहले बताए । 

किशोरी साह एमालेबाट आएको र एमालेका ७५ प्रतिशत मत उनीसँग नै रहेको दाबी गर्दै नेता साहले भने, ‘यहाँ जातीय कलस्टरमा पनि यादवबाहेकका अधिकांश मत जनमतलाई नै आउँछ । यो क्षेत्रमा पहाडी–मधेसी, यादव–नन यादवको लडाई छ त्यसको फाइदा पनि जनमतलाई भइरहेको छ ।’ उनले आफ्नो उम्मेदवार किशोरी साह जित्ने लगभग निश्चित रहेको दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप