बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

जसपाले प्रतिगमनकारी शक्तिलाई साथ दियो, त्यो उसको महाभुल हो : मातृका यादव

शनिबार, २६ कात्तिक २०७९, १० : ३९
शनिबार, २६ कात्तिक २०७९

‘गर्व से कहु मधेसी छी, विदेशी भगौडा नै धरती पुत्र छी’ माओवादी शान्ति प्रक्रियामा आएपछि मातृका यादवले काठमाडौँको भित्ता भित्तामा लेख्न लगाएको नारा हो यो । त्यति मात्र होइन, उनले संयुक्त राष्ट्र संघसम्म मधेसलाई औपचारिक रुपमा पुर्याउने काम गरे । त्यही मातृका यादव धनुषा–१ बाट मंसिर ४ मा हुन गैरहको प्रतिनिधिसभा सदस्यका लागि पाँचदलीय सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका छन् । 

नागरिकताको समस्या, संविधान संशोधनलगायत शिक्षा, स्वास्थ्य र रोजगारको व्यवस्था गर्ने लगायत एजेण्डा लिएर मतदातासमक्षा पुगेका मातृका यादवको प्रतिस्पर्धा जसपा–एमाले गठबन्धनका उम्मेदवार जसपाका केन्द्रीय सदस्य दीपक कार्कीसँग छ । स्मरण रहोस्, मातृका यादवले गत चुनावमा पनि कार्कीलाई हराएका थिए । उनकोे चुनावी एजेण्डा, तयारी कस्तो छ ? गठबन्धन नै किन ? लगायतका विषयमा प्रस्तुत छ, माओवादी केन्द्रका नेता यादवसँग रातोपाटीका लागि गरिएका कुराकानीका सम्पादित अंशः 

तपाईंं विगतको चुनाव वाम गठबन्धनबाट जित्नु भएको थियो । यसपटक पनि पाँच दलीय गठबन्धनबाट चुनाव लड्दै हुनुहुन्छ, गठबन्धनकै अवश्यकता किन ?

–नेपालमा मात्र होइन, विश्वमा पनि गठबन्धनको राजनीति हुन्छ । राजनीतिक अवश्यकताका आधारमा गठबन्धन बन्छ । कुनै राजनैतिक संकट आउँदा त्यसलाई सामूहिक रुपमा निदान गर्नका लागि गठबन्धन बन्छ । देशका लागि कुनै आवश्यक निर्णय लिनका लागि बहुमत पुर्याउन गठबन्धन बन्छ अर्थात् गठबन्धन रहरले होइन बाध्यताले बनेको हुन्छ । संयोगवश म दुवै पटकको त्यो गठबन्धनको हिस्सा बनें । गठबन्धन बनेपछि त्यसको साझा उम्मेदवार बनेँ । अघिल्लो चुनाव पनि जितेँ, अहिलेको पनि जित्दैछु । 

गठबन्धन रहरले होइन बाध्यताले बन्छ भन्नुभयो, यसपटकको गठबन्धन बनाउन के बाध्यता आइलाग्यो त ?

–तपाईंहरूलाई थाहै होला, यसपटक त संघीयता र गणतन्त्र नै खतरामा परिसकेको थियो । सरकारको नेतृत्व गरेको बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई दुई पटक संसद विघटन गर्नुभयो । यसरी उहाँले संघीयता र गणतन्त्रलाई नै समाप्त पर्ने षड्यन्त्रमा लागि सक्नु भएको थियो । त्यही थाहा पाएर संघीय पक्षधर दलहरू संविधानको रक्षाका लागि गठबन्धन बनाए । र, देशलाई संकटमा जानबाट रोके । 

यदि त्यतिबेला पाँच दलीय गठबन्धन नबनेको भए, आज यो अवस्थामा चुनाव हुने थिएन । देशमा अर्कै उथल पुथल भइसकेको हुन्थ्यो । त्यतिबेला एमाले सबैभन्दा ठूलो दल थियो । उसले कुनै दलसँग साँठगाँठ गरेर जे पनि गर्न सक्थ्यो । त्यसलाई रोक्न एक्ला एक्लै दलले सक्दैनथे । एमाले अर्थात् केपी शर्मा ओलीको षड्यन्त्र तोड्न सबै दल एक ठाउँमा आएका हुन् । 

ओलीको षड्यन्त्र त तोड्नुभयो, सरकार पनि बनाउनु भयो । अर्थात् जे प्रयोजनका लागि गठबन्धन बनाउनु भएको थियो, त्यो पुरा भएपछि फेरि त्यसैलाई किन निरन्तरता दिएको नि ?

–एउटा सरकार हटाएर अर्को कोही सरकारमा जानु ठूलो कुरा होइन । मुख्य कुरा षड्यन्त्र के का लागि भइरहेको छ, किन भइरहेको छ, त्यसलाई रोक्नु आवश्यक हुन्छ । ओलीले संसद विघटन गर्दा गठबन्धनमा रहेका दलहरू सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि संसद पुनस्र्थापना भयो । अर्को सरकार बन्यो । संसद पुनःस्थापना गर्नु र सरकार बनाउनु मात्र संकट निवारण गर्ने कदम होइन । षड्यन्त्रको जरासम्म गएर संकटको निदान गर्नुपर्छ । 

सरकारमा रहेको बेला षड्यन्त्र पुरा नभएपछि ओलीले आफ्नो त्यो मिसन अर्को एंगलबाट पुरा गर्ने सोचका अगाडि बढ्नु भयो । राजावादी र नदेखिएका केही शक्तिलाई हातमा लिएर चुनावबाट संघीयता र गणतन्त्रलाई नै समाप्त पर्ने षड्यन्त्र उहाँले सुरु गर्नुभयो । राजवादीसँग गठबन्धन गर्नुको साथै जताततै स्वतन्त्र उठाएर देशको राजनीतिक माहोल नै बिगार्नुभयो । 

त्यही भएर संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि गठबन्धन नै बनाएर चुनावमा जाने सहमति भयो । पाँचदलीय गठबन्धन नभए भए ओलीले राजवादीहरूसँग गठबन्धन गरेर देशमा उथल पुथल मचाउनु हुन्थ्यो । त्यसलाई परास्त गर्न गठबन्धन बनेको हो । 

२०७४ को चुनावमा एमालेसँग वाम गठबन्धन गरेर दुई तिहाइ शक्तिको पार्टी नै बनाउनु भयो । त्यतिबेला त्यो षड्यन्त्र थाहा पाउनु भएन ?

–साँच्चै भन्नुहुन्छ भने व्यक्तिगत रुपमा मलाई त्यतिबेला पनि एमालेसँग गरेको गठबन्धन र एकता मन परेको थिएन । मैले पार्टीमा पनि यो कुरा त्यतिबेला राखेको थिएँ । ओली षड्यन्त्रकारी हुनुहुन्छ भने कुरा मलाई पहिलादेखि नै थाहा थियो । पछि त पुष्टि नै भयो । सरकारको नेतृत्व गरेपछि देशको अहित हुुने गतिविधिहरूमा लाग्नुभयो । त्यसको विरोध हामी (माओवादी) ले गथ्र्यौ । 

म त सरकारमै थिएँ, उहाँसँग जहिले डिभेट हुन्थ्यो मेरो, जुन कुरा ओलीलाई मन पर्दैनथ्यो । पछि उहाँको ज्यादती सहन नसकेर मैले उहाँको मन्त्रीपरिषद् छाडेको थिएँ । पछि पार्टीले पनि यो कुरा थाहा पायो । माओवादीका अध्यक्ष प्रचण्डले पनि नेकपामा ओलीको गतिविधिको बारेमा कुरा उठाउन थाल्नुभयो । पछि त प्रचण्डले सार्वजनिक रुपमै ओलीको कर्तुतहरूको बारेमा बोल्नु थाल्नुभयो । 

ओलीसँग बस्न सकिदैन भनी हामी अलग भएका हौँ । हामी अलग भएपनि उहाँले षड्यन्त्र गर्न छाड्नु भएन । त्यसपछि बाध्य भएर गठबन्धन बनाएर षड्यन्त्रलाई चिर्यौ । यो चुनावबाट गठबन्धनले संविधान र गणतन्त्रको रक्षा गर्यो ।

पाँच दलीय गठबन्धन बनाउँदा पनि तपाईंको प्रतिस्पर्धा जसपा–एमाले गठबन्धनका उम्मेदवारसँग नै रहेको देखिन्छ नि ?

–खेलमा कोही धेरै शक्तिशाली र कोही निकै कमजोर भएपनि प्रतिस्पर्धा त हुन्छ नि । प्रतिस्पर्धाबाट मात्र हार–जीत निश्चित हुन्छ । मेरो प्रतिस्पर्धी निकै कमजोर छन् । चुनावबाट हाम्रो गठबन्धन दोब्बर मतले चुनाव जित्दैछ । तर एउटा कुरा के मनन गर्नुपर्छ भने आफ्नो प्रतिस्पर्धीलाई कहिले पनि कमजोर ठान्नु हुन्न । यदि प्रतिस्पर्धामा आएका छन् भने उसँग पुरै शक्तिका साथ लड्नुपर्छ । चुनाव जित्नका लागि गठबन्धन दलले आफ्नो सम्पूर्ण शक्ति लगाइ रहेका छन् ।

तपाईंको प्रतिस्पर्धी जसपाका दीपक कार्की हुन् त ?

–दीपक कार्की मात्र होइन, यो क्षेत्रमा उम्मेदवारी दिएका सबै प्रतिस्पर्धी नै हुन् । प्रतिस्पर्धी नभएको भए निर्विरोध भइ हाल्थे नि । चुनाव लडेका छन् भने थोरबहुत मत सबैले ल्याउँछन् । 

सत्ता गठबन्धनसँग के त्यस्तो तागत छ, जो यसरी हाकाहाकी चुनाव जित्ने दाबी गर्दैछ ?

–गठबन्धनमा जति पनि दलहरू छन्, ती सबै दल जानाधार भएका दलहरू हुन् । गठबन्धन दलसँग जनता छन्, उसँग मत छ । त्यही भएर उसले चुनाव जित्छ । विगतको स्थानीय तहमा गठबन्धन दलले आफ्नो शक्ति देखाइसकेको छ । 

अर्को, कुरा हामीसँग मुद्दा छ, हामी अग्रगामी पक्षधर हौँ, संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षक हौँ । जनताको पीडालाई हामी उठाउँछौँ । संसद, सडक र सरकारमा हामी मधेसी, आदिवासी जनजाति, महिला, मुस्लिम, अल्पसंख्यक, पिछडिएका समुदायको अवाज उठाउँछौँ । त्यही भएर त्यही जनताको मत लिएर चुनाव जित्ने हाम्रो दावी रहेको छ । 

धनुषा–१ जहाँबाट म चुनाव लड्दैछु, त्यो क्षेत्रमा ४५ वडा छन् । त्यसमध्ये पाँच दलीय गठबन्धनले ३५ वटा वडा जितेको छ । सबै पालिका माओवादी र काँग्रेसले मात्र जितेका छन् । त्यसको आधारमा हामी यो चुनाव शानदार ढंगले दोब्बर मत ल्याएर चुनाव जित्दैछौ भन्ने हाम्रो दावी छ । 

अहिलेको गठबन्धन सरकारबाट जनता सन्तुष्ट छैनन् । नागरिकताको समस्या समाधान भएन, किसानले मल, बीउ पाएनन् । भ्रष्टाचार अनियमितता बढे, विकास निर्माणका सबै काम ठप्प भएको छ, जस्ता गुनासो छ नि ?

–तपाईंले भनेको गुनासो जायज हो । नागरिकता समस्या हामीले समाधान गर्ने प्रयास गर्यौँ । दुवै सदनबाट दुई दुईपटक त्यसलाई पारित गराएर राष्ट्रपतिसमक्ष पठायौँ । तर राष्ट्रपतिले त्यसलाई प्रमाणीकरण गर्नुभएन । उहाँले प्रमाणिकरण किन गर्नुभएन, त्यो घाम जत्तिकै छर्लङ्ग छ । राष्ट्रपतिले एमालेको निर्देशनमा नागरिकता विधेयकको प्रमाणीकरण गर्नुभएन । र, जनता नागरिकताबाट बन्चित हुनुपर्ने अवस्था आयो । 

तर हामी के विश्वास दिलाउन चाहन्छौँ भने चुनावपछि बन्ने गठबन्धनको सरकारले पहिलो काम नागरिकतासम्बन्धि समस्या समाधान गर्नेछ । अहिले चुनावमा सबैभन्दा बढी उठ्ने कुरा नागरिकताको नै हो । एमालेले नागरिकता विधेयक पारित हुन दिएन भने कुरा सबै मतदाताले थाहा पाइसकेका छन् । 

२०७८ असारमा गठबन्धनको सरकार बन्यो । केही समय त ओलीले गरेको गलत काम सुधार्नमा समय लाग्यो । त्यसपछि स्थानीय तहको चुनाव यो सरकारले नै गरायो । स्थानीय तहको चुनावपछि प्रतिनिधिसभा र प्रदेश सभा चुनावको तयारीमा लाग्यो । अर्थात् ओलीलाई हटाएर गठबन्धन भएको सरकार मुलतः चुनावी सरकार नै हो । तै पनि यो सरकारले देशमा सुशासन कायम गर्न हालसम्म सफल भएको छ । चुनावपछि बन्ने गठबन्धनको स्थिर सरकारले सबै काम गर्नेछ ।

गठबन्धन बनाउन पहल गरेको उपेन्द्र यादव नेतृत्वको जसपा अहिले एमालेसँग गठबन्धन गरेर तपाईंको प्रतिस्पर्धी बनेको छ, जसपाले किन यस्तो कदम उठायो भन्ने लाग्छ तपाईंलाई ?

–जसपाले किन यस्तो गर्यो त्यो कुरा त उसैले जवाफ दिने हो । तर जसपाले जुन प्रतिगमनकारी शक्तिलाई साथ दियो, त्यो उसको लागि महाभुल हो । जसपा पनि प्रतिगमनकारी भयो । मधेसी जनतालाई नागरिकता नदिलाउनमा जसपाको पनि हात रहेको कुरा आज पुष्टि भएको छ । एमालेले मधेसमा आतकं मचाएको छ, त्यसमा जसपाको पनि हिस्सा रहेको कुरा आज आएर पुष्टि भएको छ । 

जसपा मधेसका लागि आन्दोलन गरेको ती सबै देखावटी रहेको कुरा पनि आज आफै पुष्टि गरेको छ । यदि त्यस्तो नभएको भए मधेस विरोधी, संघीयता विरोधी, गणतन्त्रका विरोधी केपी ओलीसँग जसपा किन जान्थ्यो र ? 

२०७४ सालदेखि संविधान संशोधनका लागि पटक पटक प्रयास भयो । माओवादी र काँग्रेसले पटक पटक संसदमा प्रस्ताव लगे तर एमालेले त्यसलाई हुन दिएन । संविधान संशोधनकै लागि थुप्रै मधेसी युवाले सहादत पाए, तैपनि ओलीले संविधान संशोधन हुन दिएनन् । आज त्यही ओलीलाई जसपाले साथ दिएको छ, किन ? त्यसैले जसपा मधेसको हितमा होइन, सत्ता र कुर्सीका लागि राजनीति गरिरहेको कुरा पुष्टि भएको छ । अब जसपाबारे मधेसी जनतामा कुनै भ्रम छैन ।  

२०७४ मा यही क्षेत्रबाट चुनाव जितेर गएपछि तपाईं फेरि फर्केर जनतालाई भेट्न जानु भएन भन्ने गुनासोबारे के भन्नु हुन्छ ?

–होइन, यो गलत कुरा हो । विपक्षीहरूले अफवाह फैलाइरहेका छन् । म पनि क्षेत्रमा घुमिरहेको छु । घरदैलोमा गइरहेको छु, त्यस्तो गुनासो कहीँ कतै सुनेको छैन । म आवश्यकताअनुसार क्षेत्रमा आएकै छु । जनताको समस्या बुझेर समाधान गर्ने प्रयास गरेकै छु । विकास निर्माणका पनि थुप्रै काम गरेको छु । यसबारे तपाईं जनतालाई नै सोध्नुस् कि म क्षेत्रमा फर्केर आएको छु कि छैन ? विपक्षीको कुरा सुनेपछि यस्तै यस्तै कुरा आउँछ । 

तपाईं के एजेण्डा लिएर जनताको माझमा गैराख्नु भएको छ ?

–जनताको पहिलो आवश्यकता शिक्षा, स्वास्थ्य र रोजगार नै हो । यी सबै आवश्यकता पुरा भयो भने जनतालाई केही नदिए पनि उसले आफ्नो गुजारा गर्न सक्छ । मेरो ध्यान पनि त्यसैमा छ । मधेसी, आदिवासी जनजाति, मुस्लिम, थारूलगायतले अहिले पनि पूर्ण रुपमा अधिकार पाएका छैनन् । संविधान संशोधन गरेर उनीहरूलाई अधिकार दिलाउनका लागि मैले पहल गर्छु । 

काठमाडौँको भित्ता भित्तामा मैले ‘गर्व स कहु मधेसी छी, विदेशी भगौडा नै धरती पुत्र छी’ भनी नारा लेख्न लगाएको थिएँ । त्यसलाई साकार पार्ने काम बाँकी नै छ । पहिलो संविधानसभा अघि पुस्तौदेखि नागरिकताबाट बञ्चित मधेसीहरूलाई नागरिकता दिलाउने पहल मैले गरेको थिएँ तर अझै त्यो पुरा भएको छैन । चुनावपछि पहिलो काम त्यही हुनेछ । 

मधेसी मुद्दालाई संयुक्त राष्ट्र संघमार्फत् अन्तराष्ट्रियकरण गरे र मधेस शब्द संघमा राख्न मैले नै लगाएको हुँ । अब आफ्नो देशमा त्यसको पहिचान स्थापित गराउन बाँकी छ । मातृभाषा रक्षाका लागि मैले कामकाजको भाषामा प्रयोग गराउन पहल गर्ने, म नै यस्तो पहिलो मन्त्री हुँ जो मातृभाषामा सपथग्रहण गरेको थिएँ । अब त्यसलाई सार्थकता दिने मेरो काम हुनेछ । देशमा संघीयता र गणतन्त्र त आयो तर त्यसलाई संस्थागत गर्न धेरै काम बाँकी छन् । चुनावपछि यी सबै काम पुरा गर्नुछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप