शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री राउतलाई ‘लौरो’ को चुनौती

आइतबार, २७ कात्तिक २०७९, १० : ३०
आइतबार, २७ कात्तिक २०७९

जनता समाजवादी पार्टी नेपालका कार्यकारणी सदस्य एवम् मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई आसन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारले चुनौती दिने देखिएको छ । 

पर्सा क्षेत्र नम्बर १ (ख) बाट प्रदेश सभा सदस्यका लागि एमाले–जसपाका साझा उम्मेदवार बनेका राउतका लागि स्वतन्त्र उम्मेदवारहरू चुनौती बनेका छन् । पर्सा १ (ख) का प्रदेश सभा सदस्यमा २० जनाले उम्मेदवारी दिएका छन् त्यसमध्ये १२ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । 

जसपाबाट लालबाबु राउत, काँग्रेसबाट रामनारायण प्रसाद कुर्मी, जनमत पार्टीबाट शिवप्रसाद यादव, हाम्रो नेपाली पार्टीबाट ओमप्रकाश सर्राफ, जनता प्रगतिशिल पार्टी, नेपालबाट अङ्कुश पटेल, राप्रपाबाट विनयप्रसाद झा, नेपाल लोकतान्त्रिक पार्टीबाट हरिन्द्रप्रसाद कुर्मी, नेपाल सुशासन पार्टीबाट मनौवर हुसेनले उम्मेदवारी दिएका छन् । 

त्यस्तै, कासिम मियाँ धोवी, श्यामप्रसाद गुप्ता, मुकेश साह सोनार, विशाल कुमार, रोगीन्द्र ठाकुर हजाम, जुनैद हुवारी, आफताब अहमद, शशीकपुर मियाँ, राकेश कुमार दुवे, रामरुप प्रसाद साह, पुन्देश्वर प्रसाद यादव र सन्तोष कुमार श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।   

यी उम्मेदवारहरू ओमप्रकाश सर्राफ र शशी कपुर मियाँले मुख्यमन्त्री राउतको टक्कर दिइरहेका छन् । सर्राफ हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएका छन् तर उनले आफूलाई ‘स्वतन्त्र उम्मेदवार’ नै भन्छन् । लौरो अभियान अन्तरर्गत आफूले लौरो चुनाव चिन्ह लिनका लागि सो पार्टीबाट उम्मेदवारी दिएको तर आफू स्वतन्त्र उम्मेदवार रहेको उनले बताए । नेता सर्राफ लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बाट विद्रोह गरेर लौरो अभियानमा सामेल भएर चुनावमा उठेका हुन् । उनी लोसपा वीरगञ्ज महानगरपालिका समितिका अध्यक्ष थिए । लामो समय सो पार्टीमा रहेर काम गरे पनि उनलाई पार्टीले टिकट नदिए पछि उनी लौरो चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका हुन् ।

त्यस्तै शशी कपुर मियाँ जसपाबाट विद्रोह गरेर उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । पर्सा १ (ख) मा जसपा–एमाले गठबन्धनबाट उम्मेदवार बनेका राउत, सत्ता गठबन्धनबाट उम्मेदवार बनेका काँग्रेसका नेता रामनारायण प्रसाद कुर्मी, स्वतन्त्र उम्मेदवारहरू ओमप्रकाश सर्राफ र शशी कपुर मियाँबीच प्रतिस्पर्धा रहेको सामाजिक अभियन्ता प्रकाश थारुले बताए ।

यी तीनजनामध्ये मुख्यमन्त्री राउत निकै पछाडि रहेको बताउँछन् अर्का नागरिक अगुवा मदन गुप्ता । उनी भन्छन्, ‘मुख्यमन्त्रीले जुन अवसर पाउनु भएको थियो त्यो अवसर गुमाउनुभयो, यसपटक उहाँको जमानत जफत हुन्छ ।’ महानगरभित्र पर्ने सो क्षेत्रमा मुख्यमन्त्री राउतको निकै आलोचना हुने गरेको छ । वीरगञ्जलाई मधेस प्रदेशको राजधानी बनाउने प्रतिबद्धता गरे पनि उनी चुनाव जितेर गएका थिए तर जनकपुरलाई राजधानी बनाएको कारण क्षेत्रमा राउतको गुनासो निकै भइरहेको उनी बताउँछन् । 

ठुला भ्रष्टाचारमा उनको नाम मुछिएको कारणले पनि मतदातामा उनीप्रति निराशा रहेको बताउँछन् प्रकाश थारु । मुख्यमन्त्री राउतलाई हराउने अभियान नै यहाँ चलेको बताउँदै उनले भने, ‘राउतले मधेसको मुद्दालाई भजाए तर वीरगञ्जको लागि केही गरेनन् ।’ 

​‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियानअन्तर्गत साइकल खरिदमा भएको भ्रष्टाचारले पनि मतदाताको नजरमा पूर्वमन्त्री राउतको छवि राम्रो धुमिल भएको अभियन्ता थारु बताउँछन् । ‘पोखरी सौन्दर्य कार्यक्रममा पनि राउतले भ्रष्टाचार गरेको कुरा बाहिर आएको छ । छोरी बीमा पनि लागु गराउन नसकेको कारणले राउतको ग्राफ तल झरेको छ,’ उनले बताए । 

पर्सा १ (ख) मा मुस्लिम समुदायको मत करिब ६ हजार रहेको छ । तर राउत आफू मुस्लिम भएर पनि समुदायका लागि केही नगरेको उनीहरूको गुनासो छ । ‘मुस्लिम समुदायको नाममा उनी मुख्यमन्त्री बने तर उनले आफूबाहेक अरू कसैका लागि केही गरेनन्,’ अभियन्ता गुप्ताले भने । 

मुस्लिमको मत स्वतन्त्र उम्मेदवार शशी कपुर मियाँले काट्ने धेरैको बुझाइ छ । सो क्षेत्रमा करिब १५ सय ब्राह्मण तथा यादवको मत ५–६ सय रहेका छन् । बाँकी मत वैश्यको रहेका छन् । वैश्यमा बनियाँ, गुप्ता, सोनार, तेली, सुडी, कलवारलगायतका जात पर्छन् । त्यहाँ हजार १५ सय दलितको मत पनि रहेको छ । 

पर्सा १ (ख) मा महानगरपालिका नौवटा वडा रहेका छन् । महानगरपालिकाका मेयरमा जसपा जितेको छ भने ती नौवटा वडामध्ये जसपाले ४, काँग्रेसले ३ र एमालेले २ वटा वडा जितेको छ । स्थानीय तहको मतको हिसाब गर्ने हो भने जसपा–एमाले गठबन्धन बलियो देखिएको छ । 

काँग्रेस सो क्षेत्रमा दोस्रो स्थानमा छ । तर पार्टीबाट उम्मेदवार बनेका उम्मेदवार रामनारायण प्रसाद कुर्मी अर्को क्षेत्रबाट त्यहाँ चुनाव लड्न आएको गुनासो भइरहेको छ । यद्यपि उनी पनि बलियो उम्मेदवार रहेको प्रकाश थारु बताउँछन् । उनी भन्छन्, ‘पर्सा १ (ख) मा मुख्यमन्त्री राउत, रामनारायण प्रसाद कुर्मी, ओमप्रकाश सर्राफ र शशीकपुर मियाँ बीच प्रतिस्पर्धा हुन्छ ।’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप