शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नेताहरूको टाउको गनेर भोट आउने होइन : प्रदीप ज्ञवाली

हामी भारी मतले चुनाव जित्दैछौँ : चन्द्र भण्डारी
सोमबार, २८ कात्तिक २०७९, ०६ : २५
सोमबार, २८ कात्तिक २०७९

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नम्बर १ मा पहिलो संविधानसभा निर्वाचनदेखिका प्रतिस्पर्धी आमनेसामने भएका छन् । यस क्षेत्रमा नेकपा एमालेका तर्फबाट सो पार्टीका उपमहासचिव प्रदीप ज्ञवाली र सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारी उम्मेदवार छन् । २०७० सालमा जितेका भण्डारी २०७४ को निर्वाचनमा ज्ञवालीसँग पराजित भए ।

भण्डारी एक चरणको भेटघाट सकेर  काठमाडौं र बुटवलतिर बस्ने मतदातालाई गुल्मी ल्याउन हिँडेका छन् भने ज्ञवाली रुरु, दिगाम लगायतका ठाउँमा घरदैलो सकेर कालिगण्डकी गाउँपालिकातिर लागेका छन् । निर्वाचन प्रचारकै क्रममा ज्ञवाली र भण्डारीसँग रातोपाटीकर्मी तेजेन्द्र केसीले संक्षिप्त कुराकानी गरेका छन् । प्रस्तुत छ, उनीहरुसँग गरिएको कुराकानीको सम्पादित अंश–

नेताहरूको टाउको गनेर भोट आउने होइन : प्रदीप ज्ञवाली

चुनावी गतिविधी कसरी अगाडि बढाउनु भएको छ ?

निर्वाचन मिति नजिकै आउँदै गर्दा भेटघाट, कोणसभा, भेला लिएर जनता सामु गएका छौँ । दुई जना प्रदेशसभा उम्मेदवार पनि मेरो समन्वयनमा चुनावी भेला तथा कोणसभामा व्यस्त हुनुहुन्छ । कतिपय ठाउँमा घरदैलो कार्यक्रम भएका छन् । अन्य आन्तरिक कामहरू पनि अगाडि बढाइएको छ ।

तपाईका एजेन्डाहरू खास के छन् ?

यो निर्वाचनमा केही राष्ट्रिय एजेन्डा र जिल्लास्तरमा एजेन्डासहित निर्वाचनको  मैदानमा छु । राष्ट्रियस्तरको एजेन्डामा लोकतन्त्रको सफल कार्यान्वयन, समृद्धि सुशासन छन् । समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्ति गर्न जुन ढङ्गले एमाले अगाडि बढेको थियो, त्यसमा सर्वोच्च अदालतको परमादेश र त्यस पछाडिका घटनाक्रमले समृद्धिको यात्रा अवरुद्ध भएको छ ।

एउटा जनादेशको सरकार खण्डित गरेर जुन सरकार बनेको छ, त्यसलाई अन्त्य गर्दै मुलुकलाई पुनः जनआदेश अनुसार समृद्धितर्फ अगाडि बढाउने हाम्रा राष्ट्रिय एजेन्डा हुन् । ती एजेन्डाबाट म पनि स्वतः निर्देशित छु ।

यस्तै, जिल्लामा हामीले सुरु गरेका ठुला र महत्त्वपूर्ण पूर्वाधारहरू कालीगण्डकी करिडोर, मदन भण्डारी राजमार्गको गुल्मी खण्ड, १९ नम्बरको राजमार्ग अगाडि बढेको छ, त्यसलाई सम्पन्न गर्ने । हामीले पालिकास्तरको अस्पताल र जिल्ला अस्पताल बनाइरहेका छौँ । यस्तै, केही खानेपानी आयोजनाहरू निर्माणाधीन छन्, ती पूरा गर्दै जिल्लाको खानेपानी समस्या पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य छ ।

यसका अतिरिक्त खासगरी अहिले विकास गाउँमा पुग्ने तर युवा गाउँमा नरहने अवस्था देखिएको छ । त्यो विरोधाभासलाई अन्त्य गर्ने मेरो लक्ष्य छ । त्यसका लागि परामर्स, बिउपँुजी प्रदान गरेर युवालाई स्वरोजगार बनाउने मेरो मुख्य मुद्दा छ ।

अघिल्लो कार्यकालमा यी काम गर्न सक्नुभएन ?

धेरै काम भएको छ । कतिपय अधुरा छन्, तिनलाई अब पूरा गर्नुपर्छ । कालीगण्डकी कोरिडोर ८० किलोमिटर सडक पिचको लागि ठेक्का लागिसकेको छ । म चाहन्छु, मेरो कार्यकालका उक्त बाटो पिच भएर आरामसँग चीनको सीमानासम्म पुग्न सकियोस् । हिजोका दिनमा हामीले शिलान्यास गरेका अस्पतालहरू सबै पूरा भएर पालिका तहमा उपचार गर्ने अवस्था आउनुपर्छ ।

जिल्ला मुख्यमुख्य खानेपानी आयोजना सम्पन्न भएका छन् । अझै तीनवटा मजिहीम, खज्याङ्ग  र जुनिया खानेपानी आयोजना सम्पन्न गर्नुपर्ने छ । म ६३ सालमा पर्यटन मन्त्री हुँदा सिमी चौरमा सुरु गरेको विमानस्थल निर्माण केही महिना अगाडि सम्पन्न भएको छ । अब त्यहाँबाट नियमित जहाज उडान गर्नुपर्छ । ती योजनाहरू आउने कार्यकालमा पूरा गर्ने छु ।

२०७४ सालमा तपाईले वाम गठबन्धनबाट चुनाव जित्नुभयो, अहिले त्यो अवस्था छैन । अर्कोतिर एमाले पनि विभाजन भएको अवस्था छ । त्यसको असर निर्वाचनमा कस्तो पर्ने छ ?

एमाले विभाजनको असर जिल्ला निकै न्यून छ । तर हिजो एमालेको विद्यार्थी राजनीतिबाट आएकी नेतृ राम कुमारी झाँक्री अहिले  एकीकृत समाजवादी पार्टीको सचिव हुँदै २ नम्बर क्षेत्रमा उम्मेदवार बने पनि उहाँका कार्यकर्ताहरू निकै कम छन् । उहाँ २ नम्बर  आए पनि यहाँ १ नम्बरमा विभाजनको असर छँदै छैन भने पनि हुन्छ ।

हिजो हामी माओवादीसँग तालमेल गरेर  चुनाव लडेका थियौं । अहिले नेपाली कांग्रेस र माओवादीको तालमेल बनेको छ । त्यो गठबन्धनबाट म चिन्तित छैन । किनकि नेताहरूको टाउको जोडेर भोट आउने होइन,  जनताको रुची मुख्य कुरा हो ।

जनताले एमालेले गरेको काम, मैले राष्ट्रिय राजनीति र जिल्लाको विकासको लागि गरेको कामको मूल्यांकन गर्ने छन् । त्यसबाट यहाँ जनता प्रभावित छन् । त्यस कारण अन्य थुप्रै चुनौती चिर्दै एमाले यहाँ विजयी हुन्छ ।

तपाईले जित्ने आधार के छ ?

एमालेको यहाँ बलियो संगठनात्मक धरातल छ । पार्टी जनताको बीचमा लोकप्रिय छ । यस बीचमा मैले चाहे राष्ट्रिय राजनीति होस्, चाहे जिल्लाको विकासका लागि मैले खेलेको भूमिका नै मैले जित्ने मुख्य आधार हो ।

तपाईले जिल्लामा भएको विकासको धेरै बेलीविस्तार लगाए पनि यहाँका जनताहरू सानासाना विकासका काममा ध्यान नदिएको गुनासो गर्दछन् नि ?

धेरै काम गर्दा केही सानातिना छुटेका पनि होलान् । तपाईले भन्न खोजेको चौतारी  भन्ज्याङ्ग रिमुवा सडक होला । म प्रतिनिधिसभाको सदस्य भएको नाताले अन्य विषयमा र विकास निर्माणमा मेरो जोड जाने छ । तर उक्त सडक स्तरोन्नति पनि गर्नुपर्छ । अन्य काम पनि ध्यान दिएर गर्ने छु । एमालेलाई विगतमा यहाँका जनताले मत दिएर काम गर्ने अवसर दिएका छन् । आगामी दिनमा अझै जिल्लालाई नमुना बनाउन मत दिने छन् भन्ने मेरो विश्वास छ ।

जनताको जीवनस्तर नउकासेसम्म विकास भएको मान्न सकिन्न : चन्द्र भण्डारी

तपाईका चुनावी एजेन्डा के के छन् ?

मेरा चुनावी एजेन्डाहरू जिल्ला र राष्ट्रिय गरी दुई बेग्लाबेग्लै छन् । जिल्लास्तरमा हामीले सुरु गरेका सडक, पुल, खानेपानी योजनाहरू पूर्ण रूपमा सम्पन्न गर्ने छौँ । अहिले स्वास्थ्य चौकी छन्, डाक्टर र अन्य सुविधा केही छैन ।  हामीले हरेक पालिकामा डाक्टरसहितको सुविधा सम्पन्न अस्पताल निर्माण गर्नेछौँ ।  विद्यालयहरूलाई प्रविधिसँग जोडेर गुणस्तरीय बनाउँदै माध्यमिक तहसम्मको शिक्षा निःशुल्क बनाउने छौँ ।

बाटोघाटो, खानेपानीलाई मात्र विकास भन्ने  गरिएको छ । खासमा जनताको जीवनस्तर नउकासेसम्म विकास भएको मान्न सकिन्न । यसर्थ राष्ट्रिय एजेन्डाहरूमा वर्तमान सम्मको नीतिमा सुधार ल्याइने छ ।

राजनीतिक अस्थिरता र भ्रष्टाचारको अन्त्य गर्न कडा नीति बनाइने छ । विदेश पलायन भइरहेका युवालाई स्वदेशमै रोजगारी सिर्जना  गर्न उनीहरूलाई सहज लगानीको वातावरण सिर्जना गरिने छ ।

किसानहरूलाई मल, बिउ, सिँचाइ र सडकको  सुविधासँगै बजारीकरण गरेर स्वरोजगारीको ग्यारेन्टी गरिने छ । प्रत्येक पालिकामा कोल्ड स्टोर स्थापना गरी किसानका उत्पादनहरू अफसिजनमा समेत विक्री वितरण हुने  वातावरण बनाइने छ । बाँदर आतङ्कले किसान आजित भइसकेका छन् । त्यो आतङ्क रोक्न विशेष पहल गरिने छ । स्वास्थ्य उपचार  निःशुल्क गर्ने नीतिलाई कार्यान्वयन गरिने छ  ।

स्वास्थ्य बीमा कार्यक्रम हाम्रो सरकारले ल्याएको हो भनेर एमाले नेताहरू भन्दै छन् नि ?

बिल्कुल झुट बोल्दै हुनुहुन्छ उहाँहरू ।  स्वास्थ्य बीमा कार्यक्रम गगन थापाजी स्वास्थ्य मन्त्री हुँदा ल्याएको कुरा सबैलाई जगजाहेरै छ ।

उहाँहरू झुट बोलेरै सबै विकासका कामहरू हामीले गरेका हौँ भन्ने भ्रम छरेर जस लिन खोज्दै हुनुहुन्छ । तर जनता अहिले सचेत भइसकेका छन् । विकासको काम कसले गरेको हो भन्ने बुझेका छन् । म २०७० सालमा संविधानसभा सदस्यमा विजयी हुनु अघिसम्म विकासको अवस्था के थियो ? सबैले बुझेकै कुरा हो । जिल्लाको सदरमुकाम तम्घास र दौघाबाट पहिलोपटक हामीले लिफ्ट सिस्टम खानेपानी योजना हामीले नै ल्याएका हौँ । रिडी रुद्रवेणीदेखि वामीटक्सार सडकसँग कयौँ पुल बनायौँ । अहिले डहरेखोला सहित चार ठाउँमा पुल बनाउँदै छौँ ।

गठबन्धनको सरकार बनेपछि हामीले तीन अरब विकास बजेट पारेका छौँ । सालझण्डी  खज्र्याङ्ग सडक निर्माणका लागि यसै सरकारले १ अर्ब ७० करोड बजेट छुट्याएर टेण्डर भइसकेको छ । त्यस्तै खज्र्याङ्ग, गौडाकोट, मजुवा, शान्तिपुर हुँदै बाग्लुङ्ग जोड्ने सडकमा पनि करोडौँ बजेट पारेका छौँ ।

कालिगण्डकी कोरिडोर निर्माणको जस पनि एमाले नेताहरूले लिन खोज्दैछन् । जबकि सबैलाई थाहा छ, माओवादी जनयुद्धकालमा  सुदर्शनजीहरूले (सुदर्शन बराल) बम पड्काएर उक्त सडकको सुरुवात गर्नु भएको हो । जुन वर्षाैंसम्म अलपत्र परेको थियो ।

तर जब २०६४ सालमा सुदर्शनजी सभासदमा  विजयी भएपछि उहाँ र तत्कालीन मुख्यसचिव लीलामणि पौडेल र तत्कालीन योजना आयोगका सदस्यसचिव युवराज भुसालको पहलमा नेपाली सेनालाई कालीगण्डकी कोरिडोर सडक निर्माणको जिम्मा दिइएको हो । जुन सडक निर्माणमा यसपाली मात्रै हामीले ७ अर्ब रकम छुट्याएका छौँ ।

तर उहाँहरू आफूले गरेको भन्दै हिँड्नु भएको छ र २३ पटक त्यस सडकको उद्घाटन गर्नु भएको छ । त्यसैले त चारपालामा भएको चुनावी कार्यक्रममा एमालेकै एक महिला कार्यकर्ताले झुट नबोल्नुहोस् भन्दै कराएको भिडियो यति बेला युट्युवमा भाइरल भएको छ । झूट पनि कति बोल्न सकेको हो !

चुनाव जित्ने कुरामा कत्तिको ढुक्क हुनुहुन्छ ?

ममात्रै होइन, जिल्लाका दुई वटै क्षेत्र र ४ वटै प्रदेशसभामा गठबन्धनको जित सुनिश्चित छ । गएको निर्वाचनमा एमाले, माओवादी, जनमोर्चासहितको वाम गठबन्धन थियो र  ७ हजार बढी मतले प्रदीपजीले जित्नु भएको हो । अहिले त्यो शक्ति पुरै हामीसँग छ । उति बेला मैले कांग्रेसको मात्रै ३० हजारभन्दा बढी मत ल्याएको थिएँ । अहिले माओवादीको संगठन पनि मजबुत छ ।

अर्कोतिर एमाले टुक्रिएर बनेको एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको मत जोड्दा हामी भारी मतले चुनाव जित्दैछौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप