शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

झलनाथ खनालबाट परिवर्तन सम्भव छैन : महेश बस्नेत

सोमबार, २८ कात्तिक २०७९, १२ : २४
सोमबार, २८ कात्तिक २०७९

महेश बस्नेत इलाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका प्रत्यक्षतर्फबाट नेकपा एमालेका उम्मेदवार हुन् । यसअघि उनी इलाम नगरपालिका मेयर थिए भने अहिले नेकपा एमालेले क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फको टिकट दिएको छ । यसक्रममा इलाम क्षेत्र नम्बर १ का लागि उनका चुनावी एजेन्डा, यो क्षेत्रका समस्या र त्यसको समाधानमा केन्द्रित रहेर महेश बस्नेतसँग रातोपाटीले गरेको  कुराकानीको सम्पादित अंशः  

कस्तो चलिरहेको छ प्रचार प्रसार अभियान ? रेस्पोन्स कस्तो पाउनुभएको छ ? 

ठीक छ । आम रूपमा नागरिकहरूले चासो व्यक्त गर्नुभएको छ । त्यसलाई हामीले सकारात्मक रूपमा लिएका छौँ । 

–गत स्थानीय तहको निर्वाचनको मत परिणाम हेर्ने हो भने उता गठबन्धनको उम्मेदवारभन्दा तपाईं केही कमजेर जस्तो देखिनुहुन्छ । कसरी पार लगाउनु हुन्छ ? 

गठबन्धनको मत बराबर छ भन्ने कुरा विगतको तथ्याङ्क हो । यथार्थ यस्तो नहुन सक्छ । किनभने जनमत जहिले पनि चलायमान रहने विषय हो । यसमा हामीले दिएका कुरालाई नागरिकले कति महत्त्वका साथ हेर्नुहुन्छ, नागरिकले हामीलाई कसरी विश्वास गर्नुहुन्छ, त्यसमा आधारित भएर हामी यो परिवर्तनशील छ भनेर भनिराखेका छौँ । 

–तपाईंका प्रतिस्पर्धी पूर्वप्रधानमन्त्री हुनुहुन्छ । उहाँलाई सत्ता गठबन्धनको पनि साथ छ, हेबी वेट नेता पनि हुनुहुन्छ, तपाईंलाई अलि गाह्रै होला नि ? 

यो कुनै वेटको कुरा होइन । समान हैसियतमा हामी प्रतिस्पर्धा गर्दैछौँ । वेट चाहिँ बक्सिङमा हुन्छ अथवा कराँतेतिर होला, कुनै खेलमा होला । यसको कुनै अर्थ छैन । यसको निर्णय गर्ने भनेको जनताले हो, नागरिकहरूले हो । नागरिकहरूको त्यो मतमा आधारित भएर हामी अगाडि बढ्नुपर्छ । त्यसैले यो कुनै फरक पर्ने विषय होइन ।

–तपाईंको हिजोको नेता पनि हो उहाँ । आफ्नै नेतासँग प्रतिस्पर्धा गर्दा अलि अप्ठ्यारो केही छ कि ? 

हामीलाई कुनै अप्ठ्यारो छैन । मैले अघि पनि भने, उहाँ आफ्नो बाटो लाग्नुभएको छ । हामी आफ्नो बाटोमा छौँ । अब बाटो छोडेर हिँड्ने मान्छेसँग मैले धेरै कुरा गरिरहनुपरेन । 

–तपाईंको एजेन्डा चाहिँ के हुन्छ ? जस्तै यो बाटोमा आउँदा मेची राजमार्ग बिग्रिएको देखिन्छ, चिया बगानका मजदुरहरूको समस्या छ, तपाईंको एजेन्डा के छ त ? 

हामीले राजनीतिक अधिकारका लागि धेरै कुरा उठाइरहनु जरुरी छैन् । हामीले संविधानमा धेरै कुरा व्यवस्थित गरिसकेका छौँ । अब त्यसको कार्यान्वयनको बाटो हो । हामी समाजवादतर्फ लाग्ने भनेर अगाडि बढिसकेपछि त्यसलाई निर्माण गर्ने आधारहरू तय गर्नुपर्छ । 

त्यसैले आर्थिक समृद्धिका अभियानहरूलाई अगाडि बढाउने नै हाम्रो एजेन्डा हो । यहाँका पूर्वाधार निर्माण गर्ने, यहाँको व्यावसायिक कृषिलाई अगाडि बढाउने हामीले एजेन्डा सारेका छौँ । 

–यसअघि तपाईं इलाम नगरपालिकाको मेयर पनि हुनुहुन्थ्योे । त्यतिखेर तपाईंको पर्फर्मेन्स राम्रो भएन भन्ने जनगुनासो पनि रहेछ ? 

त्यस्तो चाहिँ मलाई लाग्दैन । पर्फर्मेन्स हिसाबले हामीले नेपालमा सबैभन्दा उत्कृष्ट नगरपालिकाको पुरस्कारसमेत प्राप्त गरेका छौँ । कोही कोही मान्छेहरूलाई नराम्रो पनि लाग्न सक्छ, त्यो स्वाभाविक हो । 

–तपाईंलाई इलाम क्षेत्र नम्बर १ का मतदाताले किन मतदान गर्ने ? झलनाथ खनाललाई किन नगर्ने भनेर प्रश्न गर्‍यो भने ? 

किन गर्ने भन्ने प्रश्नमा अहिले हामी समृद्धिका कुरालाई रोजिराखेका छौँ । यो समृद्धि, विकास निर्माणका लागि हामीलाई मतदान गर्ने, परिवर्तनका लागि हामीलाई मतदान गर्ने हो । 

–त्यसो त झलनाथ खनालजीले पनि त्यही भन्नुहुन्छ ? 

परिवर्तन उहाँबाट सम्भव छैन । 

–कसरी ?

हामीले ३०औँ वर्ष उहाँलाई अवसर दियौँ । यहाँका नागरिकहरूले ३०औँ वर्ष परीक्षण गर्नुभएको छ । उहाँका कार्यकालहरूलाई हेरेर नागरिकले परिवर्तनको एजेन्डालाई अगाडि ल्याएका छन् । 

–समृद्ध नेपाल, सुखी नेपाली भन्ने राष्ट्रिय आकाङ्क्षा त तपाईंको पार्टीले राष्ट्रिय रूपमा नै उठाइराखेको छ । मूल रूपले त्यही चाहिँ एजेन्डा हो । यहाँको स्थानीय एजेन्डाहरू केके छन् ?

स्थानीय एजेन्डामा हामीले विशेषगरी आर्थिक समृद्धिका कुरालाई नै अगाडि बढाएका छौँ । यहाँको कृषिजन्य उत्पादनमा आएका समस्याको समाधान गर्ने, त्यो समस्या समाधान गरिसकेपछि त्यसलाई विकास गर्ने र अहिले व्यावसायिक बनेको कृषिलाई कसरी औद्योगीकरण गर्नमा प्रवेश गराउन सकिन्छ भन्ने कुरा नै हाम्रा एजेन्डा हुन् । कल्याणकारी सवालमा शिक्षा, स्वास्थ्यलगायतका महत्त्वपूर्ण काम ओझेलमा परेका छन् । त्यसलाई अगाडि बढाउँछौँ भने पूर्वाधारका सन्दर्भमा विशेषतः खानेपानी, बिजुली र सञ्चारमा धेरै समस्या देखिएका छन् । ती कुरालाई हामी अगाडि बढाउँछौँ । त्यसलाई आपूर्ति गर्छौं । सीमा क्षेत्रहरूमा सीमाका समस्या छन् । हामीले उत्पादन गरेका सामग्रीहरूको बिक्रीवितरणमा सीमा समस्या पनि बाधक बनिरहेका छन् । त्यसको समाधानका निम्ति हामी अगाडि बढ्छौँ ।

–प्रधानमन्त्री भएको व्यक्तिले गर्न नसकेका काम महेश बस्नेतबाट कसरी होला भन्यो भने ? 

यो समयको कुरो हो र को मान्छे ठूलो हुनुभयो भन्ने कुरा आफ्नो ठाउँमा छ । कोही कोही साथीभाइहरू त भाग्य अथवा सौभाग्य भनौँ अवसरले जनताबाट नचुनीकनै मन्त्री बन्नेहरू पनि हुनुहुन्छ । प्रधानमन्त्री बन्नेहरू पनि हुनुहुन्छ । कोही अदालतबाटै प्रधानमन्त्री बन्नेहरू पनि हुनुहुन्छ । त्यो बेग्लै कुरा हो । आम जनताका सरोकारका विषयहरूमा उहाँहरूले कतिको चासो दिनुहुन्छ, कतिको योगदान पुर्‍याउनुहुन्छ, त्यसमा निर्भर हुन्छ । 

त्यसैले हामी आम जनताका समस्या समाधानका लागि हाम्रो एजेन्डा हुन्छ । हामी त्यसमा समर्पित भएर लाग्नेछौँ र त्यसलाई समाधान गर्नेछौँ । 

तपाईंका प्रतिस्पर्धीलाई के भन्नुहुन्छ ? 

स्वच्छ प्रतिस्पर्धा गरौँ, जनताको अभिमतलाई स्वीकार गरौँ । जनताको अभिमत नै हाम्रो लोकतन्त्रको स्रोत हो । त्यसलाई सम्मान गरौँ भन्न चाहन्छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहित दाहाल
रोहित दाहाल
लेखकबाट थप