आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रदेशको स्थायी राजधानीबारे फेरि विवाद सृजना गर्नु हुँदैन : पूर्वमन्त्री बराल

सोमबार, २८ कात्तिक २०७९, १३ : २३
सोमबार, २८ कात्तिक २०७९

नेकपा (माओवादी केन्द्र)का लुम्बिनी प्रदेश अध्यक्ष तथा पूर्वमन्त्री सुदर्शन बरालले लुम्बिनी प्रदेशको स्थायी राजधानीबारे फेरि विवाद सृजना गर्न नहुने बताएका छन् । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रदेशको स्थायी राजधानी दाङ तोकिएको भएपनि बुटवल सार्न सकिने अभिव्यक्ति दिएपछि यसबारे राजनीतिक वृत्तमा नयाँ तरंग उत्पन्न भएको छ । एमालेकै महासचिव शंकर पोखरेलले भने राजधानी सार्न सम्भव नभएको तर्क गर्दै आएका छन् ।

माओवादी केन्द्रका नेता बरालले रातोपाटीसँगको संवादमा भने– ‘एकपटक प्रदेश सभाले स्थायी राजधानी तोकिसकेको छ, यसलाई पटक–पटक बल्झाएर जनतालाई द्धन्द्धमा पार्नु हुँदैन ।’ संविधानमा पनि पटक–पटक स्थायी राजधानी तोक्ने कुरा उल्लेख नभएको भन्दै यसबारे अनावश्यक विवाद सृजना गर्न नहुने बरालको भनाई छ । 

गुल्मी क्षेत्र नं. १ (क) बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार रहेका नेता बरालले निर्वाचन जितेर लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनोस् भन्ने धेरै नेता कार्यकर्ताको चाहना भएको पनि उल्लेख गरे । पार्टीपंक्तिको चाहनाअनुसार निर्वाचन जिते मुख्यमन्त्रीमा आफ्नो दाबी रहने उनको भनाई छ । उनी लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्री पनि बनिसकेका छन् ।

बरालले भने– ‘यसअघि सामाजिक विकास मन्त्री भएर कार्य सम्पादन गरिसकेकाले मलाई मुख्यमन्त्रीको जिम्मेवारी दिनुपर्छ भन्ने पार्टीका साथीहरूको सल्लाहले म त्यसको तयारीमा पनि लागेको छु ।’ पार्टीले जिम्मेवारी दिएमा आफू मुख्यमन्त्रीका लागि योग्य रहेको उनको दाबी छ । नेता बराल गुल्मी १ (क) बाट सत्तारुढ गठबन्धनका साझा उम्मेदवार हुन् ।

नेता बरालले आफू सामाजिक विकास मन्त्री हुँदा गुल्मी १ का जनतामाझ गरेका विकासका कामले पनि आफूले निर्वाचन जित्ने विश्वास रहेको उल्लेख गरे । यसअघि थालिएका थुप्रै विकास निर्माणका कामहरूलाई पूर्णता दिनको लागि पनि आफूले निर्वाचन जित्नुपर्ने उनको तर्क छ ।

गुल्मी २ मा शिक्षा, स्वास्थ्य, मोटरबाटो निर्माण लगायतका थुप्रै योजनाहरुको आफूले सुरुवात गरेको र आगामी कार्यकालमा ती योजनाहरु पुरा गर्ने लक्ष्य रहेको उनले बताए । त्यसका लागि गुल्मीले जनताले आफूलाई निर्वाचन जिताउनुपर्ने उनको आग्रह छ ।

संविधानको रक्षा, राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको लक्ष्य लिएर पाँच दलीय गठबन्धन बनेको भन्दै गठबन्धनको तर्फबाट आफ्नो जित सहज भएको पनि उनले उल्लेख गरे । यसअघि गरेका सामाजिक कामका परिणाम देखेर नेकपा एमाले लगायतका विपक्षी दलबाट समेत आफूलाई भोट आउने र निर्वाचन जित्ने आशा रहेको उनले बताए ।

गाउँका विभिन्न ग्रामीण सडकहरूको विस्तार गर्ने, राजमार्गहरुको स्तरोन्नति गर्ने, पर्यटकीय गन्तव्यहरुको पहिचान र प्रवर्द्धन गर्ने, पुलहरू निर्माण गर्ने, स्मार्ट कृषि गाउँहरू विस्तार गर्दै जाने लगायतका कामहरू आफ्नो प्राथमिकतामा रहेको नेता बरालले चर्चा गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप