शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिपक्षी साथीहरू थोत्रो आरोप बोकेर हिँडेको देख्दा दया लाग्छ : अशोक राई

बिहीबार, ०१ मङ्सिर २०७९, १० : ३२
बिहीबार, ०१ मङ्सिर २०७९

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाच प्रचार प्रसारको समय लगभग अन्तिम चरणमा पुगेको छ । समयको पावन्दीसँगै उम्मेदवारहरूले आफ्नो चुनावी कार्यक्रमलाई झन् तीव्र पारिरहेका छन् ।

निर्वाचनको यस घडीमा रातोपाटी अनलाइनले निर्वाचन क्षेत्रमा नै पुगरे रिपोर्टिङ गरिरहेको छ । यसक्रममा सुनसरी क्षेत्र नम्बर–१, धरानबाट जनता समाजवादी पार्टी (जसपा)का प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फका उम्मेदवार अशोक राईसँग रातोपाटीले गरेको कुराकानी :

–कस्तो खालको रेस्पोन्स पाइरहनुभएको छ, कसरी चलिरहेको छ प्रचार प्रसार ? 

रेस्पोन्स अत्यन्त उत्साहजनक छ । यो उत्साह कायम रहेको खण्डमा हामी राम्रो ढङ्गले विजय बन्ने कुरामा विश्वास पैदा भएको छ । 

–तपाईंलाई बारम्बार लागेको एउटै आरोप हो, अन्तिम समयमा आएर त्यही निर्णय पनि गरिदिनुभयो । अन्तिम समयमा आएर तपाईंको एमालेसँग तालमेल भयो, तपाईं फेरि बाहिरबाट आएर चुनाव लड्नुभयो, यस्ता आरोप सुन्नुभएको छ । के भन्नुहुन्छ ? 

यो आरोपभन्दा पनि गुनासो हो । गुनासो किन हो भने म चाहिँ दुवैतर्फको गठबन्धनतर्फको पनि, नेकपा एमालेबाट पनि स्वीकार्य उम्मेदवार हुँ वास्तवमा । दुवैले माया गर्नुभएको हो । यो मेरो व्यक्तिगत रुचिभन्दा पनि राष्ट्रिय राजनीतिको आवश्यकता र माथि केन्द्रमा नेताहरूले गठबन्धनभित्र तालमेल मिलाउन नसक्नु र अरू कतिपय राष्ट्रिय राजनीतिका विषयवस्तुले पनि असर गर्यो होला । समीकरण परिवर्तन भएर हामी अहिले नेकपा एमालेसँग सहकार्यमा छौँ यो चुनावमा । मलाई पुरानो गठबन्धनका साथीहरूले, उम्मेदवारहरूले सबैले समान रूपमा माया नै गर्नुभएको छ । 

–एमालेका पूर्वनेता नै स्वतन्त्रबाट उठ्नुभएको छ, कतिको चुनौती छ ?

व्यक्ति त व्यक्ति हो नि त, कुरा पार्टीको हो । व्यक्ति त पार्टी परित्याग गरेर एउटा स्वतन्त्र नागरिकको हैसियतमा उठ्ने नागरिक हक त उहाँलाई छ नि । त्यसकारण उहाँले पार्टी परित्याग गरी उठ्नुभएको छ । त्यसलाई मैले अन्यथा लिएको छैन । 

–यहाँ सुनसरी १ का जनताको चित्त दुःखाइ चाहिँ के रहेछ भने सधैँभरि हामीले बाहिरको मान्छेलाई भोट दिनुपर्ने, हाम्रो स्थानीय नेता नै भएन, हामीले भोट नै हाल्न पाएनौँ भन्ने छ नि ?

उहाँहरूलाई मिसलिड पनि गरिएको होला । गलत सूचना पनि दिइएको होला । म धरानबासी नै हुँ । धरानमा मेरो निवास छ, मेरो जग्गा छ, म धरान निवासी भइसकेको छु । मैले बुढेसकालको घाम ताप्ने ठाउँ धरान नै हो भनेर सञ्चारमाध्यमबाट सार्वजनिक गरिसकेको छु । 

सबै धरानेहरूले बुझ्नुपर्ने कुरा के हो भने ढिलोचाँडो आएको कुरा मात्रै हो, धरानका अधिकांश मानिस बाहिरबाट आउनुभएको छ । सबै नै बाहिरबाट आएका मानिसका रूपमा हामी छौँ । यहाँ बसेपछि यसै ठाउँको माया हुन्छ । यही ठाउँप्रति जिम्मेवारी हुन्छ । बाँकी समय मैले यही ठाउँमा विताउँछु भनिसकेपछि यो खालको बाहिरबाट आएको उम्मेदवार भन्ने कुराको कुने वैधता छैन । यसलाई डिसमिस गरिसकेका छन् । 

राजनीतिक रूपमा हेर्ने हो भने २०७४ को निर्वाचनमा मैलाई उपविजेता बनाउने, दोस्रो स्थानमा राख्ने जनताको निर्णयले नै यो आरोप खारेज भइसकेको हो । तर पनि मेरा प्रतिपक्षी साथीहरू यस्तो थोत्रो भइसकेको आरोप बोकेर हिँड्नुभएको छ, मलाई दया लाग्छ । 

–तपाईंका मुद्दाहरू चाहिँ केके छन् ? सुनसरी १ का मतदाताले अशोक राईलाई किन मत दिने ? भने भने २, ४ वटा आधार के छन् ? 

पहिलो कुरा, म धरानकै उत्पादन हुँ । राजनीतिक क्षेत्रमा धरानले नै मलाई जन्माएको हो । हात्तीसार क्याम्पस धरान पढ्दाखेरि पहिलो पटक प्रयोगात्मक राजनीतिमा म सामेल भएको भनेको विद्यार्थी युनियनको, विद्यार्थी परिषद्को साहित्य सचिवको रूपमा मैले चुनाव जितेको थिएँ र मैले काम गरेको थिएँ । त्यसपछि भूमिगत भएर निरङ्कुशता र निर्दलीय व्यवस्थाका विरुद्धमा १२ वर्ष गुप्तवास बसेँ । त्यो गुप्तवास बस्दाखेरिको र २०४६ सालको आन्दोलनको हेडक्वाटर पनि मैले आफ्नो नेतृत्वमा यही धरानमा राखेर लडेको हुँ । त्यो हिसाबले पनि मेरो पुरानो नाता छ, भावनात्मक सम्बन्ध छ, मैले ज्ञान आर्जन गरेको ठाउँ हो । 

मैले लोकतान्त्रिक आन्दोलनमा ठूलै योगदान गरेको छु भन्ने लाग्छ । अरू धेरै नेताहरूजस्तै योगदान गरेको छु जस्तो लाग्छ । यो हिसाबले पनि मप्रति यहाँका मतदाताहरूसित सहानुभूति छ । 

धरानमा खासगरी केन्द्रसँग अलिकति पहुँच भएको स्थिति रहेन भन्ने अलि गुनासो रहेछ । म त्यसका लागि योग्य छु भन्ने दाबी गर्ने कुरा त होइन, त्यो फेरि अहङ्कार गरेजस्तो हुन्छ । मभन्दा धेरै सिनियर लिडरहरू यहाँबाट हुनुहुन्थ्यो । मनमोहनजी प्रधानमन्त्री नै बन्नुभयो । उहाँपछि चाहिँ अलिकति केभो केभो भन्ने भयो भन्ने पनि राय सुनँे । मलाई लाग्छ त्यो खालको सोच र विश्लेषणलाई कहीँ सानो भए पनि पूर्ति गर्न सकिन्छ कि भन्ने ठाउँ छ । त्यस अर्थमा धरानेहरूले मलाई सायद त्यो आसले भोट दिनुहुन्छ भन्ने छ । 

त्यसदेखि बाहेक यो धरान एक समयको आर्थिक कारोबारको अत्यन्त जगमगाउँदो ठाउँ हो । यहाँ आर्थिक कारोबार धेरै हुन्थ्यो । खरिद, बिक्री, बन्दव्यापार हुन्थ्यो । त्यो अहिले खुद्रा व्यापारमा सीमित भएको छ । थोक व्यापार बन्द भइसकेको छु । थोक व्यापार खोल्नका लागि केही योजनाहरू हामीले अगाडि सारेका छौँ । यो टिमले नै अगाडि सारिरहेका छौँ । 

२०७४ सालमा नेकपा एमालेको नेतृत्वमा जसपा पनि सामेल भएको सरकारले धरान–लेउती सुरुङ मार्गको परिकल्पना गरेको हो । त्यसको यस वर्ष डिटेल सर्भे हुनेवाला छ । तमोर करिडोर सडकले ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटालाई जोडिसकेपछि यो एकदमै सर्टेस्ट रुट हुन्छ । त्यहाँका रिटेलरहरूले त्यहाँका खुद्राव्यापारीहरूले यहीँबाट थोक सामान लैजान्छन् । यहाँ थोक व्यापार पुनः स्थापित हुन्छ । त्यो योजनामा हामीले जोड दिने कुरा छ ।

अर्को खानेपानीको योजना धराने जनतालाई खानेपानी पर्याप्त पुर्याउन सकियोस् भनेर नगरपिताले जसरी मिहिनेत गर्नुभएको छ, हिजो आश्वासन दिनुभएको छ, त्यसैगरी भर्खरै मात्रै नेकपा एमालेका अध्यक्ष, यो चुनावपछिका प्रस्तावित प्रधानमन्त्री हुनुहुन्छ यो अभियानमा, उहाँले कोसीको पानी अथवा कहाँबाट हुन्छ, पानी हामी खुवाउँछौँ भनेर थप प्रतिबद्धता थपिसकेपछि अब धराने जनताले ढुक्क हुन सक्ने वातावरण रहन्छ । यहाँका समस्या उजागर भएको छ । 

बीपीकेएचएसलाई अझै स्तरोन्नति गरेर, अझै विकास गरेर राम्रा इक्विपमेन्टहरू, राम्रो सेवा, राम्रो व्यवस्थापन र विशिष्टीकृत हस्पिटलहरू खोलेर एमडी, एमएसकमा गुणस्तरीय विद्यार्थीहरू उत्पादन गर्ने, डक्टरहरू उत्पादन गर्ने रूपमा अगाडि बढाउनुपर्छ । यसका निम्ति सङ्घीय सरकारले बजेट दिनुपर्छ भन्ने सम्बन्धमा पनि हाम्रो जोड रहेको छ । व्यवस्थापन सुधार र बजेट दुईवटा कुरामा ध्यान केन्द्रित गर्नेगरी हामीले कुरा उठाएका छौँ । 

सुकुम्बासी समस्या मलाई भोट देऊ, समस्या समाधान गरिदिन्छु भन्ने अवस्थाबाट माथि गइसक्यो । किनकि ऐन नै बनिसक्यो । सुकुम्बासी समस्या तथा अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्ने सम्बन्धमा ऐन बनिसकेको हुँदाखेरि अब भूमि व्यवस्थापन मन्त्रालयको कामै त्यही हो । त्यसमा जोसुकैको सरकार बनोस्, जो उम्मेदवारले जितोस् अथवा हारोस्, त्यो काम निरन्तर जारी रहन्छ । किनकि राज्यले त्यसलाई आफ्नो दायित्वका रूपमा लिइसक्यो । त्यसैले सुकुम्बासी समस्या समाधानलाई अलि तीव्रता दिन हामी गर्नेछौँ । त्यसपछि कोसी राजमार्गलाई तीनकुनेदेखि जिरोपइन्टसम्म ६ लेनको बनाउने कि ४ लेनको बनाउने भन्ने विवाद थियो । त्यसमा ४ लेनमा सरकार पनि सहमत छ, जनता पनि सहमत छन् । यो समस्या हल भएको छ । 

त्यस्तै गरेर मदन भण्डारी राजमार्ग अहिले यो ६ नम्बर वडासम्म निर्माण कार्य आइसकेको छ । त्यसलाई अगाडि बढाउनु छ । यस्तै गरेर यहाँ पर्यटन व्यवसायलाई फल्न फुल्नका लागि एउटा कन्फ्रेन्स टुरिजमका लागि राम्रो होला कि भनेर अहिले भएका ४, ५ सय मान्छे अट्ने सभा भवनलाई जीर्णोद्धार गर्नुपर्ने, अर्को नयाँ सभा भवन एक हजार मान्छे अट्ने आधुनिक सभा भवन बनाउन सकिन्छ कि भनेर त्यसतर्फ हाम्रो ध्यानाकर्षण भएको छ । किनकि उपमहानगरपालिका हो यो । 

यहाँका जनताहरूको खासगरी पर्यटन व्यवसायीहरूको होटल उद्यमलाई सघाउ पुर्याउन यातायात व्यवसायीदेखि लिएर, चिया पसलेदेखि लिएर सबैको अर्थतन्त्रलाई थोरै टेवा दिने र रोजगार सिर्जना गर्ने रूपमा एउटा सभा भवन यहाँ चाहिन्छ । उपमहानगरपालिकाको व्यक्तित्वले त्यसलाई मान गर्छ । त्यसतर्फ पनि मेरो ध्यान गएको छ । 

सप्तकोसीको पानी अहिले सिँचाइ र बोटिङ, ट्रान्सपोर्टेसनका हिसाबले मात्र प्रयोग भइहेको छ, जलयातायातको हिसाबले । ती दुईभन्दा बढी खानेपानीको चर्चा छ । अर्को पक्ष चर्चामा छैन । त्यहाँ हाम्रो ध्यान गएको छ । त्यो भनेको पर्यटकीय हिसाबले जलक्रीडाको स्थान बनाउने, सप्तकोसीको आसपास दुवैतिर सुनसरी र उदयपुरतिर राम्रा रिसोर्ट, होटलहरू राख्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने, स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले त्यसलाई प्रोमोसन गर्ने, प्रवद्र्धन गर्ने र चताराबाट कोसीटप्पु आरक्षसम्मको एउटा प्याकेज बनाएर जोड्ने हो । चतारा आसपासबाट सुरु गर्ने र कोसीटप्पुमा चाहिँ विसर्जन गर्ने वा त्यहाँ आराम गर्ने गरी तयार गर्ने हो ।

–तपाईं विजयी हुनुभयो भने पाँच वर्षमा यी सबै काम हुन्छन् ?

सुरुवात होला कमसे कम । मैले एकदम छु मन्तर गर्छु भनेको छैन । तर म प्रयास गर्छु भनेको छु । जुन कुरामा सरकार सहमत हुन्छ, सरकार र सरकारका मन्त्रालयहरू सकारात्मक हुन्छन्, त्यो काम सुरुवात हुन्छ । 

–अस्ति एमाले अध्यक्षले यो सभामा बोल्नुभयो नि, त्यसले तपाईंलाई अलिकति नोक्सान गर्यो भन्ने छ नि ?

होइन । हरेक व्यक्तिको अभिव्यक्तिको आफ्नो शैली हुन्छ, तरिका हुन्छ । उहाँले राम्रो बोल्नुभएको छ । कतिपय कुरामा कसैलाई अलिकति चित्त दुखेको हुन सक्छ । त्यो मेरो अभिव्यक्ति होइन, उहाँको हो । उहाँले पनि सकारात्मक ढङ्गले भन्नुभएको हो । राम्रै मनसायले भन्नुभएको हो । हरेक चिजलाई सकारात्मक रूपमा लिऔँ । थिङ्क पोजिटिभ्ली, एक्ट पोजिटिभ्ली एन्ड रिजल्ट विल बी पोजिटिभ भन्ने मेरो मान्यता हो । म कुनै पनि चिजमा नकरात्मक कहाँ छ भनेर खोतल्दिनँ । मान्छेले चुनावका बेलामा कसैलाई भड्काउन एक घण्टा पन्ध्र मिनेटको भाषणमा मलाई मन नपर्ने कुरा पर्यो होला, अर्कोलाई मन नपर्ने कुरा पर्यो होला । त्यसैका आधारमा लौ खत्तमै भयो भन्ने हिसाबले सोच्नु हुँदैन । 

–तपाईं विजयको कति निकट हुनुहुन्छ ?

म विजयको निकट होइन, विजयको फासलालाई बढाउँदैछु अहिले, दूरीलाई बढाउँदैछु । 

–लामो राजनीतिक इतिहास छ तपाईंको, यो पटक पनि अन्तिम भनिरहनु भएको छैन, फेरि पनि लड्नुहुन्छ ?

आई एम सिस्टी फाइभ नाउ । आई विल बी सेभेन्टी आफ्टर दिस इलेक्सन । आई डन्ट वान्ट टु बी क्यान्डिडेट फर दी नेक्स्ट इलेक्सन । 

–नेपालीमा भनिदिनुस् न ?

म अहिले ६५ वर्षको छु । पाँच वर्षपछि ७० वर्ष पुग्छु र ७० को उमेरदेखि यो खालको भागदौड गर्ने, हातगोडा चलाउनुपर्ने खालको राजनीतिमा म रहन्नँ । यस खालको चुनावमा म रहन्नँ । राजनीतिमा त रहन्छु तर मेरो दिमाग प्रयोग गर्नेखालको राजनीति मात्र गर्छु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहित दाहाल
रोहित दाहाल
लेखकबाट थप