शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

साना दललाई थ्रेसहोल्डको जोखिम

शुक्रबार, ०२ मङ्सिर २०७९, १० : ५१
शुक्रबार, ०२ मङ्सिर २०७९

मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको प्रचारप्रसार सकिएको छ । उम्मेदवारहरूले आफ्नो चुनावी एजेण्डा तथा प्रतिबद्धता मतदातासमक्ष राखिसकेका छन् ।

ठुला दलहरू कसरी बढीभन्दा बढी सिट ल्याएर सरकारको नेतृत्व गर्ने भन्ने दाउमा छन् भने साना दलहरू कसरी राष्ट्रिय दल बन्ने, थ्रेसहोल्ड अर्थात् तीन प्रतिशत मत कसरी कटाउने भन्ने ध्याउन्नमा छन् । कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको एउटा गठबन्धन छ भने जनता समाजवादी पार्टी, नेकपा एमाले, राप्रपा, जनता प्रगतिशील पार्टीलगायतको अर्को गठबन्धन छ ।

बढीभन्दा बढी सिट ल्याएर सरकारको नेतृत्व कसरी गर्ने भन्ने होडमै यी दुई गठबन्धन बनेका हुन् । नेकपा एकीकृत समाजवादी पार्टी, जसपा, लोसपा र राष्ट्रिय जनमोर्चालगायतका दलहरू तीन प्रतिशत मत कटाएर राष्ट्रिय पार्टी हुनका लागि गठबन्धनमा सामेल भएका छन् । लोसपा, जसपा र नेकपा एकीकृत समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालाई तीन प्रतिशत मत कटाउन समस्या हुने देखेरै गठबन्धन गरेका हुन् ।

आसन्न निर्वाचनका लागि मतदाताको सङ्ख्या एक करोड ७९ लाख ८८ हजार ५७० जना छन् । यी मतदाताबाट खसेको मतमध्ये समानुपातिकमा तीन प्रतिशतभन्दा बढी र प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्ने दलले मात्र राष्ट्रिय दलको मान्यता पाउँछ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६० उपदफा ११ मा भनिएको छ, ‘अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुनेछ ।’ अर्थात् समानुपातिक पद्धतिबाट प्रतिनिधिसभामा सांसद निर्वाचित हुनका लागि कुल सदर मतको तीन प्रतिशतको थ्रेस होल्ड कटाउनु पर्नेहुन्छ ।

संविधानसभामा सरकार बनाउने र गिराउने खेलमा साना दलको भूमिका देखिएका कारण दल सङ्ख्या घटाउनका लागि दलहरूले थ्रेसहोल्डको व्यवस्था गरेका थिए । साना दलहरू तत्कालीन राष्ट्रिय जनता पार्टी, नेपाली जनता दल, मजदुर किसान पार्टी, दलित जनजाति पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, परिवार दललगायतले भने त्यसको विरोध गरेका थिए ।

राष्ट्रिय दलको मान्यता पाउन समानुपातिकतर्फ तीन प्रतिशत मत कटाएरमात्र हुँदैन, दलले प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नु अनिवार्य छ । राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५२ मा भनिएको छ, ‘प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्षतर्फ) एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्नेछ ।’

राष्ट्रिय दलको मान्यता नपाए त्यस्ता दलबाट निर्वाचित सांसदको हैसियत स्वतन्त्रसरह हुनेछ । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमाले, कांग्रेस, माओवादी केन्द्र, तत्कालीन संघीय समाजवादी र तत्कालीन राजपाले मात्र राष्ट्रिय दलको मान्यता पाएका थिए । राप्रपा, राष्ट्रिय जनमोर्चा, नेपाल, मजदुर किसान पार्टी लगायत राष्ट्रिय दल हुनबाट वञ्चित भएका थिए ।

त्यतिबेला निर्वाचनमा समानुपातिकतर्फ ९५ लाख ४४ हजार ७२९ मत सदर भएको थियो । जसमध्ये सबैभन्दा बढी एमालेले ३१ लाख ७३ हजार ४९४, कांग्रेसले ३१ लाख २८ हजार २८९, माओवादी केन्द्रले १३ लाख ३ हजार ७२१, तत्कालीन राजपाले चार लाख ७२ हजार २५४ र तत्कालीन संघीय समाजवादी फोरमले चार लाख ७० हजार २०१ मत प्राप्त गरेका थिए । प्रतिशतका हिसाबमा एमालेले सदर मतमा ३३.२४, कांग्रेसले ३२.७७, माओवादी केन्द्रले १३.६५, तत्कालीन राजपाले ४.९४ र तत्कालीन फोरमले ४.९२ प्रतिशत पाएका थिए ।

राप्रपा, राष्ट्रिय जनमोर्चा, नेमकिपाजस्ता पार्टी प्रत्यक्षमा सिट जित्न सफल भए पनि समानुपातिकतर्फ सदर मतमा ३ प्रतिशत नपाएपछि राष्ट्रिय दल हुनबाट वञ्चित भएका थिए । राप्रपाले २ प्रतिशत, राष्ट्रिय जनमोर्चाले ०.६५ प्रतिशत र नेमकिपाले ०.५८ प्रतिशत मत पाएका थिए ।

स्थानीय चुनावमा थ्रेसहोल्ड

गत वैशाखमा सम्पन्न स्थानीय चुनावमा ६१ दलले भाग लिएका थिए । ती दलहरूले वडा तहमा प्राप्त गरेको मतको आधारमा ६ वटा दलले मात्र तीन प्रतिशत मत कटाएका छन् । निर्वाचन आयोगका अनुसार कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाहेकका दलले ३ प्रतिशत मत कटाउन सकेका छैनन् ।

निर्वाचन आयोगका अनुसार स्थानीय तहको चुनावमा कुल खसेको मतमध्ये १ करोड १५ लाख ४० हजार ३८ मत सदर भएको थियो । कांग्रेसले ३४‍.२८ प्रतिशत प्राप्त गर्दा एमालेले ३३.०३ प्रतिशत प्राप्त गरेको छ । त्यस्तै माओवादी केन्द्रले १३.०३ प्रतिशत, जसपाले ५ प्रतिशत, नेकपा एकीकृत समाजवादीले ३.६६ प्रतिशत र राप्रपाले ३.१६ प्रतिशत मत पाएका छन् ।

लोसपा, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, नेपाली कांग्रेस बी.पी, विवेकशील साझा पार्टी लगायतका दलले तीन प्रतिशत मत कटाउन सकेका छैनन् । स्थानीय चुनावपछि केही नयाँ दल गठन भएर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ८७ दलले भाग लिएका छन् ।

२०७४ मा संघीय समाजवादी फोरम अर्थात् अहिलेका जसपाले स्थानीय चुनाव २०७९ मा मत प्रतिशत बढाएर ५ प्रतिशतमा पु¥याएको छ । २०७४ को संसदीय चुनामा ४.९२ मत ल्याएको थियो । जसपाले स्थानीय तह २०७९ को निर्वाचनमा पाँच लाख ७७ हजार ३८० मत पाएको छ । २०७४ मा संसदीय चुनावमा ४.९४ प्रतिशत मत ल्याएको तत्कालीन राजपा अर्थात् अहिलेको लोसपाले स्थानीय तह २०७९ को निर्वाचनमा कुल सदर मतको २.१२ प्रतिशत ल्याएको छ । लोसपाका वडाध्यक्ष उम्मेदवारले दुई लाख ४४ हजार ८८२ मतमात्रै ल्याएका छन् । यस्तै परिणाम आम चुनावमा आयो भने लोसपालाई राष्ट्रिय दल बन्न गाह्रो हुनसक्ने आकलन गरिएको छ । तीन प्रतिशत मत कटाउनकै लागि लोसपा अन्तिम समयमा भए पनि सत्ता गठबन्धनमा सहभागी भएको छ ।

एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीले अपेक्षाकृत सफलता हासिल गर्न नसके पनि थ्रेसहोल्डको जोखिम भने पार गर्ने देखिएको छ । यसपटक राप्रपाले आफ्नो स्थान सुधारेर समानुपातिक मतमा थ्रेसहोल्ड कटाउने सकिने अवस्था सिर्जना भएको विश्लेषण भइरहेका छन् । राप्रपाले स्थानीय तह निर्वाचनमा ३.१६ प्रतिशत मत ल्याएको छ । 

२०७४ समानुपातिक मतमा छैटौँ भएको विवेकशील साझा पार्टीको अवस्था चिन्ताजनक छ । विवेकशील पार्टी गठन गरेका रवीन्द्र मिश्र राप्रपामा गइसकेका छन् । अन्य नेताहरू पनि यताउता भएका छन् । त्यसले पनि विवेकशीलसमक्ष तीन प्रतिशत मत कटाउन जोखिम रहेको बताइएको छ । विवेकशीलले २०७४ मा कुल सदर मतको २.२२ प्रतिशत मत पाएको थियो । तर गत स्थानीय तहमा ०.०५ प्रतिशतमा झ¥यो । यो दल पनि जोखिममा छ । यस्तै राष्ट्रिय जनमोर्चा, नेमकिपाजस्ता पार्टीहरू यसपटक पनि राष्ट्रिय दलमा नसमेटिने देखिएको छ । नेमकिपाले स्थानीय तहमा ०.४२ प्रतिशत र जनमोर्चाले ०.३५ प्रतिशत मत ल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव
लेखकबाट थप