बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुरमा मतदान केन्द्र निर्माण अन्तिम चरणमा

शनिबार, ०३ मङ्सिर २०७९, १९ : ५०
शनिबार, ०३ मङ्सिर २०७९

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि मकवानपुरमा मतदान केन्द्रहरू निर्माणको काम अन्तिम चरणमा पुगेको छ । भो आइतबार हुने मतदानका लागि आवश्यक पर्ने मतदान केन्द्रमा बुथ निर्माण लगायतका काम अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए ।

आइतबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुने मतदानका लागि कर्मचारी, सुरक्षाकर्मी र स्वयंसेवकहरू मतदान केन्द्रहरू निर्माणको काम गरिरहेका उनले बताए ।   प्रतिनिधिसभाको २ र प्रदेशसभाको ४ वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा कुल ३ लाख ७७८ जना मतदाताहरूका लागि १६७ वटा मतदानस्थल र २ अस्थायी सहित ३६४ वटा मतदान केन्द्र तोकिएको छ । मतदान केन्द्र मध्ये मकवानपुर–१ मा १७२ वटा र मकवानपुर–२ मा १९२ मतदान केन्द्र तोकिएको छ ।

निर्वाचन सम्पन्न गर्नका लागि ३६६ जना सहायक निर्वाचन अधिकृत र ३६६ निर्वाचन अधिकृतसहित २ हजार ९१८ कर्मचारी परिचालन गरिएको मकवानपुरका मुख्य निर्वाचन अधिकृत निरौलाले बताए । उनले मतदान केन्द्रको सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न र कुनै पनि सुरक्षा संवेदनशीलता हुन नदिन ४ वटै सुरक्षा निकायलाई सही ढङ्गबाट उपयोग गर्न प्रमुख जिल्ला अधिकारी मार्फत कार्यान्वयन गरिएको बताए ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित तवरले सम्पन्न गर्न जिल्लाको ३६४ वटै मतदान केन्द्रहरूमा राष्ट्रिय अनुसन्धान, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका अधिकारीसहितको सुरक्षा व्यवस्थापन मिलाइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए ।

जिल्लाका कुल मतदान केन्द्रहरू मध्ये १९ वटालाई सुरक्षा संवेदनशीलताको आधारमा अति संवेदनशील, ६० वटा संवेदनशील र अन्यलाई सामान्यमा राखेर सोही अनुसार पहिलो सुरक्षा घेरामा जनपथ प्रहरी, म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना गरी ३ हजार ५०० सुरक्षाकर्मी परिचालन गरिएको बताए । निर्वाचनमा हुने आपराधिक घटनालाई मध्यनजर गर्दै आवश्यकताको आधारमा राष्ट्रिय अनुसन्धानका कर्मचारी पनि परिचालन गरिएको उनको भनाई छ ।

जिल्लाका सबै मतदान केन्द्रका सवारी साधनको सहज पहुँच रहेकोले कुनै पनि प्रकारका सुरक्षा चुनौती नरहेको र हरेक मतदान केन्द्रमा ४ वटै सुरक्षा संयन्त्रहरु परिचालन गरिसकेको उनले बताए । मतदान पछि मतपेटिका ढुवानीको लागि पनि उचित व्यवस्थासहित सुरक्षा संयन्त्र परिचालन गरिएको उनले बताए । उनका अनुसार जिल्लाका ७ वटा मतदान केन्द्रबाट मतपेटिका छिमेकी जिल्ला हुँदै ढुवानी गर्नुपर्ने भएकाले त्यसको लागि पनि व्यवस्थापन भइसकेको छ । मकवानपुरको बकैया गाउँपालिकाको २ वटा केन्द्रबाट रौतहट र बारा तथा राक्सिराङ गाउँपालिकाको ५ वटा केन्द्रको मतपेटिका चितवनको भण्डार हुँदै ढुवानी गर्नु पर्ने अवस्था रहेकाले सोही अनुसार सुरक्षा व्यवस्था गरिएको उनले बताए ।

यस निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा तर्फ गरी ६ वटा निर्वाचन क्षेत्रका लागि कुल ६९ जना उम्मेदवार रहेका छन् । जसमा प्रतिनिधिसभा तर्फ प्रत्यक्षका लागि मकवानपुर–१ मा १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने मकवानपुर–२ मा १० जना रहेका छन् । प्रदेशसभा तर्फ मकवानपुर ४ क्षेत्रका लागि ४३ जना उम्मेदवार रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप