शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नयाँ र युवालाई काठमाडौँवासीले गरे अनुमोदन, एमालेलाई धक्का !

बुधबार, ०७ मङ्सिर २०७९, १० : ५८
बुधबार, ०७ मङ्सिर २०७९

२०७४ सालको संघीय निर्वाचनमा काठमाडौँका ६ वटा निर्वाचन क्षेत्रमा विजयी हासिल गरेको नेकपा एमालेलाई २०७९ सालको निर्वाचनमा आइपुग्दा धक्का लागेको छ । एमालेले यो निर्वाचनमा काठमाडौँका एक सिटमा मात्रै चित्त बुझाउने देखिएको छ ।

काठमाडौँमा प्रतिनिधिसभाको ९ सिटको नतिजा आइसक्दा एमालेले जम्मा एक सिटमा जित हासिल गरेको हो । काठमाडौँ ६ को मतगणना जारी रहँदा सो क्षेत्रमा पनि एमालेले जित हासिल गर्ने सम्भावना न्यून छ । यसरी हेर्दा क्षेत्र नम्बर ९ बाहेक अन्य निर्वाचन क्षेत्रमा एमाले जीतविहीन बनेको हो ।

अघिल्लो निर्वाचनमा काठमाडौँ–३ मा एमालेका कृष्ण कुमार राई विजयी भएका थिए । यस्तै ५ मा ईश्वर पोखरेल, ७ मा रामवीर मानन्धर, ८ मा जीवनराम श्रेष्ठ, ९ मा कृष्ण गोपाल श्रेष्ठ विजयी भएका थिए । यस्तै क्षेत्र नम्बर २ मा माधव कुमार नेपाल विजयी भएका थिए । तर, यो निर्वाचनमा क्षेत्र नम्बर ९ मा कृष्णगोपाल श्रेष्ठले जीत जोगाउन सके पनि अन्यमा भने एमाले असफल भएको हो ।

निर्वाचन आयोगका अनुसार काठमाडौँ १ मा यसअघिको जीत जोगाउँदै कांग्रेसका प्रकाशमान सिंहले विजय हासिल गरे । उनले ७ हजार १४३ मत पाउँदा एमालेका किरण पौडेल तेस्रो बने । पौडेलले ३ हजार ५३२ मत प्राप्त गरे ।

यस्तै क्षेत्र नम्बर २ मा हाल एकीकृत समाजवादी पार्टीमा रहेका माधव कुमार नेपालले अघिल्लो निर्वाचन जितेका थिए । नेपालले अर्को पार्टी खोलेपछि एमालेले सो क्षेत्रमा मणिराम फुयाँललाई उठायो । तर, उनी पराजित बने । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले जित हासिल गरिन् । उनले १५ हजार २२९ मत पाउँदा एमालेका फुयाँल ११ हजार ५५५ मत प्राप्त गरेर दोस्रो भए ।

यस्तै क्षेत्र नम्बर ३ मा एमालेको सिट खोस्दै कांग्रेसका सन्तोष चालिसे १५ हजार १५८ मतका साथ विजयी भए । यसअघिका विजेता कृष्ण राई ११ हजार १९६ मत पाएर पराजित बने ।

यसैगरी काठमाडौँ ४ मा गगन थापाले आफ्नो जीतलाई कायमै राख्दा ५ नम्बरमा एमालेका ईश्वर पोखरेललाई हराउँदै कांग्रेसका प्रदीप पौडेलले विजय हासिल गरे । क्षेत्र नम्बर ४ मा विजयी गगनले २१ हजार ३०२ मत पाउँदा एमालेका राजन भट्टराईले १३ हजार ८५५ मत ल्याएर पराजित भए । यस्तै क्षेत्र नम्बर ५ मा पौडेलले १५ हजार २३७ मत हासिल गर्दा ईश्वर पोखरेल १० हजार १७५ मत पाएर दोस्रो भए ।

यस्तै काठमाडौँ ६ मा भने कांग्रेसले सिट गुमाउने देखिएको छ । कांग्रेसका भीमसेनदास प्रधान राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालसँग फराकिलो मतान्तरले पछाडि रहेका छन् । सो क्षेत्रमा खनाल नै विजयी हुने पक्कापक्की जस्तै छ भने एमालेका सर्वेन्द्र खनाल दोस्रो स्थानमा छन् ।

यसैगरी क्षेत्र नम्बर ७ मा पनि एमालेले नै आफ्नो सिट गुमाएको छ । एमालेले यसअघि विजयी भएका रामवीर मानन्धरलाई टिकट नदिएर श्यामकुमार घिमिरेलाई टिकट दियो । यस्तै मानन्धरले बागी उम्मेदवारी दिए । सो क्षेत्रमा एमालेभित्रको अन्तर्विरोध तथा नयाँ पार्टीको पक्षमा देखिएको लहरले राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी भए । पराजुलीले ८ हजार ७४३ मत पाउँदा एमालेका घिमिरेले ६८०० मत पाएर दोस्रो भए । यस्तै राजनीतिमा आशा गरिएकी माओवादी केन्द्रकी मानुषी यम भट्टराई पनि अनुमोदित हुन सकिनन् । उनी ६ हजार ६३ मतका साथ तेस्रो भइन् ।

यता काठमाडौँ ८ मा पनि एमालेको कमजोर उपस्थिति रह्यो । यसअघि एमालेबाट विजयी भएका जीवनराम श्रेष्ठ एकीकृत समाजवादीबाट चुनाव लडे भने उनी पनि पराजित बने । सो क्षेत्रबाट विराजभक्त श्रेष्ठ विजयी भए । विराजले १० हजार १०५ मत ल्याउँदा जीवन राम तेस्रो भए । जीवनरामले ४ हजार ८७७ मत पाएका हुन् । यस्तै दोस्रोमा रहेका सुमन सायमीले ६ हजार १७४ मत पाउँदा एमाले पाँचौँ स्थानमा खुम्चिन पुगेको मतगणनाले देखाएको छ ।

काठमाडौँ ९ मा भने कृष्ण गोपाल श्रेष्ठले जीतलाई जोगाउन सके । उनले ११ हजार ९५६ मतका साथ विजय हासिल गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका टेक बहादुर पोखरेल १० हजार ९६१ मतका साथ दोस्रो भए । यस्तै काठमाडौँ १० मा राजन केसीले जितलाई निरन्तरता दिए । उनले एमालेका हिमेश केसीलाई पछि पार्दै विजय हासिल गरेका हुन् । राजनले १४ हजार ४५८ मत पाउँदा हिमेशले ११ हजार ७८६ मत प्राप्त गरे ।

युवा र नयाँलाई जिताए काठमाडौँवासीले

काठमाडौँवासीले यो निर्वाचनमा समग्रमा नयाँ पार्टी र युवा उम्मेदवारलाई जिताएको देखिन्छ । काठमाडौँ ८, ७ र २ मा नयाँ पार्टी राष्ट्रिय स्वतन्त्रका उम्मेदवार विजयी भए भने ६ मा पनि सोही पार्टीका उम्मेदवार विजयी हुने देखिन्छ । यस्तै काठमाडौँ ५ र ४ मा कांग्रेसका आशा गरिएका उम्मेदवारहरू प्रदीप पौडेल र गगन थापा विजयी भए । काठमाडौँ १ मा भने झिनो मतान्तरले प्रकाशमान सिंह नै संसद्को यात्रा तय गर्न सफल भए । सिंहले राप्रपाका रवीन्द्र मिश्रलाई झिनो मतान्तरले हराएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप