शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुरमा चेलाले हराए गुरुलाई, एमालेका बर्तौला निर्वाचित

बिहीबार, ०८ मङ्सिर २०७९, ०७ : ०७
बिहीबार, ०८ मङ्सिर २०७९

मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर(२ मा नेकपा एमालेका महेश बर्तौला निर्वाचित भएका छन् । बर्तौलाले ४ हजार ५२० मतान्तरले चुनाव जितेका हुन् ।

उनले सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका स्थायी समिति सदस्य विरोध खतिवडालाई पराजित गरेका हुन् । खतिवडा राजनीतिक रुपमा बर्तौलाको गुरु हुन् । बर्तौलाको राजनीति जीवन खतिवडा कै छत्र छायाँमा विकास भएको हो । 

कुल ८६ हजार ३०१ मत गणना गर्दा एमालेका बर्तौलाले ३४ हजार ९१६ मत पाएका थिए भने खतिवडाले ३० हजार ३९६ मत पाए । यता राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले १२ हजार ३९ मत पाएका थिए । 

को हुन् बर्तौला
मकवानपुरको नामटारस्थित कालिका माविमा कक्षा ७ मा अध्ययन गर्दा २०५३ सालमा महेश बर्तौलाले अनेरास्ववियुको प्रारम्भिक कमिटीको अध्यक्षको जिम्मेवारी सम्हाले । उनले रक्तिम इतिहास बोकेको अनेरास्ववियुको इलाका जिल्ला अञ्चल कमिटी हुँदै केन्द्रीय कमिटीको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गरे । अनेरास्ववियुको केन्द्रीय सचिव उपाध्यक्ष र कार्यबाहक अध्यक्षको जिम्मेवारीमा समेत महेश खरो उत्रिएका छन् ।

विद्यार्थी आन्दोलनको मोर्चामा उनले आफूलाई मात्रै होइन सिंगो संगठनलाई नै स्थापित गरेका छन् । विद्यार्थीहरूको आस्थाको धरोहर अनेरास्ववियु मकवानपुरको २ कार्यकाल अध्यक्षको जिम्मेवारी उनले कुशलता पूर्वक बहन गरे । २ पटक  मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु सभापति बन्दा उनले विद्यार्थीको हितका लागि थुप्रै काम गरेका छन् । 

२०६३ मा नेकपा एमालेको जिल्ला सदस्य हुँदा उनले मकवानपुरको पश्चिम क्षेत्रको इन्चार्जको जिम्मेवारी बहन गरेका थिए । तत्कालीन राजा ज्ञानेन्द्रको बर्बरता पुर्ण निरंकुशताको बिरूद्ध आन्दोलनमा उनले नजरबन्द र जेल नेलकै सामना गरेका छन् । 

दृढ संकल्पलाई पूरा गर्न निर्भिकता पूर्वक लाग्ने स्वभावले महेश बर्तौलालाई २०७८  सालमा  नेकपा एमाले बागमती प्रदेश कमिटीको सदस्य बनायो । अहिले उनी बागमती प्रदेश कमिटिका उपसचिव छन् । नेपाल ल क्याम्पसबाट स्नातक गरेका बर्तौलाले २०६८ मा अधिवक्ताको लाइसेन्स लिए । मकवानपुर बहुमुखी क्याम्पसबाट व्यवस्थापन सङ्कायमा स्नातकोत्तर गरेका बर्तौला राजनीति शास्त्रमा एमफिल गरी विद्यावारिधि अध्ययन गरिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप