बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दतिउन, बाँस, माझीझारले दाँत सफा हुन्छ ?

शनिबार, १७ मङ्सिर २०७९, ०७ : १६
शनिबार, १७ मङ्सिर २०७९

श्वास गन्हाउने समस्याले कतिपय मानिस विभिन्न सभा–समारोहमा जान पनि हिच्किचाउनुपर्ने अवस्था सिर्जना हुन्छ  । मुख तथा श्वास गन्हाउँदा अरुलाई पनि समस्या हुन्छ भने स्वयंलाई पनि असजिलो महसुस हुन्छ । मुख हाम्रो महत्वपूर्ण अङ्ग हो । शरीरलाई आवश्यक खाना मुखबाटै खाने गर्छौं । त्यसैले पनि स्वास्थ्यमा महत्वपूर्ण अङ्गको रुपमा मुख मानिन्छ ।    

श्वास किन गन्हाउँछ ? 

बिहान उठ्ने बित्तिकै ब्रस गरिएन भने पनि मुख गन्हाउने गर्छ । मुखमा एक–दुई घण्टामै एक किसिमको ब्याक्टेरिया भरिँदै जाने दन्त रोग विषेशज्ञ डा. सुवास घिमिरे बताउँछन् । १२ घण्टाभित्र राम्रोसँग ब्रस गरिएन भने मुख गन्हाउन थाल्छ । दाँतको ५ भागमा राम्रोसँग ब्रस गरियो भने मुख गन्हाउँदैन । प्रायः जसोले ब्रस गर्दा ३ भाग मात्रै गर्ने गरेको दन्त चिकित्सकहरु सुनाउँछन् । दाँतको ५ भाग राम्रोसँग सफा गर्न सकियो भने सामान्यतया १२ घण्टासम्म ब्रस नगर्दा पनि मुख गन्हाउने समस्या हुँदैन ।  

दाँतको उपचार गर्दा जस्तैः दाँत भर्दा, राखिएको नयाँ दाँतमा समस्या आउँदा पनि मुख गन्हाउन सक्छ । सामान्यतया दिनको ३ पटकसम्म दाँत माझ्दा उपयुक्त हुन्छ ।

राम्रोसँग सरसफाई नगर्दा ब्याक्टेरियाको कारणले पनि श्वास गन्हाउँछ । ब्याक्टेरियाको घाउले किटाणु उत्पादन गर्छ, जसले गर्दा मुख गन्हाउँछ । मुख गन्हाउनुका अन्य कारण पनि हुन्छन् । जस्तै, दाँत किरा लागेको छ भने त्यसमा खानेकुरा अड्किन्छ । अनि त्यसलाई सफा नगर्दा दाँतमा पसेर कुहिन्छ । दाँत सिधा पार्नका लागि तार प्रयोग गरेको छ भने पनि राम्रोसँग सफा नगर्दा श्वास गन्हाउने हुन्छ ।

मुखकै कारण खतराजन्य रोग लाग्न सक्छ   

पेटमा स्वास्थ्य समस्या छ भने पनि मुख गन्हाउने गर्दछ । जस्तैः मिर्गौला, कलेजो, मुटुको समस्याका साथै पेटमा अन्य समस्या छ भने पनि मुख तथा श्वास गन्हाउने गर्दछ । पेट सम्बन्धी कुनै रोग अनियन्त्रित भएको अवस्थामा श्वास तथा मुख गनाउने समस्या आउन सक्छ ।

यस्तै, मुखभित्र घाउखटिरा आउने, टन्सिल, क्यान्सर भएको छ भने पनि यस्ता समस्याले मुख गन्हाउने हुन्छ ।

उल्लेखित कुनै पनि समस्या छैन तर, मुख स्वास्थ्य अवस्थामा हुँदा पनि श्वास गन्हाउँछ भने क्यान्सर भएको हो कि भनेर शंका मान्नु पर्ने हुन्छ । 

दतिउन, बाँस, माझिझारले दाँत सफा हुन्छ ?

गाउँघरमा दाँत सफा गर्नको लागि दतिउन, बाँस, माझीझारको प्रयोग गर्ने चलन छ । तर, यस्ता कुराले दाँत सफा हुँदैन । यस्ता कुराले दाँत माझ्दा दाँतको भित्री भाग माझिँदैन । दाँतको दुई भागमात्रै माझेर सफा हुँदैन । त्यसकारण पनि मुख गन्हाउन सक्छ । दाँत माझ्दा ब्रसको अनिवार्य प्रयोग गर्नुपर्छ ।

दाँत किराले खाएर, गिँजा सुनिने, रगत आउने, मुख गन्हाउने साथै अन्य मुखमा घाउखटिराको समस्या छ र प्रायः त्यही समस्या दोहोरिन्छ भने क्यान्सर हुन पनि सक्छ । सामान्य अवस्थामा पनि श्वास गन्हाउने समस्या छ भने स्वास्थ्य परीक्षण गर्न दन्त चिकित्सकहरु सुझाव दिन्छन् ।

श्वास तथा मुख गन्हाउने समस्या छ भने स्याउको सेवनले पनि कम गर्न सकिन्छ । स्याउले प्राकृतिक सफाइको काम गर्छ । साथै अन्य चपाउने खालका प्राकृतिक खानाले पनि दाँतको सफाइ गर्नुका साथै मुखको स्वास्थ्यलाई फाइदा गर्छ ।

गाउँघरमा दाँत सफा गर्न दतिउन, बाँस, माझीझारको प्रयोग गर्ने चलन छ । तर, यस्ता कुराले दाँत सफा हुँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप