शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धानको पूजा गरी मनाइयो धान्यपूर्णिमा

बिहीबार, २२ मङ्सिर २०७९, २१ : ५३
बिहीबार, २२ मङ्सिर २०७९

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइएको छ ।  मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने र त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी र मालपुवा बनाएर चढाउने परम्परा छ । 

 यसअघि नव अन्नप्राशन नगरेकाले आजै नवान्नप्राशन गरेका छन् । यस अवसरमा काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, काठमाडौँको चम्पादेवी, सिन्धुपाल्चोकको स्फटकेश्वर, नुवाकोटको सिकरबेंसी र दुप्चेश्वरललगायत स्थानमासमेत मेला लागेको जनाइएको छ । 
 
मनाइयो योमरी पूर्णिमा (योमरी पुन्हि)
नयाँ धान भित्र्याएको खुसियालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाएका छन् । योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्यपदार्थको रसिलो चाडका रूपमा पनि लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ ।

योमरी बनाउन आज बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन् । नुहाइ धुवाइ घरमा लिपपोत गरेर योमरी पकाइने प्रचलन छ । यो पर्वलाई नेवार समुदायले पनि नव अन्नप्राशनका रूपमा मनाउने गरेको संस्कृतिविद् प्रकाशमान श्रेष्ठ बताउँछन् । योमरीमा तिलसमेत राखेर डल्लो बनाइन्छ ।

नेवार समुदायले पनि धान राख्ने भकारी वा कोठीमा पनि पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् । साथै चेलीबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुनका रूपमा उपहार पठाउने चलन पनि रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप