बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कस्तो हो पोलियो भाइरसविरुद्ध खोपको क्लिनिकल ट्रायल ?

काठमाडौँका २५० जना बालबालिकामा खोपको तेस्रो ट्रयाल गरिने
मङ्गलबार, २७ मङ्सिर २०७९, १४ : ३८
मङ्गलबार, २७ मङ्सिर २०७९

नेपालमा पोलियो भाइरसविरुद्ध खोपको क्लिनिकल ट्रायलका गरिने भएको छ । मङ्सिर २० गते बसेको मन्त्रीपरिषद्को बैठकले पोलियो भाइरस खोपको क्लिनिकल ट्रायलको लागि अनुमति दिएको हो ।

सरकारले अनुमति दिएसँगै नयाँ स्ट्रेनको पोलियो खोपको तेस्रो चरणको लागि क्लिनिकल ट्रायल गरिने भएको छ ।  नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार फेब्रुअरीको दोस्रो साता काठमाडौँ उपत्यकाको एक विद्यालयका २५० जना बालबालिकामा तेस्रो ट्रयाल गरिनेछ । 

परिवार कल्याण महाशाखाका निर्देशक डा.विविक लालका अनुसार पोलियो भाइरसको खोप सल्लाहकार समिति र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनका आधारमा क्लिनिकल ट्रायलका लागि अनुमति मागिएको हो । यो खोप कतिपय देशले नियमित खोपमा पारिसकेको समेत उनले बताए ।  पोलियो विरुद्धको क्लिनिकल ट्रायल गर्न लागिएको खोप सुईबाट दिने भएको छ ।  

चीन र जापानमा पनि आइपीभी खोप 

नेपालमा क्लिनिकल ट्रायल गर्न लागिएको खोप चीन र जापानले नियमित खोपको रूपमा सविन स्ट्रेनको आइपीभी खोप बनाएको छ । पोलियो विरुद्धको आईपीभी खोपले पुनः पोलियो निम्त्याउँदैन । आईपीभी खोपले निष्क्रिय पोलियो भाइरस समावेश गर्ने परिवार कल्याण महाशाखाका निर्देशक डा. लाल बताउँछन् । जसले यो भाइरस नष्ट भएको हुन्छ र यसले सङ्क्रमण वा रोग निम्त्याउँदैन । 

नेपाल पोलियोमुक्त देशको रूपमा घोषित भए पनि संसारबाट उन्मूलन नभएकाले जोखिम रहेकाले सरकारले पोलियो विरुद्धको अर्को खोपलाई क्लिनिकल ट्रायलका लागि अनुमति दिएको डा. लाल बताउँछन् । उनका अनुसार पाकिस्तान, अफगानिस्तानमा पोलियोका बिरामी पुष्टि भइरहेको हुँदा नेपाल पनि उच्च जोखिममा रहेको छ ।

यद्यपि विश्वमा धेरैजसो मुलुकबाट पोलियो उन्मूलन भइसकेको छ । नेपालमा पछिल्लोपटक सन् २०१० मा पोलियो देखिएको थियो । नेपाललाई विश्व स्वास्थ्य संगठनले सन् २०१४ पोलियोमुक्त राष्ट्र घोषणा गरिसकेको थियो । यद्यपि खोप विज्ञहरूका अनुसार नेपाल  अझै जोखिम रहेको छ । 

सरकारले सन् २०१६ देखि पोलियो खोप मुखबाट र सुईबाट दिँदै आएको छ । पोलियोको खोपलाई राष्ट्रिय खोप तालिकामा राखी खोप र थोपा दिँदै आएको छ । हालै परिवर्तित नियमित खोप तालिकाअनुसार पोलियो विरुद्धको खोप एफआईपीभी खोप १ वर्ष उमेर भित्रका बालबालिकाका लागि १४ हप्ता र ९ महिनामा गरी दुई मात्रा मुखबाट दिइन्छ ।

यस्तै, एक वर्षको उमेरभित्र सो खोप नियमित तालिकामा लगाउन छुटेमा ५ वर्ष उमेरभित्र सम्पूर्ण बालबालिकाका लागि १६ हप्ता अर्थात् चार महिनामा दुई मात्राको फरकमा पोलियो विरुद्धको खोप दिइने व्यवस्था गरिएको निर्देशक डा.लालले बताए ।

आईपीभी खोप के हो ?

पोलियोमाइलाइटिस भाइरसले मस्तिष्क र मेरुदण्डमा असर गर्छ । यो भाइरसको सङ्क्रमण भएपछि ज्वरो आउने, टाउको दुख्ने अनि पक्षाघातसम्मका लक्षणहरु देखा पर्न सक्छ । 

आईपीभी भनेको निष्क्रिय पोलियो खोप हो अर्थात् यसमा मारिएको पोलियो भाइरस समावेश गरिन्छ । आईपीभी खोप ९९ प्रतिशत प्रभावकारी छ । अर्थात् यो खोप पूर्ण मात्रा खोप लगाएका एक सय जना मध्ये ९९ जनालाई भाइरस सङ्क्रमणबाट जोगाउने खोप विज्ञहरु बताउँछन् । 

सेन्टर फर डिजिज कान्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) अमेरिकाका अनुसार पोलियो खोपको दुई मात्रा लगाउँदा ९० प्रतिशत संरक्षण गर्छ भने तीन मात्रा लगाउँदा ९९ प्रतिशत माथि काम गर्छ ।  

खोपको साइड इफेक्ट के हो ?

पोलियो विरुद्धको खोप लगाएको वरिपरि सुन्निने तथा दुखाई हुन सक्छ । खोप लगाएको ठाउँमा रातो हुन पनि सक्छ । कुनै बालबालिकालाई एलर्जी अनि एनाफिलेक्सिसका कुनै लक्षण भएमा स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न चिकित्सकहरु सुझाउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप