शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

लुका मोड्रिच : युद्धबीच फक्रिएका मिडफिल्ड मायेस्ट्रो

मङ्गलबार, २७ मङ्सिर २०७९, १६ : १०
मङ्गलबार, २७ मङ्सिर २०७९

आफ्नो देशको मिडफिल्ड ‘ट्रायो’ लुका मोड्रिच, माटेयो कोभाचिच, र मार्सेलो ब्रोजोविचबारे डिफेन्डर जोसिप जुरानोविचले भनेका छन्, ‘बैंकमा पैसा राख्नुभन्दा उनीहरुलाई बल पास गर्नु बढी सुरक्षित छ ।’

मंगलबार राति अर्जेन्टिनासँग कतार विश्वकपमा सेमिफाइनलमा क्रोएसिया भिड्दा सबैको आँखा मिडफिल्ड ‘मायेस्ट्रो’ लुका मोड्रिचमाथि हुनेछ । आफ्नो सटिक पासले खेलको लयलाई नै बदल्न सक्ने क्षमता भएका मोड्रिच डि–बक्सबाहिरबाट गोल गर्न पनि उत्तिकै माहिर छन् । बालोन डि’ओरमा लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोको आधिपत्य तोड्ने मोड्रिचको जीवन भने निकै संघर्षपूर्ण रहेको छ ।

क्रोएसियाको जादारमा जन्मेका लुकाको बाल्यकाल समस्याग्रस्त थियो, किनकि उनी क्रोएसियाको स्वतन्त्रता युद्धको उत्कर्षमा हुर्केका थिए । तर समस्याका बाबजुद लुकाले आफ्नो बाल्यकालमा फुटबल खेल्न जारी राखे ।

बाल्यकाल र प्रारम्भिक जीवन

लुका सेप्टेम्बर ९, सन् १९८५ मा जादार, क्रोएशियामा जन्मिएका हुन् । उनकी आमाको नाम राडोज्का डोपुड र बुवाको स्टाइप मोड्रिच हो । उनकी आमा कपडा बनाउने कारखानामा मजदुरको रूपमा काम गर्थिन् र उनका बुबा एरोमेकानिक थिए । परिवारको आर्थिक अवस्था औसतभन्दा तल थियो ।

उनका आमाबाबु शरणार्थी थिए जो भयानक बोस्नियाली युद्धको समयमा सर्बियाली आक्रमणकारीहरूबाट भागेका थिए । उनी क्रोएसियाको स्वतन्त्रता युद्धका बीच हुर्किए । यो युद्धले उनीहरुको आर्थिक स्थितिमा नकारात्मक असर पारेको थियो ।

बुवाआमाको आर्थिक अवस्था कमजोर भएकाले उनले आफ्नो बाल्यकालको अधिकांश समय हजुरबा हजुरआमाको घरमा बिताए । उनले ५ वर्षको उमेरमा बाख्रा गोठालोको रूपमा काम गरे । उनका हजुरबुवालाई पछि सर्बियाली विद्रोहीहरूले मृत्युदण्ड दिए । उनको घर जलाइयो त्यसैले उनीहरू आफ्नो जन्मभूमि छोड्न बाध्य भए ।

समस्याग्रस्त ती वर्षहरूमा, उनका बुबा क्रोएसियाली सेनामा भर्ती भए । परिवार सरेको जादर सहरमा बमहरू पड्किनु सामान्य बन्न पुगे । त्यस समयमा सहरका युवाहरूका लागि मन भुलाउने ठुलो माध्यम थियो । लुका पनि त्यसबाट अछुतो हुन सकेनन् ।

लुका सानैदेखि फुटबलप्रति आकर्षित थिए । उनी आफ्नो उमेरको बच्चाको जमातमा होचो र पातला थिए तर उनीसँग फुटबल खेल्ने प्राकृतिक सीप थियो ।

उनलाई लगातार कमजोर ठानियो । ‘हाजदुक स्प्लिट’ मा युवा परीक्षणको समयमा पनि, उनलाई अस्वीकार गरियो । तर, उनको सीप लामो समयसम्म नजरअन्दाज भएन । उनी उपेक्षा गर्नै नसकिने बिन्दुमा पुगे । त्यसका लागि कडा मेहनत गरे ।

सन् २००२ मा ‘डिनामो जेग्रेब’ द्वारा अनुबन्धित हुँदा उनी १६ वर्षका थिए । उनी आफ्नो गृहनगर क्लब ‘एनके जाडार’ युथ टिमका लागि राम्रो प्रदर्शन गरेपछि छनोट भएका हुन् । तर पनि सिनियर क्लब टिममा खेल्नका लागि उनी अझै सानै थिए । उनलाई सन् २००३ मा ‘जिरिन्स्की मोस्टार’ र सन् २००४ मा ‘इन्टर जाप्रेसिक’ का लागि ऋणमा पठाइयो ।

ऋणमा पठाइएका टिमका लागि लुकाले ४० खेलमा १२ गोल गरे । यो एक असाधारण गोल–स्कोरिङ रेकर्ड थिएन, तर मिडफिल्डरका रूपमा यो औसत भन्दा माथिको प्रदर्शन थियो । तसर्थ, उनी सन् २००५ मा जाग्रेबका लागि डेब्यु गर्न तयार थिए ।

जाग्रेबका लागि सिनियर खेलाडीको रूपमा आफ्नो पहिलो नियमित सिजनमा उनले ३१ खेलमा ७ गोल गरे र आफ्नो टोलीलाई लिग जिताउन मद्दत गरे । उनी स्टार स्ट्राइकर एडुआर्डोका लागि मुख्य एसिस्टकर्ता थिए । यसरी, लुकाले आफ्नो टोलीलाई अर्को दुई सिजनमा थप दुईवटा लिग च्याम्पियनसिपहरू सुरक्षित गर्न मद्दत गरे ।

‘डिनामो’ सँगको आफ्नो दोस्रो सिजनमा, उनलाई ‘वर्ष खेलाडी’ को अवार्डद्वारा सम्मानित गरियो ।  उनले जाग्रेबबाट खेलेका चार सिजनमा ३१ गोल र २९ असिस्ट गरेका थिए । उनले आफ्नो टोलीलाई २००७ को ‘क्रोएसियाली कप’ जिताउनका लागि नेतृत्व पनि गरेका थिए । उनको निकै सफल जाग्रेबसँगको सहकार्य सन् २००८ मा अन्त्य भयो ।

उनलाई सन् २००८ मा  ‘इङ्लिस प्रिमियर लिग’ टोली ‘टोटनह्याम हटस्पर’ ले अनुबन्ध गरेको थियो । यो सम्झौता १६.५ मिलियन युके पाउण्डको कीर्तिमानी शुल्कमा तय भएको थियो । उनले टोटनह्यामबाट खेलेका चार सिजनमा १२७ खेलमा १३ गोल गरे । उनले आफ्नो टोलीलाई विगत ५० वर्षमा पहिलो पटक सन् २०१०–११ मा  च्याम्पियन्स लिग खेल्नका लागि नेतृत्व पनि गरे, जहाँ उनको टोली क्वार्टरफाइनलसम्म पुग्न सफल भएको थियो ।

सन् २०१२ मा, लुका विश्वको एक उत्कृष्ट फुटबल क्लब, ‘रियल मड्रिड’ मा गए । यो उनको करियरको सबैभन्दा सफल साबित भयो । उनको प्रदर्शनले उनलाई सन् २०१३–२०१४ ‘च्याम्पियन्स लिग’ का लागि ‘टीम अफ द सिजन’ का लागि छनोट गरायो ।

उनले आफ्नो टोलीलाई सन् २०१५–२०१६, २०१६–२०१७, २०१७– २०१८ को लगातार तीन सिजनको ‘च्याम्पियन्स लिग’ टाइटल जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे । उनी तीनै सिजनमा ‘टीम अफ द सिजन’ को हिस्सा पनि थिए ।

उनले सन् २०१६ मा ‘ला लिगा अवार्ड’ मा लागि ‘बेस्ट मिडफिल्डर’ को उपाधि जिते । यस्तै सन् २०१७ र २०१८ मा पनि उनलाई ‘यूइएफए क्लब अवार्ड’ का लागि पनि ‘बेस्ट मिडफिल्डर’  को उपाधि प्रदान गरियो । सन् २०१६ र २०१८ को ‘फिफा विश्व–११’ टिममा मनोनित हुने पहिलो क्रोएसियाली फुटबलर बने ।  यस्तै, सोही वर्ष उनी ‘यूईएफ टिम अफ द इयर’ का लागि पनि मनोनित भएका थिए ।

सन् २०१८ मा ‘यूइएफए मेन्स प्लेयर अफ द इयर अवार्ड’ बाजी मार्ने उनी पहिलो क्रोएसियाली खेलाडी भए । यस्तै उनले ‘बलोन डि’ओर’ अवार्ड पनि प्राप्त गरे ।

उनले सन् २००६ देखि क्रोएसियाली राष्ट्रिय फुटबल टिमबाट खेलिरहेका छन् । आफ्नो राष्ट्रिय टोलीका लागि खेलेका १६० वटा खेलमा उनले २३ गोल गरेका छन् । उनले सन् २०१८ को ‘फिफा विश्व कप’ मा आफ्नो टोलीलाई फाइनलसम्म पुर्‍याए र उत्कृष्ट खेलाडीलाई प्रदान गरिने ‘गोल्डेन बल अवार्ड’ हात पारे ।

उनले प्रायः सेन्ट्रल मिडफिल्डरको रूपमा खेल्ने गरेपनि उनी एक असाधारण अट्याकिङ मिडफिल्डर हुन् । 

लुका मोड्रिचले भान्जा बोस्निकलाई चार वर्षसम्म डेट गरेपछि सन् २०१० को मेमा विवाह गरे । यो जोडीका तीन सन्तान छन् । छोराको नाम इभानो हो र दुई छोरीको नाम एम्मा र सोफिया हो ।

एजेन्सीको सहयोगमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप