बहुमतको सुझाव ‘नेतृत्व परिवर्तन’, ओलीको निर्देशन- त्यो कुरा नलेख्नु !
सारांश
- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यदलले तयार पार्ने प्रतिवेदनमा 'नेतृत्व पुनर्गठन वा परिवर्तन' शब्द नलेख्न निर्देशन दिएका छन्।
- कार्यदलका केही सदस्यहरूले ओलीको निर्देशनलाई कार्यदलको स्वायत्ततामाथिको हस्तक्षेप भन्दै प्रश्न उठाएका छन्।
- कार्यदलले सङ्कलन गरेको बहुमत सुझाव नेतृत्व परिवर्तन गर्नुपर्ने रहेको छ, तर ओलीले भने यस्तो विषय प्रतिवेदनमा नसमेट्न निर्देशन दिएका छन्।
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदलले तयार पार्ने ‘सुझाव’ प्रतिवेदनमा ‘नेतृत्व पुनर्गठन वा परिवर्तन’ भन्ने शब्द नलेख्न निर्देशन दिएका छन्।
सात प्रदेशसहित १३ स्थानमा पुगेर सुझाव सङ्कलन गरेपछि बिहीबार बसेको कार्यदल बैठकमा अध्यक्ष ओली आफैँ उपस्थित भएर यस्तो निर्देशन दिएका हुन्।
‘तपाईंहरूले बनाउने प्रतिवेदनमा पार्टीभित्र विवाद हुने कुनै पनि कुरा उल्लेख नगर्नुस्’, पार्टी कार्यालय च्यासलमा बसेको कार्यदल बैठकमा ओलीले निर्देशनात्मक शैलीमा भनेका थिए।
ओलीको यस्तो निर्देशनपछि केही सदस्यहरूले कार्यदलको स्वायत्ततामा हस्तक्षेप गर्न नमिल्ने भन्दै प्रतिवादसहित प्रश्न गरेका थिए। बैठकमै पुगेर ओलीले हस्तक्षेपकारी शैलीमा यस्तो निर्देशन दिएपछि 'कार्यदलको स्वायत्तता के हुन्छ ?' भनेर केही सदस्यहरूले ओलीलाई प्रतिप्रश्नसमेत गरेको स्रोतले जनाएको छ।

‘कार्यदल स्वायत्त छ। तर तपाईं बैठकमा आउनुहुन्छ र निर्देशन पनि दिनुहुन्छ भने कार्यदलको स्वायत्तता के रहन्छ ?’ एक कार्यदल सदस्यले ओलीको निर्देशनको प्रतिवाद गर्दै बैठकमा भएको सवालजवाफ उद्धृत गर्दै भने, ‘तपाईं किन आउनुपर्यो कार्यदल बैठकमा ? कार्यदल बैठकमा आएर तपाईंले यस्तो कुरा भन्न मिल्छ ?’ तर ओलीले यसबारे कुनै जवाफ दिएनन्।
कार्यदल सदस्यहरूले नै असन्तुष्टि जनाएपछि बिहीबारको बैठकमा ओली आफ्नो छोटो भनाइ राखेर निस्किएका थिए। तर, एमाले सचिव भानुभक्त ढकाल भने कार्यदलमा अध्यक्ष उपस्थित भएको विषयलाई लिएर ‘हस्तक्षेप’ भन्न नमिल्ने तर्क गर्छन्।
‘पार्टी प्रवेश कार्यक्रम पनि भएकाले अध्यक्ष कार्यालय आउनुभएको थियो। त्यही बेला अध्यक्ष बैठकमा आएर शुभकामना दिनुभएको हो’, ढकालले भने, ‘यसो गर्नुस्, उसो गर्नुस् भनेर कुनै निर्देशन दिएको मलाई थाहा छैन। कार्यदललाई कार्यादेश नै दिएपछि त्यसो किन भन्नुपर्यो र !’
बैठकको सुरुवातमा महासचिव तथा कार्यदलका सदस्यसचिव शङ्कर पोखरेलले सङ्कलित प्रतिनिधिमूलक सुझावका बारेमा ओलीसहितको बैठकमा ‘ब्रिफिङ’ गरेका थिए।

‘महासचिवको ब्रिफिङपछि प्रतिवेदनमाथि सचिवालयमा छलफल भइहाल्छ भनेर अध्यक्ष हिँड्नुभयो’, ती सदस्यले भने, ‘धेरै समय बस्नुभएन तर, कार्यदलको बैठकमा उहाँ बस्नुपर्ने आवश्यकता थिएन।’
गत जेठ ३० गतेबाट करिब एक महिना लगाएर कार्यदलले निर्वाचन समीक्षासहित पार्टी पुनर्गठन र सुदृढीकरणबारे सुझाव सङ्कलन गरेको थियो। ती सुझावका आधारमा कार्यदलले प्रतिवेदन तयार पार्नेछ। प्रतिवेदनमा कार्यदल सदस्यका धारणाको सार पनि समेटिनेछ।
कार्यकर्ता र कार्यदल सदस्यबाट प्राप्त सुझावका आधारमा प्रतिवेदनलाई अन्तिम रूप दिने जिम्मेवारी कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ र सदस्यसचिव शङ्कर पोखरेललाई दिइएको छ।
सुझाव सङ्कलन अभियानबाट प्राप्त राय, सुझाव र निष्कर्षलाई समेटेर प्रतिवेदन तयार गरिने सचिव ढकालले जानकारी दिए।

‘तलबाट जे सुझाव आएका छन्, ती सुझाव समेटेर जस्ताको तस्तै प्रतिवेदन तयार हुन्छ’, ढकालले भने, ‘तलका सुझावहरू समेटिएको एक खण्ड र कार्यदलको सुझाव अर्को खण्ड गरेर प्रतिवेदन बन्छ।’ सचिव ढकालका अनुसार ४/५ दिनमा मस्यौदा सकेर पुनः कार्यदलको अर्को बैठकमा छलफल गरी प्रतिवेदनलाई अन्तिम रूप दिइनेछ।
कार्यदलले सङ्कलन गरेकोमध्ये बहुमत सुझाव अहिलेको नेतृत्व परिवर्तन र कमिटी पुनर्गठन गर्नुपर्ने रहेको बताइएको छ।
‘बहुमत सुझाव नेतृत्वबाट ओली हट्नुपर्छ भन्ने आएको छ’, ती सदस्यले रातोपाटीसँग भने, ‘अल्पमत सुझाव ओली नेतृत्वमै रहनुपर्छ भन्ने छ।’
तलबाट आएको मत जस्ताको तस्तै समेट्दा र कार्यदल सदस्यहरूको समेत राय प्रतिवेदनमा राख्दा 'नेतृत्व परिवर्तन नै निकासको बिन्दु हो' भन्ने सुझावको निष्कर्षका रूपमा समेटिने ती नेताको भनाइ छ। कार्यदलले प्रतिवेदनलाई पूर्णता दिएपछि सचिवालय हुँदै केन्द्रीय कमिटी बैठकमा छलफलका लागि पेस हुने एमाले नेताहरूले बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: स्पेन रोक्ने दाउमा ‘द रेड डेभिल्स’, सिंहदरबारमा आइसब्रेक
-
भारतमा पहिरोमा परी ७ जनाको मृत्यु, एक बेपत्ता
-
बेलायती पूर्वमन्त्री एन विडिकोम्ब मृत फेला, हत्या आशंकामा २६ वर्षीय युवक पक्राउ
-
चुनावअघि विधेयक पारित गर्न नेतान्याहुको दौड
-
हाइटीमा श्रीलङ्काली सुरक्षा टोली परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण