बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सट्टेबाजीमा क्रिप्टोकरेन्सीको कनेक्सन : नेपाली एजेन्टबाट यसरी हुन्छ कारोबार

एजेन्ट बन्न ३ लाखसम्म धरौटी
मङ्गलबार, ०५ पुस २०७९, १० : ४०
मङ्गलबार, ०५ पुस २०७९

फिफा विश्वकप फुटबल प्रतियोगितामा सट्टेबाजी गराएको आरोपमा काठमाडौं उपत्यकाबाट प्रहरीले आधा दर्जन बेटिङ एजेन्टलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । कतारमा सम्पन्न विश्वकपमा आरोपीहरुले सट्टेबाजी गराएको प्रहरीको आरोप छ ।

मंसिर २४ मा उपत्यका अपराध अनुसन्धान कार्यालयले पाल्पाको रैनादेवी छहरा–४ घर भएर बूढानीलकण्ठ बस्ने रुद्र प्रसाद पोखरेल र भारत राजस्थानका पवन कुमार शर्मालाई पक्राउ गरेको थियो ।​ उनीहरूले ‘डायमण्ड एक्स’ नामक एप्सको प्रयोग गरेर अनलाइनमार्फत बेटिङ ‘सट्टेबाजी’ गराएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । काठमाडौंको नरदेवी बस्दै आएका ३२ वर्षीय पवन सट्टेबाजी धन्दाका ‘पटके’ हुन् । उनलाई यसअघि पनि पक्राउ गरेर मुद्दा चलाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (एसपी) कृष्ण कोइरालाले जानकारी दिए ।

त्यस यता सानेपाका २० वर्षीय सिभिल इन्जिनियरिङ अध्ययनरत आदर्श ठाकुर, लमजुङ घर भएका सुजन गौली, भक्तपुरको चाँगुनारायण घर भएका ३१ वर्षीय सुनिल चौगुठी र सूर्यविनायक नगरपालिका–८ घर भएका २५ को अजय भेले पक्राउ परे । ती ४ जनाले खेलमा सट्टेबाजी गर्न प्रयोग हुने रसियन बेटिङ एप ‘वान–एक्स बेट’ प्रयोग गरेर सट्टेबाजी गराएको प्रहरीको निष्कर्ष छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कोइराला भन्छन्, ‘विश्वकप फुटबलमा बेटिङ गराउने चार जना वान–एक्स बेटको एजेन्ट हुन् ।’

एजेन्टको रुपमा काम गरेका उनीहरुले करोडौं रकम कारोबार गरेको बैंक स्टेटमेन्टबाट देखिएको छ । विश्वकप फुटबल, आइपिएल, कोपा अमेरिका फुटबल र युरोकप फुटबल जस्ता प्रतियोगितामा ‘वानएक्स बेट’ नामक कम्पनीको एपमार्फत सट्टेबाजी हुने गरेको छ । कतार विश्वकप–२०७९ मा पनि सो एप मार्फत खुलेआम सट्टेबजी भएका जानकारहरु बताउँछन् ।

वानएक्स बेट, डायमण्ड एक्स र वेट–३६५ जस्ता कम्पनीहरूले एजेन्ट तोकेर बेटिङ गराएको कुरा ‘ओपन सेक्रेट’ छ । ति कम्पनीहरुले हारजितको रकम ई–सेवा, खल्ती र कनेक्ट आईपीएस लगायतका आर्थिक कारोबार गर्ने एपमार्फत भुक्तानी गरेको अनुसन्धानबाट थाहा भएको छ ।​

​अनलाइन बेटिङबारे अनुसन्धान जटिल हुने बताउँछन्, उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कोइराला । एसपी कोइरालाले रातोपाटीसँग भने, ‘कुनै ठाउँमा बसेर मोबाइलमार्फत सट्टेबाजी हुन्छ, भुक्तानी समेत अनलाइनमार्फत हुने हुनाले सो लिंकमा छिरेर अनुसन्धान गर्न त्यति सहज छैन ।’

सट्टेबाजी कसरी गराइन्छ ?
प्रहरी अनुसन्धानबाट वान–एक्स बेट मार्फत हुने गरेको कारोबार र डिजिटल मुद्रा कारोबार ‘क्रिप्टोकरेन्सी’ आपसमा सबन्धित देखिएको छ । दुवै कारोबार नेपालमा अवैध छ । तर, पनि सट्टेबाजी चलिरहेको छ । वान–एक्स बेट नामक एप्लिकेशनका एजेन्ट आदर्श ठाकुरले २ करोड २ लाख ८४ हजार रकम बराबरको कारोबार गरेको अनुसन्धानबाट खुलेको छ । उनी अनलाइन बेटिङ एप्स ‘वान–एक्स’को एजेन्ट हुन् ।

अनलाइनमार्फत सट्टेबाजी गराउने मस्ट बेट, मेटा बेट, बेट–३६५ र वान–एक्स बेट मध्ये नेपालीहरूमा वान एक्स बेट लोकप्रिय छ । वान–एक्सले रकम संकलन र भुक्तानी गराउन एजेन्ट तोक्ने गरेको छ । एजेन्टहरूले रकम संकलन गरेबापत ७ प्रतिशत र भुक्तानी गरे बापत २ प्रतिशत कमिसन पाउँछन् ।

एजेन्ट नियुक्ति गर्दा वान–एक्स प्रयोगकर्ता मध्यबाट ठूलो रकम बाजी हारेका व्यक्तिहरूलाई पहिचान गरेर एजेन्ट बन्न प्रोत्साहित गर्ने गरेको छ । ‘सट्टेबाज खेलाडी मध्ये धेरै रकम हारेकाहरूलाई इमेल गरेर प्रोत्साहित गर्ने गरेको थाहा भएको छ’ अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृत भन्छन्, ‘एजेन्ट तोकेपछि ती एजेन्टहरुले धेरै बैंक खाता र धेरै डिजिटल वालेट खोलेर कारोबार सुरु गरेको देखिन्छ ।’

डिजिटल वालेट खोल्दा सट्टेबाजीबारे थाह नभएका मानिसहरूको नामको नागरिकता दुरुपयोग गरेर सिम कार्ड लिने गरिएको भेटिएको प्रहरी उपरिक्षक कृष्ण कोइरालाले रातोपाटीलाई बताए । कोइराला भन्छन्, ‘सिम कार्ड वितरण गर्दा कागजात परिक्षण प्रणालीलाई बलियो बनाउनुपर्ने देखिन्छ ।’

धेरै रकम संकलन र भुक्तानी गर्दा धेरै कमिशन आउने हुनाले एजेन्टहरुले बढीभन्दा बढी बैंक खाता र वालेट प्रयोग गर्छन् । बेटिङ एजेन्ट सुनिल चौगुठीले २३ वटा बैंकमा २५ वटा खाता संचालन गरेर कारोबार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उनले १ वर्षको अवधिमा २ करोड ४५ लाख भन्दा धेरै कारोबार गरेको भेटिएको एसपी कोइरालाले जानकारी दिए । 

एजेन्ट नियुक्त गरेपछि काम सिकाउन बेटिङ एप्सले स्काइप र जुम लगायत अनलाइन माध्यमबाट ७ दिनको अडियो कक्षा संचालन गर्ने गरेको आरोपीहरुले प्रहरीलाई बताएका छन् । कक्षा संचालनपछि एजेन्टहरुलाई ‘रेड्डी’ नामक एप्लिकेशनमा लगइन आईडी र पासवर्ड उपलब्ध गराइन्छ । सो आइडी र पासवर्ड मार्फत लगइन गरेपछि नेपालीहरुले रकम जम्मा गर्दा र जितको भुक्तानी माग गरेको नोटिफिकेशन आउँछ । एजेन्टले नोटिफिकेशन ‘एक्सेप्ट’ गरेपछि अटोमेटिक रुपमा वान–एक्स बेटमा रकम लोड हुने वा जित भएको रकम खेलाडीहरूको बैंक तथा वालेट खातामा रकमान्तर हुने गरेको अनुसन्धान अधिकृतहरु बताउँछन् ।

‘पहिला वान–एक्स बेटलाई क्रिप्टोकरेन्सी एजेन्टहरुले पठाएपछि निजहरुले सो मूल्य बराबरको लिमिट पाउँछन्’, बेटिङबारे अनुसन्धान गरिरहेका एक जना अधिकृत भन्छन्, ‘सोही रकम बराबरको रकम नेपालबाट संकलन गरी प्रयोगकर्ताले वान–एक्स बेट अकाउन्टमा रिलोड गरिदिन्छन् ।’

लिमिट सकिएपछि फेरि लिमिट पाउन एजेन्टले पुनः क्रिप्टोकरेन्सी पठाउन वा जित भएको रकम भुक्तानी दिन सक्नेछन् ।

एजेन्ट बन्न धरौटी
एजेन्टको रुपमा सक्रिय व्यक्तिहरुले सो काम नछाडुन् भनेर वान–एक्स बेटले धरौटी रकम राख्ने गरेको थाहा भएको छ । अनुसन्धान अधिकृतहरूका अनुसार एकजना एजेन्टबाट १ लाख देखि ३ लाखसम्म रकम एप्सले धरौटी स्वरुप राख्ने गरेको छ । धरौटी रकम फिर्ता माग्दा ३ महिनापछि क्रिप्टो करेन्सीको रुपमा फिर्ता दिने पूर्वसर्त राख्ने गरेको पक्राउ परेका एजेन्टहरुले प्रहरीलाई बताएका छन् ।

वान–एक्स बेटमार्फत सट्टेबाजी गराएको आरोपमा पुस १ मा भक्तपुरबाट पक्राउ परेका सुनिल चौगुठी र अजय भेलेसहितका ६ जनाविरुद्ध प्रहरीले फौजदारी अपराध संहिता–०७४ को दफा–१२५ को उपदफा ४ बमोजिमको कसुरमा मुद्दा चलाएको छ । 

फौजदारी संहिता अनुसार ‘सट्टेबाजी गर्न गराउन’ पाइँदैन । पक्राउ परेकाहरुमध्ये धेरैले सट्टेबाजी गराउन विगत १ वर्षदेखि एजेन्टको रुपमा काम गर्न थालेको बयान दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप