मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

गृहमन्त्री लामिछानेको निर्देशन कार्यान्वयनमा, न्यूनतम् साझा कार्यक्रम बनाउन जुटे सत्तारुढ दल

बिहीबार, १४ पुस २०७९, २१ : २०
बिहीबार, १४ पुस २०७९

आज मिति २०७९ साल पुस महिनाको १४ गते बिहीबार । आज दिनभर भएका मुख्य मुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ–

१. सत्ता साझेदार दलको बैठक

सत्ता साझेदार दलले पाँच दिनभित्र सरकारको न्यूनतम् साझा कार्यक्रमको ड्राफ्ट तय गर्न कार्यदल गठन गरेको छ । बालुवाटारमा बिहीबार बिहान बसेको सत्ता साझेदार दलको बैठकले यस्तो निर्णय गरेको उपप्रधान तथा गृहमन्त्री समेत रहेका रवि लामिछानेले बताए ।

​२. जन्मियो नयाँ पार्टी

एमाले छाडेर स्वतन्त्र निर्वाचन लडेका प्रभु साहले नयाँ पार्टी गठन गरेका छन् । रौतहट ३ बाट प्रतिनिधिसभामा निर्वाचित साहले आफ्नो अध्यक्षतामा आम जनता पार्टी गठन गरेका हुन् ।

बिहीबार राजधानी भेला गरेर ५१ सदस्यीय तदर्थ समिति गठन गरिएको सो पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पार्टीले प्रदेश अध्यक्ष, सचिव र इन्चार्जको जिम्मेवारी समेत तोकेको छ ।

​स्वतन्त्र उम्मेदवार तथा वैकल्पिक राजनीतिक शक्तिहरूको राष्ट्रिय सम्मेलन आगामी फागुन ५, ६ र ७ गते काठमाडौंमा आयोजना हुने भएको छ । स्वतन्त्र उम्मेदवार तथा वैकल्पिक राजनीतिक फोरमको आज बसेको बैठकले फागुनको पहिलो साता सम्मेलन गर्ने निर्णय गरेको यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

३. गृह मन्त्रीको निर्देशन कार्यान्वयनमा

कार्यविधिमा व्यवस्था गरिएको भन्दा विपरीत खटिएका सुरक्षाकर्मी धमाधम फिर्ता हुन थालेका छन् । प्रहरी प्रधान कार्यालयबाट पूर्व कर्मचारी र सुरक्षाकर्मीहरूको व्यक्तिगत सहयोगीको रूपमा खटिएका सुरक्षा अधिकारीहरू फिर्ता भएका हुन् ।

गृह मन्त्रालयले पुस १२ मा ४८ घण्टाभित्र कार्यविधि मिचेर परिचालन गरिएको सुरक्षाकर्मी फिर्ता गराउन सुरक्षा निकायलाई निर्देशन दिएको थियो । बिहीबार साँझसम्म ५७ जना प्रहरी कर्मचारी फिर्ता आएको प्रहरी प्रवक्ता (डीआइजी) टेकप्रसाद राईले रातोपाटीलाई बताए । डिआइजी राईले भने–‘मापदण्ड भन्दा विपरीत खटिएकाहरूलाई फिर्ता बोलाएका छौँ ।

​४. ठगी बढ्दो क्रममा

पछिल्लो समय मोबाइल वालेट ई–सेवा दुरुपयोग गर्दै पैसा ठग्ने क्रम बढ्न थालेको छ । सामाजिक सञ्जाल फेसबुक ह्याक गरेर मोबाइल वालेटको दुरुपयोग गर्दै प्रयोगकर्ताको पैसा चोरी हुने क्रम ह्वात्तै बढेको हो ।

ह्याकरले फेसबुक ह्याक गर्ने र ई–सेवा आइडी प्रयोग गरी इमर्जेन्सी परेको भन्दै पैसा असुल्ने गरेका छन् । तर, यसबारे कम्पनी पूर्ण रूपमा जवाफदेही बन्ने गरेको छैन । ई–सेवालाई आफ्नो पैसा ह्याकरले लगेको भनेर जानकारी दिन फोन गर्दा साइबर ब्यूरोमा जानू भनेर जिम्मेवारीबाट पन्छिने गरेको छ ।

​५. चिनियाँ टोलीले थाल्यो काम

नेपाल–चीन अन्तर्देशीय रेलमार्गको सम्भाव्यता अध्ययनका लागि नेपाल आएका ६ जना चिनियाँ प्राविधिकले काम थालेका छन् । तिब्बतको केरुङदेखि काठमाडौंसम्म रेलमार्गको सम्भाव्यता अध्ययनका लागि २ दिनअघि चीनबाट आएको टोलीले रेल विभागको सहकार्यमा काम अघि बढाएको हो ।

​६. गृह मन्त्रालयको निर्णय

गृह मन्त्रालयले सुरक्षा निकायका पदाधिकारीहरूलाई कुटनैतिक नियोग र  राजनीतिक नेतृत्वसँग भेटघाट गर्दा विभागीय स्वीकृति लिनुपर्ने निर्णय गरेको छ । स्पष्ट प्रयोजन र विभागीय स्वीकृति नलिइकन सुरक्षाकर्मी पदाधिकारीले त्यस्ता भेटघाट गर्न नपाउने निर्देशन जारी गरिएको गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

​७. राप्रपाको निर्णय

राप्रपाले पार्टीका संघीय सांसदहरुबाट जनही २० हजार रूपैयाँ लेवी उठाउने निर्णय गरेको छ । बुधबार पार्टी कार्यालय धुम्बराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सांसदहरुबाट जनही २० हजार रूपैयाँ लेवी उठाउने निर्णय गरेको एक नेताले जानकारी दिए ।

ती नेताका अनुसार प्रदेशको हकमा भने १० देखि १५ हजारसम्म उठाउने गरी निर्णय भएको छ । प्रदेशमा प्राप्त हुने सेवा सुविधाको आधारमा प्रदेशले सो सीमामा रहेर लेवी तोक्ने गरी निर्णय भएको हो ।

​८. ब्रोकर लाइसेन्स

ब्रोकर लाइसेन्सका लागि आवेदन दिएका ४६ वटै कम्पनीले अनुमति पाउने पक्कापक्की भएको छ । बुधबार सर्वोच्च अदालतले धितोपत्र बजार सञ्चालन नियमावली र धितोपत्र व्यवसायी नियमावलीविरुद्धको रिट संवैधानिक इजलासले खारेज गरेसँगै धितोपत्र बोर्डलाई पुरानै लाइसेन्स वितरण प्रक्रिया अघि बढाउने बाटो खुलेको हो । तथापि, सोही मुद्दामा परेको अर्को रिटको किनारा नलागेसम्म भने बोर्डले लाइसेन्स वितरणको प्रक्रिया अघि बढाउन पाउने छैन ।

​९. सर्यो ए डिभिजन लिग

शहीद स्मारक ए डिभिजन लिग फागुन १९ गतेबाट हुने भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबबीच भएको बैठकले लिग फागुन १९ गतेबाट गर्ने सहमति भएको हो ।

​१०. यो पनि...

महान्यायाधिवक्ता डा दिनमणि पोख्रेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पोख्रेललाई शपथ खुवाएकी हुन् ।

​नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई राष्ट्रपति पदसँग जोडेर आएका पछिल्ला समाचारमा कुनै सत्यता नरहेको बताएका छन् ।  बिहीबार पार्टी जनवर्गीय संगठनका प्रतिनिधिसँगको जुम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कांग्रेससँगको गठबन्धन छोडेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेसँगै एमालेले आफूलाई राष्ट्रपति बनाउन खोजेको भनेर चलेका हल्ला र आएका समाचारमा सत्यता नभएको बताएका हुन् ।

​राष्ट्रिय प्रकृति संरक्षण कोषले ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा हाल ११४ प्रजातिका जीवजन्तु राखिएको जनाएको छ । करिब छ हेक्टर क्षेत्रफलमा फैलिएको चिडियाखाना सञ्चालनको जिम्मा २०५२ पुस १४ गतेदेखि कोषले पाएको थियो ।

​जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक पुस १६ गते बस्ने भएको छ । राजनीतिक समितिको बैठकमा प्रस्तुत हुने कार्यसूचिहरु तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो ।

​बागमती प्रदेशसभा बैठक पुस १८ गते सोमबार दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको छ ।

मंसिर ४ गते सम्पन्न निर्वाचनबाट गठित प्रदेशसभाको पहिलो बैठक सोमबारका लागि तय भएको बागमती प्रदेश प्रमुखको कार्यालयले जनाएको हो ।

​यो पनि छुट्यो कि ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप