बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हिरोझैँ एक्सन गर्ने उपासनाको इच्छा

‘मलाई महिलाप्रधान फिल्म मनपर्छ’ : उपासना सिंह
शनिबार, १६ पुस २०७९, १३ : ५५
शनिबार, १६ पुस २०७९

‘डिसेम्बर फल्स’ फिल्मका कारण अभिनेत्री उपासना सिंह ठकुरी अहिले चर्चामा छिन् । शुक्रबारबाट यो फिल्म देशभर प्रदर्शनमा आएको छ । फिल्म रिलिज समयदेखि नै उनले सकारात्मक प्रतिक्रिया पाइरहेकी छन् । 

फिल्म भर्खर रिलिज भएकाले यो सफल असफल के हुन्छ अहिले भन्न सकिने अवस्था छैन । फिल्मको प्रचारप्रसार एकदमै चित्त बुझ्दो भएको र सबै दर्शकले थाहा पाऊन् भन्ने हिसावले गरिएकोले फिल्म सफल हुनेमा उनी भने ढुक्क छिन् ।

‘मलाई फिल्मबाट अपेक्षा त धेरै छ । वर्कसपदेखि फिल्मको सबै काममा म सक्रिय थिएँ,’ उनले भनिन्, ‘फिल्मका लागि पनि निर्माण पक्षबाट कुनै कमीकमजोरी भएको छैन ।’ डबिङपछि आफूले पुरै फिल्म हेरेको र राम्रो लागेको उनले सुनाइन् ।

उपासनाले अभिनय गरेको सबै फिल्मले राम्रो चर्चा र सफलता हात पारेका छन् । अनमोल केसीसँग जोडी रहेको फिल्म ‘क्याप्टेन’ बाट अभिनेत्रीका रूपमा डेब्यु गरेकी उनले त्यसपछि ‘कबड्डी’ को तेस्रो सिक्वेल ‘कबड्डी ४’ र ‘२ नम्बरी’मा अभिनय गरिन् । यी दुवै फिल्म हिट भए । 

उनलाई भने दर्शकले ‘कबड्डी ३’ का कारणले चिन्छन् । हिट फिल्म ‘कबड्डी’ को तेस्रो सिक्वेल र व्यवसाय पनि राम्रो गरेकोले आफ्नो ‘कबड्डी ३’ अभिनयको नोटिसमा परेको उनी बताउँछिन् । 

नयाँ फिल्म आउँदा कस्तो महसुस हुन्छ ? प्रश्न राख्न नपाउँदै उनले जवाफ फर्काइन्, ‘खुसी लाग्छ । फिल्म सकिएपछि के को नर्भस ।’

आर्यनको फ्यान

उपासनाले पहिलो फिल्म ‘क्याप्टेन’ अनमोल केसीसँग अभिनय गरेकी थिइन् । दोस्रो ‘कबड्डी ३’ दयाहाङ राईसँग । तेस्रो ‘२ नम्बरी’ फेरि दयाहाङ र सौगातसँग अभिनय गरेकी उनलाई धेरैले ‘कबड्डी ३’ को दयाहाङकी हिरोइन भनेर चिन्छन् ।

अहिले रिलिज भएको फिल्म ‘डिसेम्बर फल्स’ पछि भने आफ्नो परिचय फेरिने उनी बताउँछिन् । ‘डिसेम्बर फल्स’मा मेरो नर्सको भूमिका छ । यसले मेरो बेग्लै परिचय बनाउनेछ,’ उनी भन्छिन् ।

‘डिसेम्बर फल्स’ मा आर्यनसँग स्क्रिन शेयर एकदमै राम्रो र स्मरणीय भएको उनको धारणा छ । ‘सुरुको समय उहाँ (आर्यन) सँग काम गर्ने कुरामा म नर्भस जस्तै थिएँ । उहाँ एक सुपरस्टार हो । सधैँ पर्दामा मात्र देखेको व्यक्तिसँग काम गर्ने कुरामा डर थियो,’ उनले अनुभव सुनाइन्, ‘तर उहाँले काम गर्ने सिलसिलामा सजिलो बनाइदिनुभयो ।’ 

सानैदेखि फलो गर्ने उनको आर्यन फेवरेट अभिनेता पनि हुन् । आर्यनको सहयोगी, मेहनती र प्रोफेसनल बानी उनलाई मनपरेको छ ।

उनले अगाडि भनिन्, ‘फिल्मको कारणले ममा एक्साइटमेन्ट धेरै छ । पहिलो पटक आर्यन दाईसँग काम गरेको फिल्म के होला, कसो होला खुलदुली पनि धेरै छ ।’ आर्या र आफू दुवैले फिल्ममा राम्रो गरेको उनी सुनाउँछिन् । 

‘फिल्मको सबै पक्ष बलियो छ । निर्माणमा केही कुरो पनि कमीकमजोरी छैन । एउटै गीतका लागि हामीले युरोप पनि गएर सुट गरेका छौँ । केही कुरोमा कम्परमाइज नभएकोले फिल्म राम्रो हुन्छ,’ उनले दाबी गरिन् ।

एक्सन फिल्म गर्न मन

अभिनयमा एक किसिमको छवि बनाएका कलाकारलाई त्यो छवि परिवर्तन गर्न निकै कसरत गर्नुपर्छ । त्यसैले उपासना ‘कबड्डी ३’ मा बनेको छवि ‘डिसेम्बर फल्स’ बाट परिवर्तन गर्ने भन्दा पनि नयाँ क्रिएट गर्नेतिर लागेकी छन् । 

फिल्मको ट्रेलरमा देखिएको नर्सको भूमिकाले सामाजिक सञ्जालमा समेत सकारात्मक प्रतिक्रिया पाएको छ । त्यसो त उनको पहिलो फिल्म क्याप्टेनमा पनि नर्सकै भूमिका थियो, सबैले रचाए । त्यसैले दर्शकको रोजाइमा ‘डिसेम्बर फल्स’ को आफ्नो भूमिका मनपराउने भन्नेमा उनी ढुक्क छिन् ।

अचेल धेरै कलाकार फिल्मको अफरमा पहिले पैसा हेर्छन् । भन्छिन्, ‘कथा राम्रो भएर पनि के गर्नु, पैसामा कुरो मिलेन भने चुकचुक हुन्छन् ।’ त्यसैले पहिले पैसा भन्छन् । उनी भने पहिले कथा हेर्छिन् । त्यसले समाजसँग कस्तो सरोकार राख्छ, हाम्रो संस्कृति, पहिचान बोकेको छ कि छैन बुझ्छिन् । त्यसपछि मात्र पारिश्रमिकलाई महत्त्व दिन्छिन् । 

‘कथा राम्रो भए पारिश्रमिकले महत्त्व राख्दैन,’ उनले भनिन्, ‘कति आफ्नो मेहनत पर्छ, त्यो हेरेर मात्र पारिश्रमिक लिन्छु ।’

अव उनले केही फरक भूमिकाको अपेक्षा गरेकी छन् । ‘कलाकार भएपछि अझै राम्रो र फरक भूमिका गर्न पाए हुन्थ्यो भन्ने सधैँ हुँदोरहेछ,’ उनले सुनाइन्, ‘रोमान्टिक कमेडी जनरा मेरो फेवरेट हो । महिलाप्रधान फिल्म मनपर्छ ।’ हिरोझैँ एक्सन गर्ने आफ्नो इच्छा उनले राखिन् । 

समीक्षामा खुसी 

पछिल्लो समय चलचित्र क्षेत्रमा देखिएका अभिनेत्री अदीति बुढाथोकी लगायत केही नेपाली मोडल यतिबेला बलिउड संघर्षमा छन् । उनको भने अहिले त्यस्तो केही सोच छैन रे । आफ्नो सोच नभए पनि सहकर्मीहरूको बलिउड सङ्घर्ष उनले राम्रो मानेकी छन् । नेपाली भएर विदेशका प्रतिनिधित्व गर्नु गौरवको विषय  भएको उनी ठान्छिन् ।

सधैँ हाँसीखुसी देखिने उपासना हरेक कुरो सकारात्मक रूपमा लिन्छिन् । त्यो मध्ये एक हो फिल्मको समीक्षा पनि । कलाकार क्षेत्रका धेरै व्यक्ति समीक्षालाई नराम्रो मान्छन् । उनी भने समीक्षाले धेरै कुरो सिकाउने, सुधार्ने बताउँछिन् ।

एक फिल्म वा म्युजिक भिडियो अभिनय गरेका व्यक्ति आफू ठुलो स्टार र सेलिब्रेटी ठान्ने थुप्रै कलाकार छन् नेपाली कलाक्षेत्रमा । लगातार हिट फिल्म दिँदा पनि उपासना भने आफूलाई न त स्टार मान्छिन्, न सेलिब्रेटी । 

उनले भनिन्, ‘म यो उद्योगमा आएको धेरै भएको छैन । म व्यावसायिक जीवन र व्यक्तिगत जीवन फरक फरक राख्छु । त्यसैले, अहिलेसम्म सेलिब्रेटी भएको फिल गरेकी छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप