शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

झापा, मोरङ र सुनसरीलाई टुक्र्याए जस्तोसुकै मुल्य चुकाउन पनि पछि नपर्ने नेताहरुको चेतावनी

सोमबार, ०७ मङ्सिर २०७२, १५ : ५१
सोमबार, ०७ मङ्सिर २०७२
उर्लाबारी – झापा, मोरङ र सुनसरीलाई कुनै पनि हालतमा प्रदेश नं. १ बाट टुक्राउन नदिने र त्यसको लागि जस्तोसुकै मूल्य चुकाउन पनि पछि नपर्ने राजनीतिक दलका क्षेत्रीय स्तरका नेताहरुले चेतावनी दिएका छन् । मोरङको उर्लाबारीमा आज क्षेत्रिय स्तरको नागरिक संघर्ष समितिले आयोजित बृहत ¥यालीपछि भएको कोणसभालाई सम्बोधन गर्दै उनीहरुले सो कुरा बताएका हुन् । उनीहरुले मधेस आन्दोलनको क्रममा पहाडी समुदायलाई दमन गरी आक्रमण गर्ने जस्ता कार्य भए त्यसविरुद्ध सम्पूर्ण पहाडी समुदायहरु एक भएर प्रतिकार गर्नुपर्नेसमेत उनीहरुले निष्कर्ष निकालेका छन् । कोणसभामा सम्बोधन गर्दै नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ९ का सभापति खड्ग फागोले मोरङ र सुनसरीलाई कुनैपनि हालतमा टुक्राउन नदिने र त्यस्तो प्रयास भए परिणाम राम्रो नहुने चेतावनी दिए । उनले राजनीतिक दलका नेताहरुले पार्टीगतभन्दा माथि उठेर राष्ट्रियताको पक्षमा लड्ने बेला आएको बताए । तराईमा भइरहेको आन्दोलनलाई मधेसी मोर्चाका नेताहरुले हिंसात्मक बनाएर देशलाई अन्यौलतर्फ धकेल्ने प्रयास भइरहेको उनले उल्लेख गरे । मधेसी समुदायले जातियको आधारमा आक्रमण गर्ने कार्य गरे त्यसको परिणाम घातक हुने उनको भनाई छ । मधेसमा पहाडी समुदायलाई दुःख दिने प्रयास भए, त्यसविरुद्ध सम्पूर्ण पहाडी समुदाय एक भएर उनीहरु विरुद्ध आन्दोलनको आँधीबेहेरी सिर्जना गर्नु अवस्था नआओस् उनले भने, ‘भारतले गरेको नाकाबन्दीको विरुद्ध सम्पूर्ण नेपाली एक हुनुपर्ने अवस्था आएको छ ।’ त्यस्तै कार्यक्रममा नेकपा एमालेका मोरङ क्षेत्र नं. ९ का अध्यक्ष गंगाप्रसाद बास्तोलाले भारतको दादागिरी र मधेसी मोर्चाको अराजक गतिविधीको कारण मुलुकमा संकट उत्पन्न भइरहेको उल्लेख गर्दै प्रदेश नं. १ बाट एक इन्च पनि टुक्राउन नदिने उद्घोष गरे । भारतले नेपालमा गिद्धे नजर लगाई मधेसी मोर्चालाई उचालेर आफ्नो स्वार्थसिद्ध गर्न आन्दोलन चलाइरहेको समेत उनले आरोप लगाए । त्यस्तै एमाओवादीका नेता लक्ष्मी पौडेल विवेकले राष्ट्रियताको पक्षमा सम्पूर्ण नेपालीहरु एकजुट हुनुपर्ने अवस्था आएको बताए । उनले झापा, मोरङ र सुनसरीमा भइरहेको सद्भावलाई बिथोल्ने प्रयास भए, त्यसविरुद्ध आन्दोलनको आँधीहुरी सिर्जना हुन सक्नेतर्फ सचेत रहन आग्रह समेत गरे । त्यस्तै राप्रपा नेपालका उर्लाबारी अध्यक्ष राजेन्द्र कार्कीले मोरङ र सुनसरीलाई कुनैपनि हालतमा टुक्राउन नहुने बताउँदै त्यसविरुद्ध सबैको एकताको खाँचो रहेको बताए । त्यस्तै उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्रबहादुर भट्टराई भरतले भारतको नाकाबन्दी र मोरङ तथा सुनसरी टुक्राउने दुस्प्रयास नगर्न आग्रह गरे । कार्यक्रम संघर्ष समितिका संयोजक गंगा खरेलको सभापतित्व भएको थियो । कोणसभाअघि उर्लाबारी नगर क्षेत्र परिक्रममा गरी उर्लाबारी चौकमा कोणसभा गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप