आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

रत्‍ननगर महोत्सव : महोत्सवका नाममा जंगली जनावारको पदमार्ग अवरोध किन ?

बुधबार, २० माघ २०७२, १२ : ००
बुधबार, २० माघ २०७२
[caption id="attachment_29565" align="alignleft" width="640"] तस्बिर साभार: रत्‍ननगर महोत्सबको फेसबुकबाट[/caption]

रत्‍ननगर महोत्सव २०७२ को छापमा लोपान्मुख एक सींगे गैँडाको तस्विर राखिएको छ | संरक्षणको हिसाबले हेर्ने हो उक्त गैँडाको आकृतिलाई दुई वर्षमा एक पटक हुने ठूलो उत्सवको प्रमुख चिन्हमा स्थान दिनु स्वागत योग्य कुरा हो | तर चिन्हमा स्थान दिइनुको साथै रत्‍ननगर महोत्सवले उक्त चिन्हमा भएको जनावर र अरू जङ्गली जनावरहरूलाई कस्तो किसिमको असर पार्दछ भन्ने व्यहोराको आकलन गर्न सकेको भए मात्र रत्‍ननगर महोत्सव अझ बढी सफल उत्सव बन्न सक्थ्यो होला |

रत्‍ननगर महोत्सव बि सं २०५७ देखि सुरु हुँदै आएको हो | रत्‍ननगर चेम्बर अफ कमर्स र रत्‍ननगर नगरपालिकाको संयुक्त आयोजनामा यो कार्यक्रम संचालन गर्ने गरिन्छ | टिकौली जंगलको चौरमा संचालन गर्नु पूर्व यो महोत्सव रत्‍ननगर टाँडी स्थित नेपाल माध्यामिक विद्यालयको चौरमा संचालन गरिने गरिन्थ्यो र ठाउँ अभाव र अनुकूलतालाई आधार बनाइ बि सं २०६६ देखि यस कार्यक्रम टिकौली जङ्गलको चौरमा संचालन गर्न थालिएको हो | प्रत्येक दुई वर्षमा १० दिन सम्म संचालन हुने यस महोत्सवमा करोडौँको कारोबार हुने र तिन लाख भन्दा धेरै व्यक्तिहरूले अवलोकन गर्ने गरेका छन् | आर्थिक कारोबारको हिसाबले र मनोरञ्जनको हिसाबले हेर्दा त यो उत्सव भन्दा महाउत्सव अरू हुन नै सक्दैन तर संरक्षण जस्तो महत्वपूर्ण पाटो बाट हेर्दा सो महोत्सव स्थल अत्यन्त अनुपयुक्त देखिन्छ  | वरण्डाभार करिडर जस्तो राष्ट्रिय महत्वको बन क्षेत्रको समीपमा ठूला ठूला महोत्सव आयोजना गर्नु पूर्व समितिले उचित परामर्श लीन नसक्नू र लगातार सो क्षेत्रमा महोत्सव गर्ने निर्णयमा पुग्नु दुर्भाग्य पूर्ण हो |

वरण्डाभार वनक्षेत्र

जम्मा ८७.९ वर्ग कि.मि मा फैलिएको वरण्डाभार वनक्षेत्रलाई महेन्द्र राजमार्गले बीचमा चिरेर दुई भाग भागमा विभाजन गरेको छ जस अन्तर्गत (दक्षिणी भाग) ५६.९ वर्ग कि मि राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत पर्दछ भने बाँकी (उत्तरी भाग) ३१ वर्ग कि.मि जिल्ला बन कार्यालय अन्तर्गतको राष्ट्रिय बनमा पर्दछ | यस भित्र रामसार क्षेत्रमा सूचीकृत नेपालको दोस्रो ठूलो प्राकृतिक सिमसार क्षेत्र भित्रको बिशहजारी ताल जस्ता महत्वपूर्ण सम्पदाहरू पनि रहेका छन् |  सन् १९५० पछि  सरकारको राप्ती दून कार्यक्रम अन्तर्गत वासस्थानको  निम्ति निकै जङ्गल क्षेत्र फँडानी भएको र अब वरण्डाभार करिडर मात्रै बाँकी रहेको एउटा त्यस्तो प्राकृतिक बन क्षेत्र हो जसले चुरे (शिवालिक) पहाड र महाभारत पहाडलाई जोड्दछ र यो एउटा त्यस्तो बन क्षेत्र हो जहाँ बाट जङ्गली जनावरहरू उत्तर बाट दक्षिण वा दक्षिण बाट उत्तर तिर स्वतः स्फूर्त यात्रा गर्न सक्दछन | वर्षा याममा लोपान्मुख गैँडा र बाघ जस्ता जनावरहरूले  उचित सरणको लागि उच्च भेगमा जानको निम्ति यस्तै बन क्षेत्रको बाटो प्रयोग गर्दछन |  साल जङ्गलले भरिएको यस बन क्षेत्रमा बाघ र गैँडा समेत गरि २२ प्रकारका स्तनधारी र लोपान्मुख हर्नबिल र स्टर्क जस्ता चराहरु समेत गरि २८० प्रजातिका चराहरूको वासस्थान रहेको छ |

तर पनि यता महेन्द्र राजमार्गले दुई चिरा पारेको, सो माथि केही वर्ष यता पदमपुरबाट भरतपुर निस्किन बनाइएको बाटोले अर्को चिरा पारेको र अब महोत्सव जस्ता क्रियाकलापहरूले यस संवेदनशील बन क्षेत्रलाई धेरै नै असर पुर्याउन सक्ने सम्भावना रहन्छ | अझ यस टिकौली चौरलाई जसरी पनि क्षेत्रीय रंगशाला बनाइ छाड्ने भाषणहरू पनि नसुनिएको होइन | यद्यपि बन मन्त्रालयले उक्त रंगशालाको योजनालाई मान्यता नदिएको कारण टिकौलीमा रंगशाला बनाउने योजनको तुषारपात भएको थियो |

रत्‍ननगर महोत्सवका चुनौतीहरू

 संवेदनशील बन क्षेत्रको एकदम नजिकमा करिब दस दिन सम्म रत्‍ननगर महोत्सव संचालन हुने गर्दछ | उक्त महोत्सवमा ठूला ठूला स्पिकरहरू प्रयोग गरिन्छ जसको आवाज धेरै किलोमिटर पर सम्म पनि सुन्न सकिन्छ | त्यसै गरि भारतीहरूले संचालन गर्ने “मौत का कुवा (जोखिम पूर्ण मोटरसाइकल चलाउने)” घुम्ने पिङ इत्यादि मा ज्यादै ठूलो मात्रामा ध्वनि प्रदूषण हुने गर्दछन | त्यसै गरि आयोजकले बेला बेलामा हेलिकप्टर चढाएर चितवनका उत्तरी भूभाग (सिराइचुली र उपरदाङगढी) र देवघाट दर्शन गराउने जस्ता राम्रा कार्यक्रमहरू गर्न खोजे तापनि जङ्गल क्षेत्रको निकै नजिक भएर हेलिकप्टर उडाउनु पर्दा यसले जङ्गली क्षेत्रमा नराम्रो असर पर्न सक्दछ |  त्यसै गरि महोत्सव अवधिभरि दिनहुँ जस्तो राष्ट्रिय एवं स्थानीय कलाकारहरूको प्रस्तुतिमा निकै चर्का चर्का आवाजहरू धेरै टाढा टाढा सम्म पनि पुग्ने गर्दछन | ध्वनि प्रदूषणले जङ्गली जनावरहरूलाई प्रत्यक्ष असर पुर्याउन सक्दछ भन्ने प्रशस्त आधारहरू रहेका छन् र सो बारेमा सोध एवं अध्ययनहरू पनि भएका छन् | ध्वनि प्रदूषण र मानव क्रियाकलापले जङ्गली जनावरहरू वासस्थान परिवर्तन गर्न बाध्य हुने र त्यसले जनावरको प्रजनन मा प्रत्यक्ष असर पर्न सक्ने  सम्भावना रहेको हुन्छ | हुन त हाम्रो देशमा कति सम्मको ध्वनि जङ्गली क्षेत्र वरपर गर्न पाइने र कति नपाइने भन्ने कुरा ऐनमा स्पष्ट उल्लेख नभएकोले भविष्यमा पनि यस्ता समस्याहरूको कानुनी समाधान खोज्न भने गार्‍हो रहेको छ | तर अरू विकसित देशहरूमा भने यस्ता कानुन नभएका भने होइनन् | त्यसै गरि महोत्सवको समयमा अव्यवस्थित शौचालयले नजिकै खोला र पर्यावरणमा पार्न सक्ने असरको पनि आकलन गर्न जरुरी छ |

 अन्त्यमा

महोत्सव आफैँमा खराब कुरा अवश्य होइन | त्येसोत रत्‍ननगर महोत्सवले स्थापना देखिनै कहिले मह, कहिले कुखुरा, कहिले केरा, कहिले माछा व्यवसाय जस्ता महत्वपूर्ण व्यवसायहरूलाई प्रवर्धन गर्दा किसानहरूले प्रत्यक्ष रूपमा लाभान्वित भएका होलान् |  तर पनि यस्ता महोत्सवहरूले महोत्सव स्थल चुन्न पर्दा अलि ध्यान पुर्याउन भने आवश्यक रहेको छ | आर्थिक पाटो सँग सँगै महोत्सवले पुर्याउने सक्ने वातावरणीय, सामाजिक असरहरूको पनि उचित मुल्यांकन गर्न आवश्यक देखिन्छ |  वर्तमान परिप्रेक्ष्यमा रत्‍ननगर  जस्तो पर्या-पर्येटन को प्रचुर सम्भावना बोकेको स्थानमा रत्‍ननगर महोत्सवले आफ्नो छापमा गैँडाको तस्विरलाई राखे पनि संरक्षणको मूल मर्मलाई अङ्गीकार गर्न भने सकेको छैन |

रत्ननगर महोत्सव जैविक विविधताका दृष्टिले अति नै संवेदनशील मानिएको टिकौली जंगलको आडमा हुँदैछ ।महोत्सव हुनेभन्दा ५० मिटर परको जंगलमा दिउँसै हरिणका बथान चर्दै गरेको देख्न सकिन्छ । पाँच सय मिटरवरपरको क्षेत्रमा रहेका तालतलैयाहरुमा दुर्लभ चराहरुको बथान देख्न सकिन्छ । दुर्लभ एकसिंगै गैँडा ओहोरदोहोर गर्ने जैविक मार्गका आडमा होहल्ला र भीडभाड हुने मेला तथा महोत्सव गर्नु कुनै पनि हिसाबले जायज छैन । तर, आयोजकहरु विरोधका बाबजुद पनि टसमस छैनन् ।

त्यसैगरि नजिकका मध्यवर्ती तथा सामुदायिक बनहरूले बर्सेनि लाखौँ रुपैयाँ संरक्षणको लागि खर्च गरिरहेको क्षेत्र वरपर महोत्सवले, जानेर वा नजानेर, संरक्षण विरोधी कार्यहरू गर्दा संरक्षणको मूल भाव माथि आघात पुग्न सक्दछ र भविष्यमा पर्या-पर्येटन माथि उल्लेखनीय असर पुग्न सक्दछ  | तसर्थ रत्‍ननगर चेम्बर अफ कमर्स र रत्‍ननगर नगरपालिका जस्ता जिम्मेवार निकायहरूले आगामी दिनहरूमा रत्‍ननगर महोत्सवको निम्ति  वैकल्पिक स्थानको खोजी गर्न जरुरी देखिन्छ |

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप