आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

पुनः सुरुभएको वार्ताले निकास दिने : अध्यक्ष ठाकुर

बुधबार, २० माघ २०७२, १७ : १७
बुधबार, २० माघ २०७२

पर्सा– तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष एवम् संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता महन्थ ठाकुरले कुनै पनि पार्टीको महाधिवेशन रोक्ने मोर्चाको निर्णय नभएको बताएका छन् ।

उनले संविधान पारित गर्न हस्ताक्षर गर्ने सभासद्लाई गाउँ छिर्न अवरोध गर्ने मोर्चाले नीति बनाएपनि काँग्रेसको गाउँमा भइरहेको अधिवेशनलाई अवरोध पु¥याउने कुनै योजना नरहेको प्रस्ट पारे ।

तमलोपाले आज वीरगन्जमा आयोजना गरेको पत्रकारसम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले सभासद्लाई अवरोध गर्ने क्रममा तराईका केही जिल्लामा काँग्रेसको गाउँ कमिटीको छनोट प्रभावित भएको भने स्वीकार गरे ।

अध्यक्ष ठाकुरले अवरुद्ध भएको वार्ता सुरु भएपछि निकास निस्किने विश्वास व्यक्त गरेका छन् । उनले सरकारको बोली र व्यवहारको कारण अवरुद्ध भएको दुईपक्षीय वार्ता अनौपचारिक रुपमा सुरु भएको र यसले विस्तारै औपचारिकता पाउँदै निकास निकाल्ने बताए । नेता ठाकुरले माघ २१ र २२ गते मोर्चाका शीर्षनेताहरुको वीरगन्जमा हुने बैठकले आन्दोलनको स्वरुप र अन्य दलहरुसँग सहकार्य गरी महागठबन्धन बनाउने विषयमा निर्णय गर्न सकिने जानकारी दिए । उनले अवरुद्ध गरिएको वीरगन्ज नाका खोल्ने कि नखोल्ने बारे मोर्चाको वीरगन्ज बैठकले निर्णयसमेत गर्ने बताए ।

पत्रकारसम्मेलनमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै नेता ठाकुरले मोर्चाले राखेका माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने तर आन्दोलनको स्वरुप आउने दिनमा परिवर्तन हुने प्रस्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप