शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

क्यान इन्फोटेकमा स्वयम्सेवक परिचालनका नाममा श्रमशोषण

बुधबार, २० माघ २०७२, २१ : २९
बुधबार, २० माघ २०७२

काठमाडौँ– ‘क्यान इन्फोटेक’ मा स्वयम्सेवक परिचालनका नाममा श्रमशोाषण भएको व्यवस्थापनमा खटिएका युवायुवतीले गुनासो गरेका छन् ।

यही माघ १५ गतेदेखि भृकुटीमण्डपको प्रदर्शनीमार्गमा सुरु भएको छदिने मेलामा ६५ जना स्वयम्सेवक व्यवस्थापनमा खटिए । आयोजकले ‘अनलाइन जब’ मा स्वयम्सेवकको आवश्यकता भनी विज्ञापन गरेर स्वयम्सेवक छनोट गरेको थियो । व्यापारिक रुपमा गरिएको प्रदर्शनीमा बिहानदेखि बेलुकीसम्म खाना र खाजाका भरमा काम गराएर श्रम शोषण गरिएको पीडितको गुनासो छ ।

‘प्रमाणपत्र दिन्छौँ’ भनी स्वयम्सेवकको काममा लगाएर शोषण गरिएको समाजशास्त्र विषयमा स्नातकोत्तर गरेकी कपनकी अप्सरा पोखरेलले बताइन् । “आफ्नै खल्तीबाट भाडा तिरेर स्वयम्सेवक काम गर्न आएका छौँ, हामीलाई भाडा र पारिश्रमिकको व्यवस्था गर्नुप¥यो भन्दा आयोजक कम्प्युटर एसोसियसन नेपाल महासङ्घले सुनेको छैन”–उनले भनिन् ।

मेलामा स्नातक तह अध्ययन गरिरहेका जनशक्तिले मात्र स्वयम्सेवकको रुपमा काम गर्दैछन् । स्वयम्सेवकमा काम गर्न अन्तर्वार्तासमेत लिइएको पीडितले सुनाए ।

एक्मी इन्जिनियरिङ कलेजबाट स्नातक उपाधि हासिल गरेकी आस्था न्यौपाने पारिश्रमिकसहितको स्वयम्सेवक भनेर आएपनि बिहानको खाना र दिउँसोको खाजामा काम गराएको बताउँछिन् ।

सरकारले अदक्ष कामदारकै पारिश्रमिक दैनिक रु ८०० तोकेको प्रदर्शनीस्थलसँगै कार्यालय रहेको उपभोक्ता मञ्चका केन्द्रीय सदस्य रोशन पोखरेलले जानकारी दिए ।

“प्रदर्शनीमा प्रवेश शुल्क साधारणतर्फ रु १०० र विद्यार्थीलाई रु ५० लिइरहेका छन्, प्रवेशदेखि नै व्यापार सुरु हुने सूचना प्रविधिसम्बन्धी सामग्रीका व्यापारीको संस्थाले स्वयम्सेवकका नाममा श्रम शोषण गरेको गुनासो मञ्चमा पनि आएको छ” – उनले भने ।

महासङ्घले दिएको जानकारीअनुसार एउटा स्टलको रु १० हजारदेखि रु ५० हजारसम्म भाडा लिइएको छ । मेलालाई सुबिसु इन्टरनेट प्रदायक संस्था र केबल टेलिभिजन नेटवर्क वितरक संस्थाले प्रायोजन समेत गरेको छ । यसैले यस मेलाको नाम नै सुबिसु क्यान इन्फोटेक राखिएको छ ।

पुतलीसडकस्थित कान्तिपुर सिटी कलेजमा इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन विषयमा स्नातक तहमा अध्ययनरत अमित पोखरेल पनि महासङ्घले पारिश्रमिक दिने भनेर अन्तिममा नदिएको दुःखेसो पोखे ।

आयोजक क्यानका स्वयम्सेवक परिचालन समितिका संयोजक दिनेशराज कार्कीले व्यापारिक मेला भए पनि महासङ्घले पारिश्रमिक नदिएको तर अन्य तालिम दिएर स्वयम्सेवक परिचालन गरिएको बताए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप