शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

राष्ट्रिय वाणिज्य बैंकको सीईओ बन्ने होडमा को–को ?

बुधबार, २० माघ २०७२, २२ : २५
बुधबार, २० माघ २०७२

काठमाडौं–राष्ट्रिय वाणिज्य बैंकको गत एक महिनादेखि रिक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) को बन्ला भन्ने चर्चा यतिबेला नेपाली बैंकिङ क्षेत्रमा चर्चाको विषय बनिरहेको छ । पूर्ण सरकारी स्वामित्वको बैंक भएकाले पनि राष्ट्रिय वाणिज्य बैंकको सीईओ पदका लागि विभिन्न बैंकरहरुको दौडधुप बढेको हो । बैंकले सीईओ पदका लागि दर्खास्त आह्वान गरेदेखि नै यो विषयले नेपाली बैंकिङ क्षेत्र तताएको हो । राम्रो तलव तथा सेवा सुविधा एकातर्फ आकर्षण बिन्दु बनिरहेको छ भने सरकारी जागिर भएकाले पनि राष्ट्रिय बाणिज्य बैंकको यो जागिरलाइ महत्वका साथ हेरिएको छ । तत्कालीन सिइओ कृष्णप्रसाद शर्माको चार वर्षे कार्यकाल सकिएपछि खाली भएको पदमा बैंकले मान्यता प्राप्त सिक्षण संस्थाबाट कम्तीमा स्नातक गरेको र बैंकिङ क्षेत्रमा कार्यकारी तहमा कम्तीमा ५ बर्ष अनुभव भएका, ६० बर्ष नकाटेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको थियो । यसअघि नै नेपाल सरकारले अर्थमन्त्रालयका सहसचिव कृष्ण देवकोटाको संयोजकत्वमा सिइओ छनौट समिति गठन गरीसकेको छ ।

सीईओ पदका लागि गरेको आह्वानमा कुल १६ जनाले आवेदन दिएका छन् । आवेदन दिनेमा बैंकका निवर्तमान सिइओ समेत छन् । यस अलावा बीमा कम्पनीमा काम गरिरहेकाहरु र अन्य बैंकरहरुले समेत आवेदन दिएका थिए । वाणिज्य बैंकको सिइओ बन्नका लागि वाणिज्य बैंकका तीन नायव महाप्रबन्धक, बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्मा, बैंककै कामु प्रमुख कार्यकारी अधिकृत भेषराज पन्थी, माछापुच्छ्रे बैंकका पूर्व सञ्चालक गोपीकृष्ण न्यौपानेलगायतकाले आवेदन दिएका छन् । यस्तै कर्मचारी सञ्चय कोषका प्रशासक कृष्णप्रसाद आचार्य, नेपाल बैंकका पूर्व महाप्रबन्धक किरण श्रेष्ठ, नेको इन्स्योरेन्सका व्यवस्थापन सल्लाहकार अशोककुमार खड्का, कृषि विकास बैंकका नायव महाप्रबन्धक अनिल उपाध्यायलगायतकाले पनि बाणिज्य बैंकको सीईओ पदका लागि आवेदन दिएका छन् ।

कम तलव तर  धेरैको दौडधुप  ! सामान्यतया बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको तलव सुबिधा निकै राम्रो हुने गर्छ । तर अन्य बैंकको प्रमुख कार्यकारी अधिकृतहरुको तलवको तुलनामा बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतको तलव भने कम छ । सीईओ नियुक्त हुनेले मासिक दुई लाख साठी हजार तलव पाउनेछन् भने कार्यसम्पादन तथा मुद्रस्फीति अनुसार बैंकको संचालक समितिले तलव सुबिधा बढाउन सक्नेछ । तर अन्य बैंकको तुलनामा तलव कम भएपनि प्रमुख कार्यकारी अधिकृत हुन दौडधुप धेरैको छ । यसको पछाडी मर्जरका कारणले थुप्रै बैंकरहरु खाली हुने डर र नेपालको सबैभन्दा ठुलो वाणिज्य बैंकको कार्यअनुभवबाट प्राप्त हुने प्रोफाइल भएको केहि सरोकारवालाहरुको भनाइ छ । बैंकको सीईओ हुन कुनै पनि राजनीतिक दलको सदस्य भएको हुन नहुने उल्लेख छ । आवेदन दिएका १६ जनामध्ये कसैको कुनै राजनीतिक दलको सदस्यता पनि छैन । तर सीईओ हुनका लागि राजनीतिक लाविङ सुरु भएको केहि सरोकारवालाहरुको गुनासो छ । स्रोत भन्छ, ’ राजनीतिक दलको सदस्य हुन नहुने व्यवस्था छ । तर सीईओको पदका लागि राजनीतिक लाविङ भने सुरु भएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप