शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

कलेज बंक गर्ने विद्यार्थीलाई पक्राउ गर्ने अभियान सुरु

बिहीबार, २१ माघ २०७२, १० : ४४
बिहीबार, २१ माघ २०७२
भक्तपुर– महानगरीय प्रहरी परिसर भक्तपुरले विद्यालय क्याम्पस नगई अन्यत्र जाने विद्यार्थीलाई पक्राउ गर्ने अभियान सुरु गरेको छ । विद्यालय क्याम्पसको पढाइ छाडेर पोसाकमा सिनेमा हल, रेस्टुराँ, लज, स्नुकर हाउस, फुटसल, पार्कलगायतका स्थानमा जाने विद्यार्थीलाई प्रहरीले पक्राउ गर्ने अभियान सुरु गरेको हो । प्रहरी परिसर भक्तपुरका प्रमुख एवम् प्रहरी उपरीक्षक किरण बज्राचार्यले विद्यालय तथा क्याम्पस पोसाकमा कक्षा छोडेर अभिभावकलाई थाहै नदिई अन्यत्र जाने गर्दा अपराध बढ्न थालेपछि यसलाई नियन्त्रण गर्न अभियान चलाएको बताए । त्यसैगरी स्नुकर तथा पुल हाउस, फुटसलमा कक्षा छोडेर छात्रछात्रा जाने, बाजी खेल्ने, गाँजा तथा लागुपदार्थको प्रयोग गर्ने गरेको सूचना प्राप्त भएकाले त्यसलाई नियन्त्रण गर्न अभियान चालेको प्रहरी उपरीक्षक बज्राचार्यले जानकारी दिए । क्याम्पस पोसाकमा रेस्टुराँमा जाने चुरोट, गाँजा, हुक्का तान्ने विद्यार्थीको सङ्ख्या धेरै रहेको गुनासो आएकाले त्यसलाई पनि नियन्त्रणमा लिने र लज तथा होटलमा पोसाकमै गएर बस्नेलाई समेत कारबाहीको दायरामा ल्याउने उनले बताए । त्यस्ता विद्यार्थीलाई पक्राउ गरेर पहिलो चरणमा अभिभावक र सम्बन्धित क्याम्पसका शिक्षकको जिम्मा लगाएर पठाउने र पछिल्ला समय तिनै विद्यार्थी पक्राउ परेमा कारबाही गरिने उनले बताए । प्रहरीले सिनेमा हल, रेस्टुराँ तथा लज, पुल हाउस फुटसल सञ्चालकलाई यसबारे जानकारी गराउँदै विद्यार्थीलाई पोसाकमा प्रवेश गर्न नदिन र रेस्टुराँमा गाँजा, चुरोट र हुक्का तान्न नदिन सचेत गराएको छ । प्रहरीको अनुरोधलाई अटेर गरे सञ्चालकलाई कारबाही गरिने बताउँदै प्रहरी उपरीक्षक बज्राचार्यले अभिभावकलाई आफ्ना छोराछोरीमाथि निगरानी बढाउनसमेत आग्रह गरे । प्रहरीले गत शुक्रबार भक्तपुरको एक सिनेमा हलबाट ३३ जना विद्यार्थीलाई क्याम्पस पोसाकमै नियन्त्रणमा लिएर अभिभावकलाई बुझाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप